सिकलसेल : सुकुमवासी चीत्कारदेखि जमिनदारको डरसम्‍म

नाटक 'सिकलसेल'ले जमिनदार र सुकुमवासीबीचको खाडलसँगै गरिबी, रोग, शोषण र विभेदका मुद्दालाई मञ्चसम्म ल्याएको छ ।

वैशाख २१, २०८३

रीना मोक्तान

Sickle Cell: From the Sukum Residents' Scream to the Landlord's Fear

What you should know

काठमाडौँ — जमिनदार विशालध्वज (गोविन्द ओली) र पत्नी प्रमिला (विनिता लामा गुरुङ) को आँगनमा एक दिन गाउँको जुलिसमा गुञ्जिरहेको नाराको प्रतिध्वनि सुनिन्छ- सुकुमवासी समस्या समाधान गर, समाधान गर ! सुकुमवासी समस्या समाधान गर, समाधान गर ! 

यो नारा सुन्दा लाग्छ, देशभर गुञ्जिरहेको सुकुमवासी चीत्कार शिल्पी थिएटर प्रवेश गरेको छ । सडकदेखि सामाजिक सञ्जालमा गुञ्जिरहेको यो नाराले राज्यलाई कहिले जवाफदेही बनाउला ? सुकुमवासी व्यवस्थापनका नाममा देखिएको लापरबाही, हतारो अनि असंवेदनशील कदमले पक्कै जवाफ पर्खिरहेको छ ! तर, के यी नाराले नेतृत्त्वलाई झस्काउँछ ? 

नाटकको मञ्चमा भने यी नाराले जमिनदार विशाल ध्वजलाई भित्रैदेखि हल्लाइदिएको छ । पत्नी प्रमिला पनि सुकुमवासीको जुलुससँग डराएकी छन् । कहीँ आफ्नो घरमा काम गर्दै आएका रामविश्वासको परिवार त यो जुलुसमा सामेल हुन पुगेन ? यी दुई दम्पत्ती सशंकित देखिन्छ । 'त्यो जुलुसमा सामेल हुन रामविश्वास पक्कै गएको हुनुपर्छ,' घरको बार्दलीमा उभिएकी प्रमिला जमिनदार विशालध्वजतर्फ हेर्दै अनुमान लगाउँछिन् ।

यो संवाद बोलिरहँदा प्रमिलाको अनुहार बेचैन देखिन्छ । लोकतन्त्रमा जुलुस गर्न पाइने बताइरहे पनि कतिले यसको धज्जी उडाएको भन्दै पत्नीसामु विशालध्वज चुपचाप उभिएका छन् । 

आखिर यी दुई दम्पती सुकुमवासीका यी नारासँग किन यति विधि हच्किए त ?

वैशाख १३ देखि शिल्पी थिएटरमा मञ्चनरत नाटक 'सिकलसेल'ले विस्तारै सुकुमवासी परिवारको कथा अनि व्यथामार्फत यो दम्पती डराउनुपछाडिको कारण खुलाउँछ । जमिनदारको परिवारबाट सुरु भएको नाटकको कथा विस्तारै उनीहरुकै घरमा हलिया बस्दै आएको गरिब रामविश्वास (निरज बाबु) को परिवारतर्फ केन्द्रित हुन्छ । खासमा रामु अर्थात् रामविश्वासको परिवार वर्षौंदेखि यो दम्पतीको घरमा हलिया बन्दै आएका छन् । आफूले सजिलै दबाउन सक्ने, दलाउन अनि कराउन सकिने पात्रहरुले कुनै दिन आँखामा आँखा जुधाएर बोले के होला ? आफूविरुद्ध बोल्न सक्ने भए, आवाज उठाउन अनि यसरी नारा फलाक्न सके के होला ? जमिनदारको परिवारमा यसकै डर छ । त्यसैले उनीहरु गाउँमा देखिएको जुलुस र आगन थर्काउन आइपुगेको नारासँग डराएको हो । 

राज्य संरचनाद्वारा भूमिहीन बन्न पुगेका सुकुमवासीका यस्तै मुद्दा समेट्दै गरिब, निमुखा जनताको पीडा प्रस्तुत गरिएको छ यो नाटकमा । रामविश्वास र हेमाका छोरा मुकेश (रविन परियार) सिकेलसेलले ग्रसित छन् । बाल्यकालबाटै मुकेशमा यो रोग देखिएको हो । ख्याउटे शरिर, अनि निन्याउरो अनुहार । शरीरभित्रको दुखाइले मुकेश सधैं छटपटिरहन्छन् । दुखाइले उनी छटपटिँदा मुकेशको चीत्कार जमिनदारको भवनसम्म ठोक्किन पुग्छ । तर, न जमिनदारलाई यसको चासो छ न कुनै चिन्ता ।

मुकेशको परिवारलाई भने सिकलसेलले सधैं सताइरहन्छ । भाइ तड्पिँदा दिदी मीना (संगीता उराँव) र आमा हेमा (पूजासिंह राजवंशी) लाई उस्तै उकुसमुकुस हुन्छ । त्यसैले उनीहरु मुकेशकै स्याहारमा अधिकांश समय खर्चन्छन् । तर, नाटकको कथा मुकेश र उसको यही सिकेलसेल रोगमाथि केन्द्रित छैन । गरिब, निमुखा अनि आवाजविहीन वर्गलाई कथित उपल्लो वर्गले गर्ने अमानवीय दमन, विभेद र शोषणका प्रतिबिम्वका रुपमा यो रोगलाई कथामा घोलिएको छ । 

पश्चिम तराईका थारु समुदायका प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिँदै आएको रोग हो- सिकलसेल । यो रोग निश्चित समुदायमा देखिएझैं, विभेद र शोषण पनि सदियौंदेखि एउटै वर्गमाथि लादिएको देखाउन गुणराज पोखरेलले यो नाटक लेखेका हुन् । त्यही नाटकलाई रंगकर्मी सुमित भण्डारीले निर्देशन गरेर शिल्पीमा मञ्चन गराएका छन् । नाटकले शक्तिमा भएका समूहले नै शक्तिविहिनहरुमाथि शासण गर्दै आएको देखाउँछ । र, विभेद र शोषणको यो स्वरुप रोग जसरी नै एउटा पुस्तादेखि अर्को पुस्तामा पुस्तारण हुँदै आएको विषयमाथि व्यंग्य गर्छ । 

विभेद र दमन अहिलेको अवस्थासम्म पनि विद्यमान रहेको देखाउन नाटकमा मुकेशलाई उभ्याइएको छ । गाउँमा जति नै सुकुमवासीका विरोध होउन्, गरिब मुकेशहरुको अवस्था ज्यूँका त्यूँ छ । उनीहरु झुपडीमै छन्, त्यही झुपडीको लालपुर्जा उनीहरुसँग छैन । उनीहरु भोक, रोग अनि शोकमा छटपटिरहन्छन् । हुँदा खाने वर्ग सधैं हुने खाने वर्गबाट शासित छ । उनीहरुलाई यो वर्गले सधैं थिचोमिचोमा राख्छ । शक्तिको आडमा उनीहरुलाई दमन गरिरहेको छ । जमिन हडपिरहेको छ । झुट्टा मुद्दा चलाइरहेको छ । अनि गरिबका कमजोर महिलाहरुमाथि कुदृष्टि राखिरहेको छ । तर, राज्यबाट यो समुदायले कहिल्यै न्याय पाउँदैन । कारण न्यायालय पनि उनीहरुको शक्तिकै गुणगान गाउँछ ।

एउटा दृश्यमा प्रहरी भन्छ, 'यस्तो समाजसेवी मानिसलाई कसरी यस्तो आरोप लगाइस् ?' इन्स्पेक्टर धनराज सुनारले मीनातर्फ हेर्दै भन्छन् । मीनाले आफ्नै मालिक विशालध्वजमाथि कस्तो आरोप लगाउँछिन् ? त्यो बुझ्न नाटक नै हेर्नुस् । 

यो नाटकमा गरिब र धनीबीचको खाडल मात्रै देखाइएको छैन । आफूमाथि भएको दमन र शोषण विरुद्ध लड्ने मीनाहरुलाई उभ्याइएको छ । मीनाले आफूमाथि भएको विभेदमाथि प्रश्न गर्छिन् । प्रतिकार गर्छिन् । नाटकमा दुई पात्रमार्फत विभेदको यो संरचना भत्काउने कोसिस गरिएको छ ।

अर्की पात्र हुन् रेनिशा । जमिनदारकी छोरी रेनिशालाई भने प्रगतिशील देखाउने प्रयास भएको छ । नाटकको सुरुवातदेखि नै गरिब जनताथि उनको दृष्टिकोण अलि कोमल देखाइन्छ । तर, सिकेलसेलजसरी दमनको स्वभाव उनीभित्र पनि सञ्चार छ । उनी आफ्नै परिवारले अरुमाथि गरेको दुर्व्यवहार प्रस्टै देख्छिन्, अत्याचारको विरुद्धमा बोल्छिन् । तर, संकट आफ्नै परिवारमाथि आइपुगेपछि बचाउ गर्न पछाडि पर्दिनन् । 

नाटकको सेट सुन्दर छ । दुई वर्ग देखाउन उनीहरुका घरलाई पनि माथि र तल गरी विभाजन गरी देखाइएको छ । जमिनदारको कथा स्थापना गर्न भने निर्देशक भण्डारीले लामो समय खर्चेका छन् । सुकुमवासीका मुद्दालाई पनि सुरुदेखि अन्तिमससम्म समान्तर बगाउन नसक्दा यो विषय नाटकमा सतही रुपमै आउँछ । रामविश्वासको परिवारमा हुने घटनाहरुमै सुकुमवासीका विषय मिहिन ढंगले समेटिएको भए मञ्चमा उठिरहने नाराले पक्कै अहिलेको सरकारलाई जिम्मेवार बनाउने थियो । तर, कलाकारले गरेको अभिनय र उनीहरुले पक्रेको थारु लबजले नाटकका यी कमजोरीलाई गौण बनाइदिन्छ ।

नाटकमा थारु समुदायलाई प्रतिनिधित्व गर्ने मीनाको चरित्रमा देखिएकी संगीता उराँव हुन् या मुकेश बनेका रविन परियार । उनीहरुले पक्रने लबजले उक्त चरित्र मञ्चमा वास्तविक लाग्छन् । प्रमिला बनेकी विनिता लामा गुरुङ र विशालध्वज बनेका गोविन्द ओलीको अभिनय नाटकलाई बलियो बनाउने आधार हुन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully