नाटकभित्रै नाटक देखाउने ‘ग्राण्ड रिहर्सल’

नाटकको सेटमा कहिले के हुने हो पत्तो हुन्न । कहिले पर्दा झ्वाट्टै खस्छ त कहिले ढोका फनफनी घुम्छ । माथिल्लो कोठा पनि टक्क अडिन्न । कलाकारले अभिनय गरिरहँदै त्यो कोठाको संरचना भत्किन खोज्छ ।

वैशाख १९, २०८३

रीना मोक्तान

A 'grand rehearsal' showing a play within a play

What you should know

काठमाडौँ — झट्ट हेर्दा लाग्छ, नाटकै पो भइरहेको हो कि ! तर मञ्चमा नाटक होइन, रिहर्सल चलिरहेको छ । रिहर्सलको नाटक पो गरेको हो कि ? नाटक होइन भनौं, बीचमा नाटक नै चल्छ । हो भनौं नाटक-नाटकजस्तो देखिन्न । अभिनय होइन भनौं अभिनय नै गर्छन् । कस्तो अभिनय ? नाटक गरेजस्तो अभिनय ! आखिर यो के चलिरहेको हो त मण्डला नाटकघरमा ? 

रंगकर्मी उमेश तामाङ निर्देशित नाटक 'ग्राण्ड रिहर्सल'को दर्शक बाँध्ने कसी यही हो । 'ग्राण्ड रिहर्सल' हेरुञ्जेल लाग्छ -यो नाटक गरेजस्तो अभिनय हो कि नाटकमै अभिनय भइरहेको हो ? अन्तिमसम्मै पनि यो दुविधा रहिरहन्छ । नाटकले समाएको यही शैलीले 'ग्राण्ड रिहर्सल' वास्तविक अर्थमा 'ग्रान्ड' भइदिएको हो । नाटकले दर्शक हँसाउँदै रंगकर्म तथा कला क्षेत्रका संघर्ष अनि कलाकारिताप्रतिको समर्पण र योगदान प्रस्तुत गर्छ।  

यो नाटकको कथा बिल्कुलै नयाँ छ । हेनरी लेविस, जोनाथन सेयर र हेनरी थिएल्द्सले लेखेको यो बेलायती कथालाई अनुप न्यौपाने र निर्देशक तामाङले नेपालीमा नाट्य रुपान्तरण गरेका हुन् । नाटकमा युवा निर्देशक राजा बाबु कार्कीको डेब्यू निर्देशकिय नाटक ‘बिहेको टुटुल्को’ दर्शकबीच पहिलो पटक मञ्चन हुन्छ । नाटक सुरु हुनु अगाडि नै राजाले हौसिँदै आफ्नो सबै भावना दर्शकमाझ ‍पोख्छन् । नाटक निर्देशन गर्नुको दु:खदेखि अपेक्षा अनि आफ्नो रंगकर्मको यात्रा सुनाइदिन्छन् । तर, जसै सो सुरु हुन्छ, तयारी अनुसारको केही हुँदैन । सो बिग्रँदै जान्छ, योजनाअनुरुप केही हुँदैन । फूलजस्तै कोमल स्वभावकी कलाकार रक्षा थापा (रुजा राउत) मञ्चमै ढल्छिन् ।

रंगमञ्च हो, जुगाड त गर्नै पर्‍यो । निर्देशकले तुरुन्तै नयाँ पात्र ठाउँको-ठाउँ उभ्याइदिन्छन् । कमजोर प्रोडक्सनमा प्रप्सको जोहो पनि उसैगरी गरिन्छ । कलाकारले कहिले मट्टितेललाई ह्विस्की मानेर पिउनुपर्छ, कहिले कुच्चोलाई कलम सोचेर लेखेको अभिनय गर्नुपर्छ । यही जुगाडका बीच पनि सेलिब्रेटीदेखि सडक नाटकका कलाकारले निरन्तर अभिनय गर्न भने छाड्दैनन् । यही भद्रगोलबीचको अभिनयले दर्शकलाई 'ग्राण्ड रिहर्सल'सँगको ‍अपनत्व बाेध गराइ राख्छ । र, दर्शक हसाउँदै यो नाटकले देखाउँछ -अभिनयप्रतिको लगाव, रंगमञ्चप्रतिको झुकाब ।कलाप्रतिको लगनशिलता । त्यही हास्यरसबीच अभिनय र यस क्षेत्रक जटिलतालाइ नाटकले बोलिदिन्छ ।

जटिलताबीच बाँचिरहेको कलाकारिता ‘ग्राण्ड रिहर्सल’को केन्द्रिय विषय हो । यो नाटकले कलाकर्ममा हुने अभाव, संघर्ष र दु:ख मात्र देखाउँदैन, यस क्षेत्रप्रति कलाकारको भोक र सोख पनि दर्शाउँछ । अनि जीवनको आरोह-अवरोह बुझाउँछ । आखिर जीवन भोक र सोखबीचको मध्यमार्ग त हो नै, अभावबीचको जुगाड पनि हो । 

यो नाटकले चौथो पर्खाल भत्काउँछ । चौथो पर्खाल ?  मञ्च र दर्शकदीर्घाबीच उभिएको नदेखिने सिमाना । नाटकले त्यही पर्खाल भत्काउँदै दर्शकलाई आफू निकट बनाउँछ । नाटकको सुरुवातमै निर्देशक भूमिकामा देखिएका पात्रले दर्शकलाई यसरी सम्बोधन गर्छन् कि त्यसले पनि त्यो पर्खाल तोड्न खोजेको देखिन्छ । जसै, दर्शकदीर्घाबीचको बाटोबाट कलाकार रुजा राउत (रक्षा थापा) मञ्च प्रवेश गर्छिन्, त्यहीँबाट त्यो पर्खाल नाघिन्छ । निर्देशकले ‘नेपाली फिल्मकी चर्चित अभिनेत्री पनि हाम्रो कास्टमा हुनुहुन्छ,’ भन्दै गर्दा रातो पहिरनमा रक्षा पात्र मञ्च प्रवेश गर्छिन् ।

‘ओ माइ गड निर्देशक, तपाईंले मबिनै यो सो सुरु गरिसके‌ँ भनेर नभन्नुस्,’ यही संवादसँगै रक्षा दर्शकबीचबाट मञ्चतर्फ लम्किन्छिन् ।नाटकको परम्पारगत संचरनाभित्र नअट्ने ‘ग्राण्ड रिहर्सल’मा निर्देशक उमेशले रंगमञ्चको वास्तविक मञ्चलाई नै मञ्चन गराइदिएका छन् । नाटक सुरु गर्नुअघि कलाकारहरुले कसरी तयारी गर्छन् ?, पर्दा पछाडिका कलाकारमा कस्तो बैचनी हुन्छ ?, बज्नपर्ने एउटा धुनमा साउन्ड डिजाइनरले अर्को संगीत बजाइदिए के होला ? नाटकले पर्दापछाडिका यी सबै पक्ष समेट्दै चौथो पर्खाल भत्काउँछ । अधिकांश नाटकमा पर्दा पछाडिका यी विभाग पर्दा अगाडि देखिन्नन्। तर, यो नाटकमा सबै विभाग देखिने ठाउँमै हुन्छन् । 

नाटकमा प्राविधिक पक्षको महत्त्व कति हुन्छ ? मञ्चमा देखिएका कलाकार श्रीशेष श्रेष्ठदेखि बलबहादुर राईको चरित्रले झल्काइदिन्छ । एउटा दृश्यमा कलाकारहरु एकदमै रमाइलो धुनको पर्खाइमा हुन्छन् । कारण त्यतिबेलाको घट्नाक्रम त्यस्तै हुन्छ । तर, श्रीशेषको पात्रले त्यहाँ गम्भिर धुन बजाइदिन्छ । कलाकार पात्रको गहिराईमा घुस्नै सक्दैनन्, हत्त न पत्त साउन्डको त्यो कमजोरी लुकाउन खोज्छन् । मधुर आवाजमा उक्त चरित्रलाई सही संगीत बजाउन संकेत गर्छन् । तर, श्रीशेषको चरित्रले यसरी नै अनावश्यक धुन नाटकभरी बजाइदिन्छन् । बन्दुक चल्नुपर्ने ठाउँमा गम्भिर धुन बजिदिए के होला ?

