अब निर्देशनतिर जान चाहन्छु : राजेश हमाल

वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौं संस्करणको तेस्रो दिन ‘नखिचिएको सिनेमा’ मा बोल्दै अभिनेता राजेश हमालले नेपाली सिनेमाका कथा उही भए पनि प्रस्तुति शैली फरक भइरहेको सुनाए ।

चैत्र ३०, २०८२

कृष्णप्रसाद गौतम

Now I want to move towards direction: Rajesh Hamal

What you should know

सुर्खेत — अभिनेता राजेश हमालले आफू अब निर्देशनको यात्रामा अघि बढ्ने बताएका छन् । पछिल्लो समय सिनेमा हेर्ने दुष्टिकोण, कथा, प्रस्तुति शैली, माध्यम र संस्कृति बदलिएकाले आफूलाई निर्देशनको यात्रामा जाने सोच आएको उनले बताए । ‘मैले निर्देशन गरे कथावस्तु मौलिक र प्रस्तुति आधुनिक हुनेछ,’ उनले भने, ‘त्यसमा मैले अभिनय गरेको भन्दा फरक कथावस्तु र चरित्र देखाउन मन छ ।’ 

वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौं संस्करणको तेस्रो दिन ‘नखिचिएको सिनेमा’ मा बोल्दै अभिनेता हमालले नेपाली सिनेमाका कथा उही भए पनि प्रस्तुति शैली फरक भइरहेको सुनाए । ‘कुनै बेला नयाँ सिनेमा चल्दा उत्सवजस्तै हुन्थ्यो, धेरैजसो दर्शक यस्तो सिनेमा कसरी बन्यो भन्दै महिनौंसम्म बहस गर्थे,’ उनले भने, ‘अहिले सबैको हातमा चलचित्र छ, व्यक्तिले कुनै न कुनै हिसाबले चलचित्र बनाइरहेको छ, पहिले कलाकारले मात्र फिल्म खेल्थे, अहिले टिकटकमार्फत सबैले अभिनय गरिरहेका छन् ।’ अब सिनेमा हलभित्र जाँदा आममानिसले गर्ने अभिनयभन्दा फरक हुनुपर्ने उनले बताए ।  

अभिनय गर्दा कलाकार जतिसक्दो पात्रको चरित्रको गहिराइभित्र डुब्नुपर्ने हमाल बताउँछन् । पहिलेको सिनेमामा रहनसहन, लवाइखुवाइ र जीवनशैली पर्दामा जस्ताको तस्तै उतारिने भए पनि अहिले जीवनशैलीलाई सामान्य बनाउन थालिएको उनले गुनासो गरे । ‘त्यो बेलाको सिनेमामा जनजीवन र पर्दाबीच गहिरो सम्बन्ध हुन्थ्यो, गीत, अभिनय, द्वन्द्व सबैबाट फरक सन्देश प्रवाह हुन्थ्यो,’ उनले भने, ‘अहिले मनोरञ्जन मात्र प्रवाह भएको छ, प्राय: नयाँ चलचित्रमा सन्देश भेटिँर्दैनन् ।’   

आफू सहरमा हुर्किए पनि अधिकांश सिनेमा गाउँले परिवेश र पात्रमा खिचिएकाले धेरै दर्शकले आफूसँग आत्मीयता देखाउने गरेको हमालले बताए । ‘मेरा धेरै चलचित्र आमजनजीवन बिताइरहेका पात्रहरूकै भूमिकामा थिए, चलचित्रका नाम पनि आमनेपालीलाई प्रतिनिधित्व गर्ने हुन्थे,’ उनले भने, ‘मैले अभिनय नगरेका पेसा र व्यवसाय सायदै होलान्, अभिनय गर्दा उनीहरूको जीवनशैली, बोलीचाली, भाषा, संघर्ष, खानपान सबैसँग म परिचित छु, जसले मलाई दर्शकसँग नजिक बनायो ।’ कलाकारको महत्त्वपूर्ण औजार नै अरूको दृष्टिकोणबाट आफूलाई हेर्ने र बुझ्ने क्षमता भएको उनको भनाइ छ । 

कलाकारले कसैको चरित्र अभिनय गर्दा उसलाई जसरी पनि न्याय दिनुपर्ने उनले बताए । ‘कलाकारको भूमिकाले दर्शकलाई आत्मीयता दिन जरुरी छ, हृदयबाटै पात्रको भावना र जीवनशैली प्रकट गर्नुपर्छ,’ उनले भने, ‘चरित्र गर्दा कलाकारले आफ्नो जीवनको केही अंश पनि छोडेको हुन्छ, अभिनय गर्दा प्रवाह गर्ने भावनाले नै दर्शकको मन छुने हो ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully