फिल्मको कन्टेन्ट राम्रो भए पनि योजनाबद्ध बजार व्यवस्थापन, रचनात्मक प्रचार र लक्षित दर्शकमा पुग्न नसक्दा नेपाली निर्माताहरू घाटा बेहोरिरहेका छन्।
What you should know
काठमाडौँ — नेपाली फिल्म हलमा नपुग्दासम्म धेरै फिल्मकर्मीलाई लाग्छ, ‘चर्चा राम्रो भइरहेको छ ।’ तर प्रदर्शनको बेला हलहरूमा अधिकांश सिट खाली पाएपछि मात्र उनीहरूले मनन गर्छन्, ‘प्रचारमा चुकिएछ ।’अधिकांश नेपाली फिल्मले हरेक वर्ष घाटा बेहोर्नुको कारणमध्ये फिल्मकर्मीहरूले गर्ने दुई तर्क हो– फितलो कथा र कमजोर मार्केटिङ ।
गत असोजमा दसैंको अवसर पारेर निर्माता रोहित अधिकारीको फिल्म ‘माइतीघर’ प्रदर्शनमा आयो । प्रदर्शन हुनुअघि रोहितले जताततै आफ्नै फिल्मको मात्र प्रचार देखेका थिए । तर फिल्मले ४ करोडको मात्र व्यापार गर्यो । ‘सोचेभन्दा धेरै कम व्यापार गरेपछि लाग्यो– हामीले त आम दर्शकसम्म फिल्म पुर्याउनै सकेका रहेनछौँ,’ रोहित भन्छन् । हुन त रोहितले फिल्म मार्केटिङका लागि १७ लाख रुपैयाँ फेसबुक, युट्युब र टिकटक बुस्टमा मात्रै खर्चिएका थिए । रिलिजताका उनले बेला नयाँ रणनीति अपनाए पनि । फिल्मको टाइटल गीतमा उत्कृष्ट भिडियो बनाउनेलाई ५ लाख पुरस्कार घोषणासमेत गरे । समग्रमा ५० लाख मार्केटिङमा खर्चिए पनि फिल्म किन चलेन त ? ‘काठमाडौंमा अलिअलि हल्ला हुन्छ, तर दार्चुला, बैतडी, दाङ वा धनगढी जस्ता विकट ठाउँका आम दर्शकसम्म हाम्रो प्रचार पुगिरहेको हुँदैन रहेछ,’ उनी अनुभव सुनाउँछन् ।
कतिपय अवस्थामा त फिल्म हलमा आएको र गएको पनि दर्शकलाई पत्तो हुँदैन । बरु पछिल्लो समय जति फिल्म चलेका छन्, ‘माउथ पब्लिसिटी’कै कारण सम्भव भएको उनको ठम्याइ छ । फिल्म प्रचारमा फिल्मकर्मीलाई मिडियाहरूबाट हुने सहयोग पनि रचनात्मक नहुनुले यसलाई असर पारेको उनी थप्छन् । ‘एक त प्रचारका माध्यम धेरै भएर दर्शकहरू कन्फ्युज भए । अर्कोचाहिँ मिडियामा समाचार पनि मिडिया कोर्डिनेटरले जे पठायो त्यही कपी–पेस्ट गरेर हालिन्छ । सिर्जनात्मक प्रचार हुन नसक्नुले दर्शकहरूमा विश्वास हुँदैन,’ उनी भन्छन् ।
सन् २०१६मा फिल्म ‘गाजलु’ रिलिजताका फेसबुक पेजहरूमा फिल्म मार्केटिङको शैलीलाई उनले अगाडि बढाएका थिए । त्यतिबेला ‘ट्रोल नेपाल' नामक युवापुस्तामा लोकप्रिय पेजसँग समन्वय समेत गरेका थिए । त्यसले फिल्म प्रचारमा सहयोग पुगेको थियो । ‘त्यतिबेलाको नयाँ शैलीजस्तै समयअनुसार मार्केटिङमा हामीले रचनात्मक योजनाहरू गर्नुपर्ने रहेछ, जुन अबका फिल्महरूमा सोचिरहेको छु , ’ उनी भन्छन् ।
जबसम्म १० वटा नराम्रा फिल्मको बीचमा एउटा राम्रो फिल्म आउने अवस्था रहन्छ, तबसम्म दर्शकलाई विश्वास दिलाउन गाह्रो हुन्छ ।-दीपकराज गिरी२०८२ वैशाख १२मा रिलिज भएको विनोद पौडेल निर्देशित फिल्म ‘भुठान’ले सकारात्मक समीक्षा पाए पनि व्यापारमा भने कमजोर रह्यो । फिल्ममा कलाकार हरिवंशले अभिनय करिअरमै धेरै मेहेनत गरेका थिए । २२ लाख मात्र कमाएको फिल्म हलमा धेरै समय टिक्न सकेन । सीमित दर्शकबाहेक यो फिल्म रिलिज भएको धेरैलाई त थाहै भएन ।
फिल्म निर्माता अविरल थापा मार्केटिङका लागि पर्याप्त बजेट नहुनुले व्यापारलाई असर पारेको ठम्याउँछन् । सँगै काठमाडौंमा शिक्षक आन्दोलन हुनुले पनि रिलिज समय उपयुक्त नभएको तर्क छ उनको । ‘खासमा 'भुठान' मास अडियन्सका लागि नभएर ओटीटी र ग्लोबल अडियन्सलाई लक्षित गरी बनाइएको थियो, जसमा २५ प्रतिशत संवाद अंग्रेजीमा छन्,’ उनी फिल्मले हलमा व्यापार नगर्नुको कारणबारे थप्छन् ।
०८२ सालमा रिलिज भएका ५६ मध्ये ३७ फिल्मले एक करोडमाथिको पनि व्यापार गर्न सकेनन् । १० करोडमाथि त चार फिल्मले मात्र व्यापार गरे । कन्टेन्टसँगै नेपाली फिल्मको मार्केटिङ पनि कमजोर भएकाले फिल्मको व्यापार प्रभावित हुने थापाको बुझाइ छ ।
‘अहिलेसम्म नेपाली फिल्म क्षेत्रमा सबभन्दा कमजोर पक्ष भनेको मार्केटिङ नै हो जस्तो मलाई लाग्छ । हाम्रो बजारमा ८० प्रतिशत मेकरहरू मार्केटिङ र मिडिया पब्लिसिटी एउटै हो भन्ने भ्रममा झुक्किरहेका छन्, ’ उनी भन्छन्, ‘हामीसँग मार्केटिङ प्लान नै हुँदैन । कुनै मिडियालाई समाचार छाप्न ठेक्का दिनुलाई नै मार्केटिङ मान्ने गलत चलन छ ।’ हलिउड वा बलिउडमा डिस्ट्रिब्युटरले फिल्म किनेपछि मार्केटिङ एजेन्सी हायर गरेर योजनाबद्ध काम गरे पनि नेपालमा त्यो अभ्यास नभएको बताउँछन् उनी ।
मार्केटिङका लागि बजेट नै नछुट्ट्याउनु अर्को ठूलो समस्या भएको उनको अनुभव छ । ‘प्रोड्युसरहरू पोस्ट-प्रोडक्सन गर्दागर्दै पैसा खोजेर हिँडिरहेका हुन्छन् । अन्त्यमा मार्केटिङका लागि बजेट नै बाँकी हुँदैन । फिल्मको कुल बजेटको करिब ३३ प्रतिशत पैसा मार्केटिङमा चाहिन्छ । तर यहाँ त्यसो गरिँदैन,’ उनी भन्छन् । कतिपय फिल्मले भने लक्षित दर्शक को भन्ने कुरामै टिम कन्फ्युज हुँदा फिल्म नचल्ने ठम्याइ छ उनको ।
कतिपय फिल्म भने रिलिजअघिसम्म चर्चामा रहे पनि व्यापार अपेक्षाकृत हुँदैनन् । गत भदौमा रिलिज भएको ऋषि लामिछाने निर्देशित फिल्म ‘माग्ने राजा’ले ४ करोड ९६ लाख कमाएको थियो । यो फिल्ममा कलाकार केदार घिमिरेलाई पारिश्रमिक नै करिब ५० लाख माथि दिइएको थियो । त्यतिबेला कलाकारको पारिश्रमिककै कारण पनि चर्चामा आएको यो फिल्मले सोचेनअनुरूप व्यापार गरेन ।
‘माग्ने राजा’ मात्र हैन ‘जारी २’, ‘बलिदान’ जस्ता फिल्महरूको रिलिजअघि जुन चर्चा थियो, चर्चाअनुसार व्यापार भने गरेन । बरु रिलिजअघि कम चर्चा भएका तर प्रदर्शनको केहीदिनपछि हल भरिभराउ भएका फिल्महरू पनि छन् । ०८२ कात्तिकमा रलिज भएको ‘परान’ होस् वा ०८१ मा रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ । पछिल्लो समय दर्शकहरू हलसम्म नपग्दा निर्माण टिमले लाखौँको टिकट किनेर दर्शक बोलाउने पनि गरेका छन् । फिल्म मन परेपछि ‘वर्ड अफ माउथ’ले नै थप दर्शकहरू तानेका उदाहरण ‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’ नै हुन् ।
कन्टेन्ट राम्रो भएको खण्डमा र प्रचारप्रसार बलियो भएको अवस्थामा फिल्मले व्यापार गर्ने ‘माग्ने राजा’कै निर्माता मुनाल घिमिरेको भनाइ छ । ‘कन्टेन्ट जरुरीको हो । तर कन्टेन्ट छ भन्दैमा प्रचारप्रसारै नगरेर हलसम्म फिल्म पुर्यायो भने त्यसले सफलता प्राप्त गर्दैन,’ उनी भन्छन्, ‘जति कन्टेन्ट महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण बजार व्यवस्थापन छ । बजार व्यवस्थापन राम्रो भएन भने राम्रो गुणस्तर भए पनि बजार पाउन गाह्रो हुन्छ ।’
प्रचारप्रसार योजनाबद्ध रुपमा गर्दा त्यसले फिल्मलाई कति फाइदा गर्छ ? फिल्म ‘बोक्सीको घर’को निर्मातासमेत रहेकी अभिनेत्री केकी अधिकारीको अनुभवले भन्छ, ‘यसका लागि अध्ययन र अनुसन्धान जरुरी रहेछ ।’
०८१ वैशाखमा रिलिज भएको यो फिल्म १ करोडमा बनेको थियो । फिल्मले १० करोड माथिको व्यावार गरेको थियो । ‘हामीले फिल्मलाई एउटा 'कमर्सियल प्रोडक्ट’का रूपमा बजारमा ल्याउने प्रयास गर्यौँ । यसका लागि हामीले एउटा नयाँ र जोसिलो मार्केटिङ टिमसँग सहकार्य गर्यौँ । हाम्रो समाजमा महिलाले लिड गरेको वा सामाजिक विषयमा बनेका फिल्म चल्दैनन् भन्ने जुन भ्रम थियो, त्यसलाई चिर्नु हाम्रो मुख्य चुनौती थियो । हामीले के बुझ्यौँ भने, कमजोरी मार्केटिङ र सही समयमा रिलिज नहुनुमा थियो, कन्टेन्टमा होइन,’ केकी भन्छिन् ।
उनका अनुसार टिमले हचुवाको भरमा भन्दा पनि डेटा र रिसर्चमा आधारित भएर काम गरेको थियो । ‘हामीले विगतका चलचित्रहरूको अध्ययन गरेर के पत्ता लगायौँ भने, नेपालमा चलचित्र हेर्न जाने निर्णयमा महिलाहरूको भूमिका ठूलो हुन्छ । यदि हामीले ८० प्रतिशत महिला दर्शकलाई हलसम्म तान्न सक्यौँ भने यो फिल्म सफल हुन्छ भन्ने हाम्रो आकलन थियो,’ उनी थप्छिन् ।
‘बोक्सीको घर’ले हलसम्म दर्शन तान्नमा प्रकाश सपुतको गीत ‘बुझिनँ मैले’ले अर्थपूर्ण भूमिका खेल्यो । ‘महिला दर्शकहरूलाई आकर्षित गर्न हामीलाई एउटा यस्तो गीत चाहिएको थियो जसले उनीहरूको मन छुओस् । यसका लागि हामीले प्रकाश सपुतजीलाई रोज्यौँ, किनकि उहाँको सिर्जनशीलताले सबै उमेरका महिलाहरूलाई छुने गरेको हामीले पाएका थियौँ । गीतको भिजुलाइजेसनमा हामीले बालविवाहदेखि समाजका अन्य तीता यथार्थहरू समेटेर एउटा 'गीत नाटक' जस्तो प्रस्तुत गर्यौँ । सुरूमा मान्छेहरूले यो फिल्मकै गीत हो भनेर पत्तो पाएनन्, तर बिस्तारै यसले ठूलो माहोल बनायो,’उनी भन्छिन् ।
यो फिल्मका लक्षित वर्ग उनीहरूले थाहा पाएका थिए । त्यहीअनुसार योजना बनााएका थिए । नभन्दै पहिलो दिनको शोमा नै अधिकांश दर्शक महिला थिए । ‘यस अनुभवबाट मैले के सिकेँ भने यदि हामीले रिसर्च गरेर, दर्शकको मनोविज्ञान बुझेर र पूर्ण तयारीका साथ फ्लोरमा गयौँ भने जस्तो सुकै विषयलाई पनि व्यावसायिक रूपमा सफल बनाउन सकिन्छ । हाम्रा लागि यो एउटा ठूलो सिकाइ र उपलब्धि दुवै रह्यो,’ उनी भन्छिन् ।
फिल्म निर्माता रवीन्द्रसिंह बानियाँका प्राय: नेपाली फिल्मले बक्स अफिसमा सफल व्यापार गरेका छन् । उनीहरूको ‘ जात्रा’ शृङ्खला सबैभन्दा हिट शृङ्खला हो । अहिले ‘लालीबजार’ रिलिज नजिक हुँदा रवीन्द्र यो फिल्मको बजार व्यवस्थापनमा सक्रिय छन् । उनीहरूका प्राय: फिल्मले राम्रो व्यापार कसरी गर्छन् त ? रवीन्द्र भन्छन्, ‘मार्केटिङले सूचना मात्र दिन्छ, तर दर्शकलाई हलसम्म पुर्याउन ब्रान्डिङ र सेलिङ पोइन्टको ठूलो भूमिका हुन्छ ।’ उनका अनुभवमा सूचना दिन सजिलो छ, तर दर्शकको मोबाइलमा फिल्मको जानकारी देख्दा ‘यो हेर्नै पर्छ’ भन्ने धारणा बनाउनु महत्त्वपूर्ण हुन्छ ।
रवीन्द्रको टिम फिल्मको पोस्टर वा समाचारहरू दिँदा दर्शकको दिमागमा एउटा 'फोल्डर' बनोस् भन्ने चाहन्छ । पछि ट्रेलर र अन्य सामग्रीहरू सार्वजनिक गर्दा त्यही फोल्डरमा थपिँदै जान्छ र अन्त्यमा दर्शकलाई ‘यो फिल्म नहेरी हुँदैन’ भन्ने लाग्छ । टिजर वा ट्रेलरमा पुराना सटहरू दोहोर्याएर दर्शकलाई फिल्मको बारेमा रिकल गराउने र एउटा माला उनेजस्तै गरी जानकारीहरू जोड्ने टिमको रणनीति भएको बताउँछन् उनी ।
उसो त रवीन्द्र मार्केटिङमा पहिल्यैदेखि रुचि राख्थे । गुरूकुलमा तालिम लिँदाताका पनि नाटक हेर्न मान्छे नहुने समयमा उनले मार्केटिङका १०१ वटा बुँदा तयार पारेका थिए । नर्वेको एउटा नाट्य क्लबका अध्यक्षसँगको तालिमपछि उनले विभिन्न उदाहरण दिएर मार्केटिङ गर्न सकिने कुरा राखेका थिए, जसबाट प्रभावित भएर नाट्यकर्मी सुनील पोखरेलले रवीन्द्रलाई जागिरको अफर गरेका थिए । ‘कलाकार बन्न हिँडेका म कलाकारको जिम्मेवारीसँगै मार्केटिङ टिमको नेतृत्व पनि सम्हालेँ । त्यही समयदेखि ब्रान्डिङ र मार्केटिङ फरक कुरा हुन् भन्ने बुझेँ,’ उनी सुनाउँछन् ।
फिल्म प्रचारप्रसारको बेला उनीहरू ‘चुनाव लडेका नेता जस्तै’ हुन्छन्, जहाँ हरेक एक दर्शकको महत्त्व हुन्छ । दर्शकको सानो प्रतिक्रिया वा फोटोलाई पनि प्राथमिकता दिन्छन् उनीहरू । साथै मिडिया छनोटमा पनि ध्यान दिन्छन् ।‘कहाँ अन्तर्वार्ता दिने र कहाँ नजाने भन्ने कुरा पहिले नै तय गर्छौँ । जहाँ आफ्नो लक्षित दर्शक छन्, त्यही मिडियालाई प्राथमिकता दिन्छौँ,’ उनी भन्छन् । फिल्ममा प्रचारप्रसारका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने अनुभव पनि रवीन्द्रको छ ।
नेपाली फिल्म क्षेत्रमा प्रोड्युसर भन्नासाथ पैसा लगानी गर्ने भन्ने बुझाइ छ । तर रवीन्द्र इन्भेस्टर र प्रोड्युसरबीचको फरक छुट्याउँछन् । ‘नेपालमा 'इन्भेस्टर' र 'प्रोडुसर' बीच कन्फ्युजन छ । इन्भेस्टरले पैसा मात्र हाल्छ, तर प्रोडुसरले फिल्मलाई कसरी बेच्ने र कहाँ पुर्याउने भन्ने योजना बनाउँछ । हामी यी काम योजनाबद्ध ढंगले कार्यविभाजनका साथ गर्छौँ,’ उनी भन्छन् ।
कलाकार दीपकराज गिरीले निर्माण गरेका कुनै फिल्म पनि आजसम्म व्यावसायिक हिसाबमा कमजोर छैनन् । आफूहरू सफल हुनुको पछाडि दीपक फिल्मले दिएको मनोरञ्जनका ग्यारेन्टी कारक भएको बताउँछन् । ‘अहिले मानिसको हात-हातमा मोबाइल, नेटफ्लिक्स र प्रशस्त सामग्री उपलब्ध भएको अवस्थामा हलसम्म ल्याउन चुनौती छ । फिल्मले फरक खालको मनोरञ्जन दिनु आवश्यक छ । 'छक्का पञ्जा'को सफलताको मुख्य कारण पनि यिनीहरूको फिल्ममा मनोरञ्जन चाहिँ हुन्छ र यो सिनेमा हेरेर चाहिँ बोर मान्नु पर्दैन भन्ने दर्शकको विश्वास वा लिगेसी नै हो,’ दीपक भन्छन् ।
नेपाली फिल्महरू नचल्नुको कारण मार्केटिङभन्दा पनि कन्टेन्ट नै मुख्य जिम्मेवार रहेको उनको बुझाइ छ । ‘हामी वर्षौंदेखि एउटै प्रकारको कथा भनिरहेका छौँ । कि त त्यो हिन्दी र साउथ इन्डियन फिल्मको कपी जस्तो प्रभावित फिल्म बनाउँछौँ या त त्यही गाउँघरको कथा रिपिट गरिरहेका छौँ । कथा भन्ने शैलीलाई परिमार्जन गर्ने र मिहिनेत गर्ने बानीको अभावले गर्दा सिनेमाको व्यापार खुम्चिँदो अवस्थामा छ,’ उनी भन्छन् ।
दीपकका फिल्मका कथावस्तु फरक भए पनि नाम उही हुन्छ । जस्तोको ‘छक्का पञ्जा ५’पछि अब बन्ने नयाँ फिल्मको नाम ‘छ माया छपक्कै २’ हुनेछ । फरक नाम नराख्नुमा बजारकै ठूलो दबाब भएको बताउँछन् दीपक । ‘अहिले सिनेमा चल्छ कि दसैं चल्छ भन्ने कुरा पनि कन्फ्युज भइसक्यो मान्छेलाई । पुरानो नाम वा स्थापित 'लिगेसी' भएन भने वितरकहरूले पनि सिनेमा किन्न आनाकानी गर्छन् । हामी पनि त्यही जोखिम उठाउन नसकेर अरु नाम राख्दैनौँ,’ दीपक भन्छन् ।
कहिलेकाहीँ मार्केटिङ राम्रो हुँदा हुँदै पनि सम्भावना बोकेका फिल्मसमेत चल्दैनन् । दीपक कारण भन्छन्, ‘जबसम्म १० वटा नराम्रा फिल्मको बीचमा एउटा राम्रो फिल्म आउने अवस्था रहन्छ, तबसम्म दर्शकलाई विश्वास दिलाउन गाह्रो हुन्छ ।’
नेपाली फिल्महरूमा मार्केटिङ र मिडिया संयोजन सक्रिय जीवन पराजुली नेपाली फिल्म क्षेत्रमा वास्तविक व्यापारीहरूको प्रवेश नै नभएको तर्क गर्छन् । धेरैजसो निर्माताहरूले मिडियामा आउने समाचार र विज्ञापनलाई नै पूर्ण मार्केटिङ मान्छन् ।
‘तर मिडिया मार्केटिङको एउटा सानो हाँगा मात्र हो, जसलाई मेकरहरूले पूरै रुख मान्ने गल्ती गरिरहेका छन् । उनीहरू डिजिटल समयका नयाँ फर्महरू र टार्गेट अडियन्स रिसर्चका बारेमा अपडेटेड छैनन्,’ जीवन भन्छन् । अर्कोचाहिँ मार्केटिङको बेला निर्मातासँग बजेट अभाव हुने बताउँछन् उनी । ‘४ करोड लगाएर फिल्म बनाउने निर्मातासँग ५० लाख रुपैयाँ मार्केटिङका लागि बजेट हुँदैन । उनीहरू फिल्म आफैँ चल्छ वा दर्शकले माया गरिदिनुपर्छ भन्ने भ्रममा रहन्छन्,’ उनी भन्छन्, ‘वास्तवमा प्रोडक्सन र मार्केटिङ दुवैमा बराबर बजेट हुनुपर्छ ।’
