अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलाकार, कालोपट्टी बाँधेर मौन विरोध 

उच्च अदालतको आदेशले २२ बैशाखसम्म लालीबजार फिल्म प्रदर्शनमाथि रोक लागेपछि लालीबजार टिमसहित फिल्मकर्मीहरूले सिर्जनामाथि हस्तक्षेप भएको भन्दै आवाज उठाएका हुन् ।

वैशाख १६, २०८३

रीना मोक्तान

Artists in favor of freedom of expression, silent protest by wearing black armbands

What you should know

काठमाडौं — आँखामा कालो चस्मा, अनुहारमा मन्द आक्रोश । बुट्टेदार कुर्तीमा उनी रिसाउँदै माइतीघर मण्डलातर्फ लम्किन् । क्यामेरा उनीतिरै तेर्सिन थाले, भिडियो बनाउनेहरूबाट घेरिए । भिडियो र फोटो खिच्नेहरूलाई पन्छ्याउँदै उनी विरोधरत समूहमा मिसिन पुगिन् । हातमा कालो पट्टी बाँधिन्, अनि प्लेकार्ड समाइन्–सिनेमा बोलोस्, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस् । 

उनी हुन्, अभिनेत्री स्वस्तिमा खड्का । बुधबार साँझ माइतीघर मण्डलमा देखिएको दृश्य हो यो । बुधबार कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका पक्षमा कलाकर्मीद्वारा गरिएको शान्तिपूर्ण विरोधमा उनी सहभागी भएकी थिइन् । उनीसँगै फिल्म ‘लालीबजार’का निर्देशक यम थापा, निर्माताहरू रवीन्द्रसिंह बानियाँ, म्याक्स दिपेश खत्री, प्रदीप भट्टराई, कस्ट्युम डिजाइनर जानकी कडायत, सिनेमेटोग्राफर सुशन प्रजापतिलगायतको समूह माइतीघरमा उभिए ।

फिल्ममा अभिनेत्री स्वस्तिमाको मुख्य भूमिका छ । यो समूहले माइतीघरमा १५ मिनेट मौन विरोध गर्‍यो ।  शुक्रबार (१८ बैशाख) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’लाई उच्च अदालत पाटनले ‘तत्कालका लागि प्रदर्शन नगर्नू’ भन्ने आदेश दिएसँगै फिल्मकर्मीहरूबीच अभिव्यक्ति स्वतन्त्रताको विषय बहसमा छ । वादी समुदायको तर्फबाट रोशनी नेपालीले प्रदर्शन रोक्न मागसहित रिट दायर गरेपछि अदालतले प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हो । यो आदेशले २२ बैशाखसम्म फिल्म प्रदर्शन रोकिएको छ । यही क्रममा ‘लालीबजार’ समूहको पक्षमा उभिएर फिल्मकर्मीहरूले सिर्जनामाथि हस्तक्षेप भएको भन्दै आवाज उठाएका छन् । 

सिर्जनात्मक स्वतन्त्रताको पक्षमा गरिएको शान्तिपूर्ण र मर्यादित विरोध कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक अशोक शर्मा, मनोज पण्डित, गणेशदेव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ, रौनक विक्रम कँडेललगायत उपस्थित थिए । 

यसअघि निर्देशक पण्डितको फिल्म ‘दासढुङ्गा’ले पनि सिर्जनामाथिको हस्तक्षेप सहेको थियो । त्यतिबेला एमालेले यो फिल्म प्रदर्शनमा अवरोध गरेको थियो । लामो संघर्षपछि पण्डितको फिल्म हल प्रदर्शनमा आएको थियो । निर्देशक पण्डितको ‘बधशाला’ले पनि सेनाबाट सास्ती खेपेको थियो । निश्चलको फिल्म ‘लुट’ले पनि सेन्सर झमेला सहेको थियो । सेन्सरले त्यतिबेला यो फिल्ममा प्रयोग संवादमाथि काँटछाँट गराएको थियो । गणेशदेव पाण्डेको फिल्म ‘गाजाबाजा’ले त लामो समय निर्माण इजाजतकै लागि संघर्ष गरेको थियो ।

बुधबार कालो पट्टी शिरमा बाँधेर गणेश पनि पम्पलेटसहित मण्डलामा उभिएका थिए । ‘जात-धर्म-समुदाय सबैको सम्मान, संविधानको बाटो, यही हाम्रो अडान,’ गणेशले समाएको पम्पलेटमा लेखिएको थियो । पण्डितले समाएको पम्पलेटमा ‘सिनेमा-साहित्यसँगै जाओस्, सत्यको आवाज टाढा पुगोस्’ भनेर उल्लेख गरिएको थियो ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully