नेपाली बाल चित्रकथा ‘गुलियो स्याउ’मा आधारित नाटकको वर्ल्ड प्रिमियर मंगोलियामा वान्डरलस्ट फेस्टिभलमा हुँदैछ, जहाँ यो नाटक १९ पटकसम्म मञ्चन गरिनेछ ।
What you should know
काठमाडौँ — चित्र किताबमा पातमा खैरौ रङ लगाइरहेकी बालिकालाई आमाले सोध्छिन्, ‘पात त हरियो हुन्छ होइन र छोरी ?’ जवाफमा बालिकाले उत्तर दिन्छिन्, ‘सुकेको पात त खैरो नै हुन्छ नि आमा !’
स्याउमा हरियो रङ लगाइरहँदा बालिकालाई आमाले सोध्छिन्, ‘स्याउ त रातो हुनुपर्ने हैन र ?’
बालिकाले जवाफ दिन्छिन्, ‘यो नपाकेको स्याउ, क्या आमा ।’
बालबालिका कति विवेकशील र सिर्जनशील हुन्छन् भन्ने प्रसंगसहितको मीठो कोसेली हो– चित्रकथा ‘गुलियो स्याउ’ ।
एक दशकअघि चित्रकथाका रुपमा जन्मिएको ‘गुलियो स्याउ’ (अ स्वीट एप्पल) लाई यसपटक रंगकर्मी केदार श्रेष्ठले नाटकका रुपमा तयार पारेका छन् । केदारले यही नाटकले तय गरेको नयाँ यात्राबारे हौसिँदै सुनाए, ‘हामी यसलाई विश्व रंगमञ्चमा लैजाँदैछौँ ।’
मंगोलियामा वर्ल्ड प्रिमियर हुन लागेको यो नाटकको टोली शुक्रबारै नेपालबाट हिँडिसकेको छ । थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल), थिएटर मल र आसितेज नेपालको संयुक्त निर्माणमा तयार भएको यस नाटकले तय गरेको यात्राबारे खुसी हुँदै केदार भन्छन्, ‘हाम्रो लागि यो गर्वको कुरा हो ।’
मंगोलियामा आयोजना हुने ‘वान्डरलस्ट फेस्टिभल’ अन्तर्गत त्यहाँका विभिन्न सहरमा नाटकको १९ वटा मञ्चन तय गरिएको छ ।
लेखक तथा निर्देशक श्रेष्ठले १० वर्षअघि एउटा बालकथा लेखन कार्यशालामा यो कथा लेखेका थिए ।
रुम टु रिडले ‘बिग बुक’का रूपमा प्रकाशन गरेको यस पुस्तकमा विनिता बुद्धाचार्यले चित्र कोरेकी थिइन् । नेपाली भाषामा मात्रै दुई लाखभन्दा बढी प्रति प्रकाशित भइसकेको यो पुस्तक पाठ्यक्रम विकास केन्द्रले सहयोगी पुस्तकका रूपमासमेत छनोट गरेको छ ।
‘गुलियो स्याउ’ नाटकको एउटा विशिष्ट पक्ष यसको प्रस्तुति शैली हो । यो एक ‘सेमी नन-भर्बल’ (अर्ध-मौखिक) नाटक हो, जसमा संवादहरू भन्दा पनि दृश्यात्मक र सांकेतिक हाउभाउलाई प्राथमिकता दिइएको छ ।
निर्देशक श्रेष्ठका अनुसार, मौखिक संवाद कम र दृश्य भाषा बढी भएकाले यो नाटक जुनसुकै देश र भाषाका बालबालिकाले सहजै बुझ्न र महसुस गर्न सक्छन् । ‘यो आफैंमा विश्वव्यापी कथा हो,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘जुनसुकै देशका बालबालिका र अभिभावकले ‘गुलियो स्याउ’को स्वाद लिन र महसुस गर्न सक्छन् ।’
नेक्स्ट जेनेरेसन कार्यशालामा सहभागिता मंगोलिया भ्रमणकै क्रममा वान्डरलस्ट फेस्टिभल अन्तर्गत आयोजना हुने ‘नेक्स्ट जेनेरेसन कार्यशाला’ मा आसितेज नेपालका तर्फबाट रङ्गकर्मी प्रदिप ढुंगाना सहभागी हुँदैछन् ।
ढुंगाना नाटक टोलीसँगै मंगोलिया प्रस्थान गर्नेछन् । यस कार्यशालाले नयाँ पुस्ताका रंगकर्मीहरूबीच अनुभव साटासाट गर्न र नेपाली रंगमञ्चको सीपलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
मंगोलियाको प्रिमियरपछि यस नाटकले थप अन्तर्राष्ट्रिय यात्रा गर्ने तयारी गरेको छ । थिएटर सेन्टर फर चिल्ड्रेनका अनुसार यो नाटकले बालबालिका र अभिभावकबीचको सम्बन्धलाई बालदृष्टिकोणबाट प्रस्तुत गर्छ । ‘सानो र सरल कथाले विश्वव्यापी आकार लिएको देख्दा खुसी लागेको छ । अहिले नाटकको रूपमा ‘गुलियो स्याउ’ले नयाँ जीवन लिएको छ,’ श्रेष्ठ भन्छन्, ‘मलाई विश्वास छ, कुनै दिन यो एनिमेटेड फिल्म बन्नेछ र यसले संसारभरका बालबालिकामा खुसी थप्न सघाउनेछ ।’
नाटकमा मनिष व्याञ्जु, इलिना नकर्मी र सुशीला लक्ष्मी महर्जनले अभिनय गरेका छन् । संगीत संयोजन देव न्यौपानेको रहेको छ भने प्रोप्स निर्माणमा जेनी सुनुवार र इलिना नकर्मी सक्रिय छन् ।
नाटकको पोस्टर कलाकार अनामिकाले तयार पारेकी हुन् । नेपालमा बाल–रंगमञ्चको क्षेत्रमा निरन्तर क्रियाशील थिएटर मल र टीसीसी नेपालले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा नेपाली नाटक पुर्याउँदै आएका छन् ।
