स्लोगानमै सिमित निफ

महोत्सवमा ४० देशका ८८ फिल्म देखाएका थिए ।

चैत्र २४, २०८२

रीना मोक्तान

Don't limit yourself to slogans.

What you should know

काठमाडौँ — ९ वर्षदेखि आयोजना हुँदै आएको 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ)को स्लोगान निकै मिठो छ-विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ।

बिडम्बना, विश्वभरका कथाको उत्सव मनाउने स्लोगान गाइरहे पनि हरेक वर्ष विश्वका बलिया फिल्म देखाउन यो महोत्सव चुक्दै आएको छ । अन्तर्राष्ट्रिय फिल्मका नाममा विदेशी भाषाका फिल्म भेला गराउँदै देखाइरहे पनि यो महोत्सवले विश्वमा आफूलाई अब्बल ठहराएका फिल्मलाई आफूतर्फ अझै आकर्षित गराउन सकेको छैन । 

अन्तर्राष्ट्रिय मात्रै होइन राष्ट्रिय फिल्मलाई समेत महोत्सवले आकर्षित गरेको देखिन्न । उदाहरणका लागि ९औं संस्करणमा निर्देशक समुन्द्र भट्टद्वारा निर्देशित 'गुन्योचोलो : द ड्रेस'ले 'राष्ट्रिय चलचित्र पुरस्कार' जित्यो । यही फिल्मबाट निर्देशक भट्टले उत्कृष्ट निर्देशकको अवार्ड उचालिन् भने अभिनेतातर्फ नाजिर हुसेनको पोल्टामा सर्वोत्कृष्ट अभिनेताको अवार्ड पर्‍यो ।

'कोशेढुङ्गा'बाट अभिनेत्री सुरक्षा पन्त सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । यसको अर्थ यो विधाका लागि यी फिल्म कम प्रतिस्पर्धात्मक थिए भन्ने होइन । तर, राष्ट्रिय भनिसकेपछि यो विधामा अन्य नेपाली फिल्मलाई पनि त समेट्न सकिन्थ्यो । जस्तै, नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'लाई महोत्सवले आकर्षित गरेको देखिन्न । 'गाउँ आएको बाटो' प्रतिनिधि मात्रै हो । खासमा विश्वभरका कथाहरुको उत्सव मनाउने महोत्सवले देशकै फिल्मलाई उसैगरी 'सेलिब्रेट' गर्नुपर्ने हो । यी फिल्मकर्मी कहाँ पुगेर महोत्सवमा फिल्म राख्नुपर्ने हो ।

भेनिसमा प्रिमियर भइ भक्तपुरमा पहिलोपटक भएको 'भक्तपुर फिल्म महोत्सव'मा समेत सरिक भएको सुब्बाको यो फिल्म निफतर्फ किन आकर्षित भएन ? विश्व प्रतिष्ठित फिल्म महोत्सवहरू घुमेको राष्ट्रिय फिल्मलाई समेत महोत्सवमा आकर्षित गर्न नसक्नु त निफको अस्तित्त्वमाथिकै प्रश्न पनि हो । आखिर बक्स अफिसमा राम्रो उपस्थिति जनाएका, समीक्षकबाट राम्रो समीक्षा पाएका फिल्मले किन अझै निफलाई विश्वास गर्न नसकेको हो ? अथवा निफले नै त्यो गरिमा गुमाएको पो हो कि ? समीक्षा आवश्यक देखिन्छ । 

यसपटक अन्तर्राष्ट्रियतर्फ दीपक रौनियार निर्देशित 'राजागंज : पूजा सर'ले अन्तर्राष्ट्रिय पुरस्कार पायो । खासमा अन्तर्राष्ट्रिय विधामा राष्ट्रिय फिल्मले प्रतिस्पर्धा गर्न नपाउने भन्ने चाहिँ होइन । तर, बर्लिन, कान्स, भेनिसमा देखाइएका शसक्त अन्तर्राष्ट्रिय फिल्मलाई महोत्सवमा ल्याउन नसकेपछि नतिजा कसको पोल्टामा पर्ला ? त्यसैले शीर्षकमा मात्रै होइन अन्तर्राष्ट्रिय फिल्महरू बटुल्नमै पनि निफले अब मिहिनेत गर्नुपर्ने देखिन्छ ।

उदाहरणका लागि 'राजागंज'ले भेनिसमा विश्वका शसक्त फिल्महरुसँग प्रतिस्पर्धा गर्‍यो । तर, घरेलु मैदानमै भने 'राजागंज' कमजोर फिल्महरूसँग प्रतिस्पर्धा गर्न पुगेको नतिजाले देखाउँछ । खासमा यो विधामा विश्वका शक्तिशाली भाष्य बोकेका फिल्म भेला गराएर पो प्रतिस्पर्धा गराउनु पर्थ्यो । ह्‍यासट्याग 'सेलिब्रेटिङ न्यारेटिभ्स'ले समात्न खोजेको भाष्य पनि त यही होला ? राष्ट्रिय फिल्मलाई समेत आकर्षित गर्न नसकेको यो विधाले अन्तर्राष्ट्रिय फिल्मकर्मीको ध्यान कहिले तान्ने हो ? प्रतिक्षाको विषय बनेको छ । 

अन्तर्राष्ट्रिय छाडौं, राष्ट्रियतर्फ नै फर्कौं । खासमा महोत्सव भनेको फिल्महरूको उत्सव नै हो । फिल्मसँग जोडिने फरक विधा, प्रतिभा र भाष्यहरूको मेला नै हो-महोत्सव । तर, यो मेलामा अझै पनि राष्ट्रिय कलाकारको भेला देखिन मुश्किल पर्छ । अवार्ड जित्ने निश्चित भइसकेका कलाकारबाहेकका स्टारहरूको जमघट महोत्सवमा देखिन्न । यस्तो महोत्सवले नेपाली स्टारहरूलाई पनि आकर्षित गराउनु पर्ने हो । विश्व प्रतिष्ठित महोत्सवहरूमा रेड कार्पेटमा हिँड्ने स्टारहरूको लर्को हुन्छ । गत वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अस्कर विजेता बोङजोन होदेखि काइली जीनर, रोबर्ट प्याटिन्सन, टिमोथी स्यामलेट, टिल्डा स्वीन्टनलगायतका चर्चित स्टारले रेड कार्पेट नापे । यो वर्ष पनि थुप्रै ठूला स्टार बर्लिनालेको रेड कार्पेटमा देखिए । तर, नेपालका फिल्म महोत्सवमा चर्चित स्टारलाई लोभ्याउन त्यही रेड कार्पेटकै पनि अभाव देखिन्छ ।

खासमा यहाँ रेड कार्पेटभन्दा पनि भिजनकै खडेरी हो । दयाहाङ राईदेखि मिरुना मगर, अनमोल केसी, स्वस्तिमा खड्का अनि विपिन कार्कीहरूलाई निफमा आउन तँछाड-मछाड गरेको देख्ने भिजनको अभाव । खासमा यी कलाकारको उपस्थिति पनि महोत्सवका लागि उत्सव हो । 

हुन त यो वर्ष भारतीय निर्देशक रमेश सिप्पी निफको केन्द्रीय आकर्षण बने । उनको उपस्थितिसँगै निफमा 'शोले' चर्चा चल्यो । उनी महोत्सवकै लागि भारतबाट काठमाडौं आइपुगे । अभिनेता राजेश हमालसँग शोलेको विषयमा लामै चर्चा गरे । भारतीय फिल्म उद्योगमा कसरी 'शोले' आइकनिक बन्यो, रमेश जहाँ पुग्छन् त्यो चर्चा चल्छ नै । तर, प्रश्न यहाँ उनको उपलब्धि र फिल्ममेकिङको मात्रै होइन । शोले निर्देशकको सहभागिता र उनको विज्ञता अनि छलफलले नेपाली फिल्मलाई के दियो ? भन्ने हो । के उनको आगमन छिमेकी राष्ट्र भारतको फिल्म उद्योगसँग नेपाली फिल्मलाई जोड्न साँघु बन्ला ?  अथवा यो सहभागिताले के साँचो अर्थमा नेपाल र भारतीय फिल्मबीच सहकार्यको कुनै विकल्प भेटिएला ?  

