‘रोइला’ फैलाउने शिरीष

शिरीष देवकोटाको ‘रोइला’ गीतले गाउँठाउँको कला, संस्कृतिलाई संरक्षण गर्दै नेपाली संगीतमा विशेष योगदान पुर्‍याएको छ । उनले गाएको ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा...’ नसुन्‍ने कमै होलान् ।

चैत्र १९, २०८२

माधव अर्याल

The leader who spreads 'Roila'

What you should know

पाल्पा — ढुक्कै मन गरी बसेँ अन्त नजर लाइनँ

६ महिनामा भेट हुँदा नि मिठो बचन पाइनँ

हे यही चाल होला भन्या भा

यही चाल होला भन्या भा

यही चाल होला भन्या भा

म त आउने थिइनँ, यही चाल होला भन्या भा...

यो टुक्काको रोइला (खेली) गीत नसुन्ने खासै कोही भेटिन्न । गायक शिरीष देवकोटाको यो गीतले २० वर्षअघि नेपाली सांगीतिक बजार राम्रै पिटेको थियो । त्यसबेला मुलुकमा संकटकाल थियो । तर उनलाई भने यही गीतले खुसी दिएको थियो । लोकसंगीतको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउने अवसर यही गीतमार्फत शिरीषले पाएका थिए ।

‘त्यसबेलामा भर्खरको युवा थिएँ,’ उनले, ‘तर मलाई गीत संगीतले धेरै नै मोहित बनाइसकेको थियो ।’ उनको रोइला गीतमा त्यसबेलाकी चर्चित गायिक बीमाकुमारी दुराले साथ दिएकी थिइन् । 

यसले पनि उनलाई थप हौसला मिल्यो । पञ्चेबाजाको गीत ‘ए’ साइडमा थियो । तर ‘बी’ साइडको रोइलाले बजार राम्रो लियो । त्यसले शिरीषको सांगीतिक माहोल नै फरक बनायो । हुन त रोइला नेपाली गीत संगीतको क्षेत्रमा त्यसअघि नगाइएको होइन । रेडियो नेपालमा पनि थुप्रै रोइला गीत रेकर्डिङ भएका पनि हुन् । धेरै सर्जकले रोइला गीत गाएको इतिहास पनि छ । तर रेडियो नेपालमा रोइला गीत बज्ने बेलामा भनिन्थ्यो, ‘तर रोइला नभनेर, अब सुन्नुहोस् ...ले गाएको लोकगीत’ । यसलाई २०६१ सालमा एल्बममै रोइला (खेली) भनेर निकाल्ने इतिहास शिरीषले नै रचेका हुन् । 

विशेषगरी स्वस्थानीको महिना, रुद्री, एकाह, सप्ताह वा अन्य पूजाआजामा साविकका लुम्बिनी, गण्डकी, धवलागिरीमा घन्किने भाका रोइला नै हुन्थ्यो । शिरीषले एल्बममा ल्याएको भाकालाई खेली, भजन पनि भन्ने गरिन्थ्यो । बजारमा नयाँ भाका आएर होला त्यसबेला देवकोटाको गीत एकलौटी जस्तै बज्ने गरेको थियो । भर्खर खुलेका एफएम रेडियोहरूले बजाउन थालेपछि उनका गीत अझ चर्चित हुन थाले । 

२०४२ साउन २ मा जन्मिएका शिरीष सानोमै खैँजडी, मजुराप्रति शौखिन थिए । पूजाआजा, स्वस्थानीमा जाँदा होस् वा विद्यालयमा उनको  रुचि गाउने, बजाउने नै थियो । ‘विद्यालयका प्रतियोगिता होस् वा गाउँका पूजाआजामा गीत गाइहाल्न मन लाग्थ्यो,’ पढाइका क्रममा कक्षामा सधैँ प्रथम हुने उनले भने, ‘पढाइ र गीत संगीत दुवै मेरो रूचिकै विषय थिए ।’ आमा टुल्कादेवी पनि गाउँकी टाठीबाठी सर्जक नै भएकाले उनलाई थप हौसला मिलेको थियो ।

जन्मघर बगनासकाली गाउँपालिका–५, दलर्मडाँडाबाट काठमाडौं विज्ञान पढ्न २०५८ सालमा पुगेका थिए शिरीष । त्यसबेला आफन्तसँगको संगतले गायन क्षेत्रमा जाने रहर जाग्यो । शिरीषलाई सानैदेखि गायनमा रूचि भएर त्यसको रहर जागेकै थियो । २०५९ सालमा उनले पहिलोपल्ट ‘क्याम्पस बन्दमा, मायाको चक्करले पार्‍यो फन्दामा...’ लोकदोहोरी एल्बम ल्याए । त्यसबेला लोकगायक भगवान भण्डारी, लक्ष्मी न्यौपानेले, स्व. केआर लेकालीको सहयोगमा उनले एल्बम निकालेका हुन् ।

The leader who spreads 'Roila'

‘आमा र आफन्तको हौसलाले नै पहिलो एल्बम निकाल्न सफल भएँ,’ उनले भने, ‘त्यसले मलाई थप हौसला नै दियो किन भने सबैको सहयोगले कुनै लगानी नगरी एल्बम निस्किएको थियो ।’ विज्ञान पढ्न गएका उनी नपढी पुनः गाउँ फर्के । तर घरका अभिभावकसँग पढाइलाई निरन्तरता दिने बाचा गरे । त्यसपछि गाउँबाटै प्लस टू सके । लोकगायनसँगै उनले स्नातकोत्तरसमेत उत्तीर्ण गरे ।

गाउँका पूजाआजामा गाइने खेलीलाई नै रोइला गीत निकाल्ने योजना बन्यो । २०६१ सालमा पहिलो पटक रोइला गाउने योजना बन्यो । त्यसबेलामा गायिका देवी घर्तीले साथ दिइन् । यो उनको दोस्रो एल्बम थियो । काठमाडौं आउनेजाने क्रममा पहिलो एल्बमले गर्दा दोस्रो निकाल्न सहज भयो । त्यसबेला क्यासेटको ‘बी’ साइडको रोइला गीतले पुनः चर्चामा ल्यायो । २०६५ सालसम्म आइपुग्दा उनको रोइलाले देश, विदेशमा चर्चा कमायो । ‘नजरैको भर’ ‘करुवामा पानी’ ले थप चर्चा कमायो । 

त्यसबेला ‘धर्मकर्म छोडी मायाकै नाम जपियो, झन् पिरलो थपियो...,’ ‘तिम्रै बाटो हेर्दा ढल्किसक्यो जोवन सम्झी रुन्छ यो मन...’ टुक्का रहेको रोइलाले समाजमा चर्चा मात्र कमाएन, शिरीषलाई चिनाउने माध्यमसमेत बन्यो । 

कतिपय टुक्का त आमाले नै लेखिदिन्थिन् शिरीषलाई । आमाले लेखिदिएको गीतको टुक्का ‘रुमाल मैलो देखी, धोइदिन्थ्यौ नि खोलीमा, गयौ रातो डोलीमा...’ सधैँ सम्झने शिरीष बताउँछन् । उनले धेरै गीतमा आमाका टुक्का राखेका छन् । आफ्ना गीतहरू सफल हुनुमा आमा र गाउँघरलाई नै मुख्य श्रेय दिन्छन् उनी । ‘म सधैं समाजप्रति उत्तरदायी बन्ने प्रयासमा छु,’ उनले भने, ‘अहिले पनि जहाँ जान्छु त्यसको अध्ययन गर्ने बानी परेको छ ।’

रोइलामा गहिरो साहित्य लुकेको हुन्छ । हेर्दा थोरै टुक्का भए पनि व्याख्या गर्न सहज हुन्छ । अझ गज्जब त के भने रोइला गीतमा अन्त्य, अनुप्रास पनि मिल्नै पर्दैन । रोइला गीतका टुक्कामा दुई वा तीन र पछाडिको मात्र अनुप्रास मिलेको हुन्छ । तर पनि भाकाले गर्दा लय, भाका मन पराउँछन् । रोइलामा मात्र होइन, लोकगीतमा पनि उनको दख्खल राम्रै छ । देवकोटाले रोइला, लोकगीत मात्र होइन, राष्ट्रभावका गीत पनि गाएका छन् । जसले गर्दा बजारमा उनलाई बिक्न सहज भयो । मेला, महोत्सव, पर्वमा आयोजना गरिने कार्यक्रम देश र विदेशमा उनलाई बोलाउने गर्छन् । 

शिरीषले गीत निकाल्न सहयोग गर्ने म्युजिक कम्पनीबाट धेरै पैसा बुझेका छैनन् । तर उनको करियर बनाउन भने तिनै म्युजिक कम्पनी र रोइला गीतले मुख्य भूमिका खेले ।  ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘दुर्गा हौ कि भवानी, मान्छे सानीसानी बढ्दै आको जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, मया लाउन मिल्छ र’ जस्ता रोइला गीतले शिरीषलाई अझ माथि उठायो । यीबाहेक पनि ‘अञ्जुली’, ‘बैना हजुर’, ‘छोरो अमेरिका छ’, ‘कहाँ हो तिम्रो मावल’, ‘बोलिदेउ आधार’ लगायतका गीत पनि चर्चित नै भए । ‘मैले वर्षमा एउटा वा दुई वटा मात्र गीत निकाल्ने गर्थे,’ उनले भने, ‘कतिपयले धेरै गीत निकाल्ने सुझाव पनि दिन्छन् ।’

उनले झन्डै ८० वटा जति गीत बजारमा ल्याएका छन् । अन्य सर्जकले लेखेका गीतमा आवाज पनि दिए । आफैले रचेका गीतमा आवाज दिने र रमाउने उनको बानी छ । ‘अन्य सर्जकले रचिएका गीतमा आवाज दिएकै छैन त भन्दिनँ,’ उनले भने, ‘तर जति माग हुन्थ्यो त्यसअनुसार गाउन स्वीकार गरिनँ । तर केही सर्जकका गीत भने गाएको छु ।’ 

शिरीष आउने माघसम्म २० वर्षअघिको ‘खरबारीमा जान्छु...’ रोइला गीतको 'रिमेक' गर्ने योजनामा छन् । आगामी दिनमा गीत, संगीतमै रमाउने योजना रहेको उनले बताए । पाल्पाकै गाउँमा धेरै भाका छन् । फागु, कौरा, झाम्रे, बालन, सोरठी (ठूलो नाच) घाँटुमा पनि रोइला (खेली) हुन्छ ।

तर यसको अध्ययन गर्ने भेटिँदैन । यस्ता विषयमा खोज, अनुसन्धान गर्न सकियो भने आफ्नो गाउँठाउँको कला, संस्कृति, लय, भाका जोगाउन सकिने शिरीषको बुझाइ छ । स्थानीय तहले गाउँका भाका जोगाउन सहयोग गर्नुपर्ने उनको सुझाव छ । काठमाडौं बुढानीलकण्ठमा बसाइँ सरेका उनी पाल्पामै आएर जन्मघरमा ‘टिपिकल’ घर बनाएर राख्ने योजनामा छन् । 

The leader who spreads 'Roila'

शिरीषले २०६४ सालतिर कान्तिपुर दैनिकमा छापिएको समाचारले मन छोएको विषयवस्तु धेरैलाई सुनाउँछन् । त्यही समाचारलाई आधार बनाएर नवलपरासी पश्चिम सुस्तामा सीमाना मिचिएको विषयलाई लिएर राष्ट्रभक्ति गीत बनाएका थिए । 'सहिदको रगत...' बोलको गीतका लागि त्यही समाचारका आधारमा सुस्तामा सुटिङ गर्न पुगे । सुटिङको पूरै काम गर्न नपाएको तितो अनुभव उनीसँग छ । ‘म टिम लिएर सुटिङ गर्न सुस्ता पुगेँ,’ उनले भने, ‘आधा जति सुटिङ सकियो तर पूरै काम गर्न सकिएन ।’

'सुस्ता बचाऔँ' आभियानका अभियन्ता गोपाल गुरुङसँगगको सहयोगले केही सुटिङ भए पनि पूरा हुन नसकेको तितो अनुभव सुनाए । सीमानामा पुग्दा भारतीय पक्षबाट अवरोध भएपछि कामै नसकी फर्केको तितो अनुभव बिर्सन नसक्ने शिरीष बताउँछन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully