गत शुक्रबार उनले आफ्नो आवाज भएका दुईवटा अडियो क्लिप्स र एक फोटोसहित अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्कको कार्यालयमा निवेदन दिएकी हुन् ।
लस एन्जलस — पप गायिका टेलर स्विफ्टले आफ्नो आवाज र शारीरिक आवरणको ‘ट्रेडमार्क’ दर्ता गराएकी छन् । गत शुक्रबार उनले आफ्नो आवाज भएका दुईवटा अडियो क्लिप्स र एक फोटोसहित अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्कको कार्यालयमा निवेदन दिएकी हुन् ।
पछिल्लो समय एआई (कृत्रिम बुद्धिमता) को सहयोगमा डिपफेक भिडियो र अडियोमार्फत गायक/गायिकाको आवाजलाई दुरुस्तै नक्कल गरेर गीत तथा अनुहार मिल्दोजुल्दो देखिने गरी विभिन्न भिडियो बनाएर दुरुपयोग गर्न थालिएपछि गायिका स्विफ्टले आफ्नो नीजत्व रक्षाका लागि ‘ट्रेडमार्क’ दर्ता गराएकी हुन् ।
‘यो दर्ता गर्नुको उद्देश्य गायिकाको स्वर र उनको आवरणलाई सुरक्षित राख्नु हो,’ ट्रेडमार्कसम्बन्धी एक वकिलले भनेका छन्, ‘जसले गर्दा प्रसिद्ध व्यक्तिका भ्वाइस र इमेजको दुरुपयोग गर्दै एआईमार्फत डिपफेक भिडियो र अडियो बनाउनेहरूलाई कानुनतः रोक्न सकिन्छ ।’ तर ट्रेडमार्क दर्ताका बारेमा गायिका स्विफ्टले भने तत्काल कुनै प्रतिक्रिया दिएकी छैनन् । न त उनका प्रवक्ता र वकिलले नै केही बताएका छन् । टेलरको अधिकार संरक्षण व्यवस्थापन गर्ने ‘टीएएस राइट्स म्यानेजमेन्ट कम्पनी’ ले उक्त आवाज र आवरणको मालिक गायिका स्वयं भएको जिकिर गर्दै ट्रेडमार्क दर्ता गरेको हो ।
‘हे, यो टेलर स्विफ्ट हो र तपाईं मेरो नयाँ एल्बम ‘द लाइफ अफ अ सोगर्ल’ लाई आफ्नो इच्छा अनुसार अमेजन म्युजिकमा सुन्न सक्नुहुनेछ’ भन्दै पहिलो अडियोमा गायिका स्विफ्टले आफ्नै आवाजलाई ट्रेडमार्कका लागि दर्ता गराएकी हुन् । दोस्रो अडियो क्लिपमा पनि उनले आफूलाई टेलरका रूपमा चिनाउँदै ‘द लाइफ अफ अ सोगर्ल’ ३ अक्टोबरमा सार्वजनिक हुने जानकारी दिएकी छन् । त्यस्तै, आफ्नो ‘लुक्स’ र ‘स्टाइल’ को अधिकार सुरक्षाका लागि उनले स्टेजमा गुलाबी रंगको गिटार बोकेको तस्बिर दिएकी हुन् ।
पछिल्लो समय स्विफ्टको ‘इमेज’ र ‘भ्वाइस’ को प्रयोग गरी बनाइएका एआई जेनेरेटेड डिपफेक सामाग्रीमार्फत विभिन्न झुटा विज्ञापनदेखि राजनीतिक मुद्दाका लागि दुरुपयोग गर्ने र अश्लील भिडियो सामाग्री बनाउने क्रम बढेको छ । २०२४ कै राष्ट्रपतीय निर्वाचनका क्रममा नै हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै गायिका स्विफ्टले उनको उम्मेदवारीलाई समर्थन गरेको जस्तो देखिने खालका एआई जेनेरेटेड फोटो आफ्नै ट्रुथ सोसलमार्फत सार्वजनिक गर्दै अफवाह फैलाएका थिए ।
अभिनेता म्याथ्यू म्याककोनाहीले पनि केहीअघि यस्तै ट्रेडमार्क दर्ता गरेर आफ्नो निजत्व सुरक्षित गराएका थिए । उनले आफ्नो चर्चित फ्रेज ‘अल राइट, अल राइट, अल राइट’ लाई आफ्नो नाममा ट्रेडमार्क दर्ता गराएपछि यो विषयले चर्चा पाएको हो । गत जनवरीमा वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा उनले भनेको थिए, ‘एआईको आजको दुनियाँलाई मध्यनजर गर्दै हामी हाम्रो स्वामित्वलाई स्वीकृति लिन र श्रेय दिन बाध्य पार्ने गरी एउटा प्रस्ट दायरा बनाउन चाहन्छौं ।’
गायिका स्विफ्टको दर्ता निवेदनलाई आफ्नो ब्लगमार्फत सोमबार सार्वजनिक गर्दै ट्रेडमार्क वकिल जोस गेर्बेनले ‘एआईको जोखिमबाट टेलरलाई सुरक्षित राख्ने उद्देश्यले सुझबुझ ढंगको तयारी’ भनी टिप्पणी गरेका छन् । ‘अनधिकृत रूपमा बनाइने एआई सामग्रीबाट चर्चित व्यक्तिहरूको अधिकारलाई जोगाउनका लागि हालका विद्यमान प्रचार सामाग्री अधिकारसम्बन्धी कानुन पर्याप्त छैनन् । त्यसैले पनि ट्रेडमार्कसम्बन्धी यस्ता निवेदनले विशिष्ट तहको सुरक्षा प्रदान गर्छ’ गेर्बेनले भनेका छन् । सेलेब्रिटीका आवाजलाई नै ट्रेडमार्कका लागि दर्ता गराउने यो नयाँ खालको शैली भन्दै उनले हालसम्म यसको अदालतमा अभ्यास भने नभएको बताए ।
‘आफ्नो गीत/संगीतको सुरक्षाका लागि पहिलेदेखि नै सर्जकहरू प्रतिलिपि अधिकार कानुनमा भर पर्थे,’ गेर्बेनले भनेका छन्, ‘तर एआई प्रविधिहरूले अब प्रयोगकर्तालाई त्यस्ता रेकर्डेड म्युजिकको प्रतिलिपी बिना नै कलाकारको आवाज सिधै नक्कल गरेर पूर्णत नयाँ सामग्री उत्पादन गर्न सघाउँछ, जसले गर्दा प्रतिलिपि अधिकारको क्षेत्रमा ठूलो समस्या खडा गरिदिएको छ । अब यस्ता ट्रेडमार्क दर्ताले त्यसलाई समाधान गर्न मद्दत गर्नेछ ।’
स्विफ्टसँग पहिल्यै उनको नाम, ‘एल्बम टाइटल’ का साथै मुख्य गीतका शब्दहरूसँग सम्बन्धित ५० भन्दा बढी ट्रेडमार्कहरू छन् ।