यो नाटकमा पार्श्व ध्वनि बिगार्ने काम श्रीशेषको चरित्रले गर्छ । प्रकाश संयाेजनकाे भूमिकामा रहेका बलबहादुर पनि श्रीशेषको चरित्रभन्दा के कम ! प्रकाश बाल्नुपर्ने ठाउँमै बाल्दिँदैनन्, बाल्नै नपर्ने ठाउँमा बालिदिन्छन् । ‘डिरेक्टर, लाइटमा बस्नुस् न,’ नयाँ निर्देशक बोलिरहेकै बेलामा प्वाक्क बोल्न पनि छोड्दैनन् । जे होस् यो नाटकमा नाटक मञ्चन भइरहँदा मञ्चका कलाकारदेखि पर्दा पछाडिका प्राविधिकमा हुने भावना पोखिएको छ । 

त्यसैले होला,कलाकारहरुले कहिले चर्को संवादमा बोलिरहेका हुन्छन् त कहिले मध्यम । कुनै संवाद बोल्दा लाग्छ-अभिनय नै गरिरहेका हुन् कि ? कहिले लाग्छ -अभिनय गरेजस्तो पो गरिरहेका हुन् ? निर्देशक बनेका राजाबाबु कार्की हुन् या रक्षा बनेकी रुजा, वा उनलाई विस्थापन गर्न आइपुगेका सुजन घिमिरे । यो नाटकमा अधिकांश कलाकारले चरित्र सुहाउँदो अभिनय पस्केका छन् । 

नाटकको अर्को रोचक पाटो कलाकारलाई दिइएको चरित्रको नाम हो । यहाँ कलाकारहरुको वास्तविक नामै एकअर्काको चरित्रका लागि प्रयोग गरिएको छ । अभिनेता मिलन कार्की यो नाटकमा अनुप न्यौपाने बनेका छन् । कलाकार अनुप न्यौपानेको चरित्रको नाम भने मिलन कार्की छ । यी दुई कलाकारले मञ्चमा आफूहरुलाई एकअर्काका नामले बोलाए, कस्तो सुनिएला ? दर्शक हसाउन यो सानो फेरबदलले पनि ठूलै काम गर्छ । नाटकमा कलाकार रुजा राउतले रक्षा थापा नामको चरित्र निर्वाह गरेकी छन् भने रक्षाले रुजा नामको चरित्र । रिहर्सलकै क्रममा नाटकमा एउटा दुर्घट्ना हुन्छ, अब त्यो घटना के हो ? त्यो घटनाबीच कलाकारले अभिनय गरिहन्छन् कि गर्दैनन् ? त्यो बुझ्न मण्डला नै पुग्नुपर्ने हुन्छ । 

'ग्राण्ड रिहर्सल'को सेटमै पनि गजब्बको काम देखिन्छ । नाटकमा ठूला सेट त खासै जडान छैन । तर, यो सेटको डिजाइन जसरी गरिएको छ त्यो कथामै आधारित देखिन्छ । नाटकमा अब के होला ? यसै अनुमान लगाउन गाह्नो छ । त्यसरी नै नाटकको सेटमा कहिले के हुने हो पत्तो हुन्न । कहिले पर्दा झ्वाट्टै खस्छ त कहिले ढोका फनफनी घुम्छ । माथिल्लो कोठा पनि टक्क अडिन्न । कलाकारले अभिनय गरिरहँदै त्यो कोठाको संरचना भत्किन खोज्छ । कलाकारले संवाद बोलिरहेकै बेलामा टेकिरहेको धरातल अर्थात भूइँ मानिएको छानो खस्न खोज्छ । अनि तुर्लुङ्ग अल्झिएको त्यही छानोमा उभिएर मिलन (अनुप न्यौपाने)ले आफ्नो संवाद बोली भ्याउँछन् ।

अब सुरु भएको नाटक सकाउनै पर्‍यो । मिलनले नै सुरुवातमा कलाकारलाई भनेका हुन्छन्- ‘सो स्टार्ट भइसकेपछि जसरी पनि सकिनुपर्छ । जसरी मानिस जन्मिएपछि मर्नैपर्छ त्यसरी सो पनि सुरु भइसकेपछि सकिनैपर्छ । बीचमा आकाशै खसोस्, आगो नै लागोस् । सो मस्ट गो अन ।’ मिलन चरित्रले भने झैं ‘ग्राण्ड रिहर्सल’को मञ्चमा अनेकन घटना घटिरहन्छन्, तर त्यसबीच पनि कलाकारले आफ्नो अभिनयमार्फत ‘सो’लाई अन्तिमसम्म पुर्‍याउँछन् । हुन पनि हो - सो मस्ट गो अन ! 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully