यो फिल्म नयाँ वर्षको अवसरमा प्रदर्शनमा आएको हो ।
What you should know
काठमाडौँ — फिल्म 'चिनो'मा एउटा दृश्य छ । मुख्य पात्र लक्ष्मी (सुभद्रा अधिकारी) जब जलेर खरानी बनेको पतिको बदलामा तड्पिन्छिन्, तब उनी 'राते राते' भन्दै चिच्याउँछिन् । किन ? तुलसी घिमिरे निर्देशित यो फिल्ममा खलपात्र राते काइँलाले लक्ष्मी पाउने आशमा उनका पति मार्छन् । भागदौडकै क्रममा घरमा आगो लाग्छ । दुई बच्चा च्यापेर भाग्न सफल भएकी लक्ष्मी जलिसकेको घरमा फर्किन्छिन् । आगोले खरानी भएको पतिको बद्ला लिने प्रण लिँदै चर्को आवाजमा चिच्च्याउँछिन् ।
यो दृश्य फिल्ममा निकै अतिरञ्जित भावमा प्रस्तुत गरिएको छ । फिल्मको कथा, घटनाक्रम र चरित्रको मनस्थिति हेर्दा त्यतिबेला 'चिनो'मा यो अतिरञ्जना स्वाभाविक देखिन्थ्यो ।
तर, फिल्ममा यस्तो कुनै घट्नाक्रमबिनै कुनै पात्रले सुभद्राकै शैलीमा चर्को स्वरमा बोल्छ, त्यही भाव अनुहारमा ल्याउँछ भने के होला ? उक्त पात्र आक्रोशको त्यो बिन्दुसम्म कसरी पुगे भनेर बुझ्नै नपाउँदा दर्शक फिल्मको चरित्रसँग जोडिनै पाउँदैनन् । फलस्वरूप पात्रले बोल्ने संवाद अतिरञ्जनाबाहेक अरू केही सुनिँदैन ।
तुलसी घिमिरेकै नयाँ फिल्म 'पहाड'मा तारा चरित्रले रुख काट्दै गरेकाहरूलाई गाली गर्दा उनले गरेको अभिनय मात्रै होइन, बोल्ने संवाद पनि चर्को सुनिन्छ । कारण, फिल्ममा त्यसअघिसम्म तारालाई किन रुख काट्ने कुराले आक्रोशमा पुर्याउँछ भन्ने नै स्थापित गरिएको छैन ।
हुन त दर्शकलाई अतिरञ्जना मन नपर्ने भन्ने पनि होइन । 'धुरन्धर'मा प्रस्तुत अतिरञ्जनालाई त दर्शकले रुचाएकै छन् । तर, कथा वाचनमै त्यसलाई सन्तुलनमा राख्न सक्ने सामर्थ्य त निर्देशकसँग हुन्छ । तर, लामो समयपछि निर्देशनमा आएका तुलसीले यसलाई कथा वाचनसँग तादात्म्य मिलाउन सकेका छैनन् । कथाका यस किसिममा मिहीन विषयलाई जोड्न नसक्दा तुलसीले निर्माण गर्न खोजेको 'पहाड'को संसारभित्र दर्शकले आफूलाई भेट्दैनन् । उही चिनो बेलाको संवाद, कथा वाचन अनि अतिरञ्जनाले दर्शकको ध्यान फिल्मले तान्दैन ।
यद्यपि फिल्मको कथा गज्जबको छ । पहाड छाडेर कमाउनका लागि परदेश जानेहरूका पीडा । कमाउनका लागि गाउँ/सहर छाड्ने त नेपालीको नियति बनिसक्यो । त्यसमाथि छाडेर जानेहरूको पीडा अनि पर्खनेहरूको आशा ! तुलसीले फिल्ममा दुव पक्ष समेट्ने प्रयास गरेका छन् । 'पहाड'मै केही गर्नुछ भन्ने तारा (पञ्चमी घिमिरे), पहाडतिरै छन् । युवाहरू कमाउन हिँडेपछि 'पहाड' खाली छ । पानीको अभाव छ । तर, गाउँको यो समस्या समाधान गर्ने उपाय मदन काका (मदनकृष्ण श्रेष्ठ)सँग छ । तर, गाउँको युवा विदेशिन बाध्य छन् । अर्जुन (अरुण क्षेत्री)लाई पनि गाउँमै बस्नु छ, तर परिवारको अभाव र खर्च धान्न उनीसँग विदेशिनुको विकल्प छैन ।
निर्देशक घिमिरेले यो फिल्ममा रोजगारी र अवसरको खोजीमा विदेशिनेहरूको बाध्यता अनि त्यसले रित्तो बनाउँदै गरेको घर, गाउँ अनि परिवारको कथा भनेका छन् । त्यस अर्थमा यो फिल्म समसामयिक पीडाको धरातलमा उभिएको छ ।
तर, यी सब पक्षलाई कथामा उन्न नजाँदा 'पहाड' समथर बनेको छ । जस्तै गाउँमा पानीको अभाव छ । पानीमाथि ताराकै बुवाले राजनीति गरिरहेको छ । त्यसैले आफ्नै बुबासँग ताराको लडाइँ छ । यता मुम्बई जाने अर्जुनको कथा छ । उसको मात्रै होइन, मुम्बईमा भेटिएका पात्रको कथा छ । कलाकार विपिन कार्कीले अभिनय गरेको उक्त पात्रलाई लामै समय फिल्ममा स्थान दिइएको छ । फिल्ममा सबै पात्रलाई उत्तिकै समय दिँदा, मुख्य कथा कसको हो भन्ने अलमल भेटिन्छ ।
मध्यान्तरअघिसम्म लाग्छ, कथा पहाडमा अत्याचार र अन्याय सहन नसक्ने, प्रतिवादमा उत्रिहाल्ने ताराको कथा हो । तर, मध्यान्तरपछि जसै कथा मुम्बई पुग्छ, अर्जुन पछ्याउँदै पुगेको कथा विपिनको चरित्रतर्फ ढल्किन्छ । त्यतिबेला लाग्छ, कथा त विपिनको पो हो कि ? यसरी यो फिल्मको मुख्य पात्र र द्वन्द्व के हो भन्ने पक्षमा निर्देशक अलमलिएको देखिन्छ ।
सबै चरित्रका कथा एकपछि अर्को गर्दै यसरी भन्नै नमिल्ने भन्ने पनि होइन । तर, एउटा पात्रको कथा र संघर्षमा समानुभूत गर्न नपाउँदै पर्दामा अर्को चरित्र देखाइयो भने दर्शकलाई कुन चरित्रले बाँध्ला ? यसरी सबै चरित्रको स्थापना, संघर्षतर्फ बढी समय खर्चँदा 'पहाड' बहकिएको छ । जसले फिल्मको कथा लम्बेतान बनाइदिएको छ । त्यसमाथि फिल्ममा लामा संवाद, अनावश्यक लाग्ने दृश्य यति छन् कि त्यसलाई सम्पादनमै छोट्याएर सुन्दर आकार दिन सकिन्थ्यो । उदाहरणका लागि कलाकारहरू विपिन, अरुण र रवीन्द्र समुन्द्र किनारमा हिँडेको, बोलेको दृश्य !
नेपाली समाजको यति सशक्त, समसामयिक विषय समेट्दै फिल्म निर्माणलाई निरन्तरता दिन फरक विषय उठाउनु निर्देशक घिमिरेले समाएको सकरात्मक पाटो हो । तर, अहिलेको कथा भनिरहँदा यही समयको कथा वाचन पक्रन सकेको भए, 'पहाड' विद्यमान नेपाली समाजका लागि अर्को 'दर्पण छायाँ' बन्ने थियो । तर, यो मौका तुलसीको हातबाट यो पटक गुमेको छ ।