सतहमै बहस -संवेदनशिलताको कमी

निफले हरेक वर्ष फरक-फरक शीर्षकमा बहस आयोजना गर्छ । यो वर्ष पनि निकै महत्त्वपूर्ण विषयहरूमा छलफल आयोजना गर्‍यो । पहिलो रङ्गिन फिल्म कुमारीको अलिखित कथा वास्तवमै आवश्यक छलफल थियो । हमाल र सिप्पीबीचको सिनेमा संवाद फिल्मकर्मीका लागि खास थियो । अन्य विषयहरू पनि उतिकै रोचक र चाखलाग्दा थिए । तर, ती बहस केवल गर्नकै लागि मात्रै गरिए झैं देखिन्थे । त्यसले अन्त त के ? फिल्म क्षेत्रमै पनि खास अर्थमा बहस सिर्जना गराएन । सानो समूहमा गरिएको यस्ता बहसले वास्तविक फिल्म निर्माणदेखि प्रदर्शन र वितरणकै पक्षलाई छुन नसक्नुले ती बहसकै औचित्यमाथि पनि प्रश्न उठाइदिन्छ । खासमा बहसहरुले त नयाँ विकल्प र समाधानको बाटो देखाउनुपर्छ । एउटा कोठामा गरिएको बहसको तरङ्ग सम्बन्धित क्षेत्र र निकायमा सुनिनुपर्छ । तर, हाम्रा बहसहरू कार्यक्रमको सूची लम्ब्याउनकै लागि गरिएको जस्तो देखिन्छ । ५६ वर्षदेखि चलचित्र ऐनमाथि किन काम हुन सकेन ? सेन्सरसिपको कडाई अनि फिल्मक्षेत्रको विद्यमान समस्या सम्बोधन गरे पो यस्ता बहसले फिल्मकर्मीको ध्यान तान्थ्यो त । तर, यहाँ न बहसले ध्यान तान्यो, न बहसले बहस निर्माण गर्‍यो ! निफको यो वर्षको बहस हेर्दा थाहा हुन्छ, फिल्म क्षेत्रको बहस एकातिर छ -निफ अर्कोतिर । 

यद्यपि, यो वर्षदेखि रसियन कल्चरसँग सहकार्य गर्दै निफले आफूलाई बृहत्तर  बनाउने कोसिस गरेको देखिन्छ । निफअन्तर्गतकै रसियन फिल्म डेज यही महोत्सवमा उद्‍घाटन भयो । नेपाल र रुस सम्बन्धको ७० वर्षको अवसरमा यस किसिमको सहकार्य गर्नु महोत्सवले थालेको सकरात्मक पाटो हो । यो सहकार्यलाई निरन्तरता दिनु निफको चुनौती पनि हो ।

रसियन मात्रै होइन यो वर्षदेखि चीनसँग मिलेर निफले 'सिजाङ पानोरामा' नै सुरु गर्‍यो । प्रतिस्पर्धा बाहिरको विशेष प्रदर्शनका रुपमा यो कार्यक्रम सुरु गरिहाले पनि यसमा महोत्सव निर्देशक केपी पाठक सचेत नभएको देखिन्छ । गत वर्ष काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव 'किम्फ'ले 'सिजाङ पानोरामा'लाई महोत्सवको महत्त्वपूर्ण कार्यक्रमका रुपमा समेट्दा थुप्रै फिल्मकर्मीले यसको विरोध गरे । विशेष त तिब्बतियनहरूले महोत्सवबाट यो कार्यक्रम नै हटाउनुपर्ने भन्दै विरोध गरे । हस्ताक्षर क्याम्पियन नै चलाए ।

निफमा पनि विरोधका प्रतिध्वनी नसुनिएका होइनन् । तर, यस्ता फरक आवाजहरूमा, विरोधहरूमा मौन रहनु घातक विषय हो, असंवेदनशिल अभ्यास हो । संवेदनशिलता नबुझेर निर्देशक पाठकले यो कार्यक्रमलाई ह्वात्तै यता तानेको देखिन्छ । तर, यही कार्यक्रमलाई पनि कसैको चित्त नदुखाउने किसिमले डिजाइन गर्न सकिन्थ्यो होला । मन दुखाएकाहरूप्रति जिम्मेवार बन्न सकिन्थ्यो होला, जवाफदेही बन्न सकिन्थ्यो होला । आखिर कलाले फुटाउने होइन, जुटाउने नै हो । कसैको पक्ष/विपक्षमा उभिनु भन्दा निष्पक्ष बन्नु महोत्सवको पहिचान नै हो । कारण कला आफैमा निष्पक्ष हो ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully