गायक प्रकाश दुतराज र निर्देशक नवीन घर्ती मगरको सहकार्यमा बनेको ‘मनमाया’ भिडियोले ५०–६० वर्षअघिको नेवारी जीवनशैलीलाई सजीव रूपमा प्रस्तुत गरेको छ।
What you should know
काठमाडौँ — प्रकाश दुतराज लोक गीतमा अलग श्वादको बानी पार्ने गायक हुन् । अलग्गै स्वर मात्र हैन, शब्द शिल्प, संगीत र भिडियोमा पनि उनी कला संस्कृतिको अर्गानिक कथा बुन्ने गर्छन् ।
यसपटक पनि दर्शक स्रोताको मनमा उनले नयाँ कोसेली सुम्पिदिएका छन्- मनमाया।
मनकी रानी मनमाया देख्दा मनै कस्तो भो
विपनीमै भेट्दा पनि सपनी जस्तो भो
आज मनको कुरा भन्न पर्नि भो
तिमीलाई मन पर्यो आम्मै दिल बस्यो कसो गर्नि हो ।।
आफूले भेट्न र देख्न चाहेको युवती भेट्दा एउटा युवकमा जागेका तरंग कसरी व्यक्त होलान् । प्रकाशले गीतमार्फत् भनेका छन् ।
निर्देशक नवीन घर्ती मगर र प्रकाश दुतराजको गठजोडमा तयार भएको यस भिडियोले नेवारी संस्कृतिको झलक दिएको छ । अघिल्ला गीतमा प्रायः पहाडी परिवेश समेट्ने प्रकाशले यसपटक 'मनमाया' मा ५०–६० वर्ष पुरानो नेवा समुदायको जनजीवन र संस्कृतिलाई मुख्य विषयवस्तु बनाए । निर्देशक नवीन र गायक प्रकाश दुवै नेवा समुदायका हैनन् । ‘फरक समुदायको संस्कृति कथामा उतार्नु कति चुनौतिपूर्ण हुने रहेछ ?’ नवीनको जवाफ थियो, ‘ठूलो जिम्मेवारी र संवेदनशील विषय थियो ।’
कतै अन्जानमा गल्ती भएर समुदायको भावनामा ठेस पुग्ने त होइन भन्नेमा उनीहरू सजग देखिन्थे । त्यसैले करिब ३ देखि ४ महिनासम्म अध्ययन र अनुसन्धान गरे उनीहरूले । ‘नेवारी भेषभूषा, परम्परा र रीतिरिवाजलाई नजिकबाट बुझ्ने प्रयास गर्यौं,’ प्रकाश भन्छन् ।
भिडियोमा काठ र माटोका भाँडा बनाउने परम्परागत सीपदेखि नेवा समुदायको 'बेल विवाह' संस्कारलाई समेत समावेश गरेका छन् । ‘यसलाई वास्तविक र प्रामाणिक बनाउन ऐतिहासिक बस्ती चित्लाङमा छायाङ्कन गरिएको थियो,’ नवीन भन्छन्, ‘त्यहाँ हामीले स्थानीय बुढापाकाहरूसँग सल्लाह र समन्वय गर्यौं ।'
प्राविधिक रूपमा पनि सांस्कृतिक सूक्ष्मता बुझ्न सहज होस् भनेर नेवा समुदायकै क्यामराम्यानसँग सहकार्य गरिएको बताउँछन् नवीन । हुन त प्रकाश नेवा संस्कृतिको अझै गहिराइमा पुगेर काम गर्न इच्छुक थिए । तर, बजारको सीमितता र लगानीको चुनौती थियो । तैपनि पुरानो जीवनशैली झल्किने भिडियो बनाउने प्रयास गरेको बताउँछन् उनी । 
गीतको शब्द भने उनले फुर्सदको समयमा कोरेका थिए । शब्द अझै लामा थिए । तर, भिडियोका लागि केही सम्पादन गर्नुपर्यो । यो भिडियो निर्माणको यात्रामा ५ महिना लगानी गरेका थिए उनीहरूले । गीतको अडियोको रिदम पक्षमा चर्चित ब्यान्ड 'कुटुम्ब'सँग उनीहरूले सहकार्य गरे ।
गीतको भिडियोमा ५० वर्षअघिको समय महसुस गराउन कलाकारहरूले चप्पल नलगाई हिँड्ने सन्दर्भलाई पनि जोडिएको बताउँछन् प्रकाश ।
हाल 'मनमाया' ले पाइरहेको प्रतिक्रियाबाट प्रकाश खुसी र उत्साहित छन् । नेवार समुदायका दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सुझावलाई उनी एउटा 'आशिर्वाद' मान्छन् । ‘यो सफलताले मलाई आगामी दिनमा पनि यस्तै सिर्जनात्मक काम गर्न हौसला मिलेको छ,’ उनी भन्छन् ।
हालै मोफसलका कार्यक्रमहरू सकेर काठमाडौं फर्किएका प्रकाशसँग अबका योजना के छन् त ? भन्छन्, ‘केही समयको विश्राम गर्छु । अनि नयाँ प्रोजेक्टको योजना बनाउने सोचमा छु ।’
प्रकाशका सिर्जनाहरूमा प्रायः ग्रामीण कथा र मानवीय संवेदनाको त्रिवेणी पाइन्छ । खासगरी 'घर कता हो बैनीको'ले उनलाई व्यावसायिक रूपमा ठूलो सफलता दिलाउनुका साथै प्रत्येक दर्शकसम्म पुर्यायो । त्यस्तै, मौलिक भाका र भिडियोको मिठासका कारण 'जाम भो माइली' दर्शकमाँझ निकै लोकप्रिय भयो । 'छैन र माया' र 'आरू फूल्यो' जस्ता गीतहरूमा पनि उनले पहाडी जीवनशैली र प्रेमलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरेका गरे ।
प्रकाशका सबै गीतहरूमा एउटा समानता छ- त्यो हो नेपाली मौलिकता । त्यसमा नयाँ खुड्किलो थप्ने काम ‘मनमाया’ले गरेको छ ।
