महोत्सवमा ४० देशबाट छानिएका ८८ फिल्म देखाइँदैछ ।
काठमाडौँ — इरानको ‘माइ डटर हेयर’ फिल्म देखाउँदै काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को ९औं सँस्करण सुरु भएको छ ।
आज सुरु भएको महोत्सव ५ दिनसम्म आयोजना हुनेछ । ४० देशबाट छानिएका ८८ फिल्म महोत्सवमा देखाइँदैछ । महोत्सवमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रम पनि गरिनेछ ।
महोत्सवको उद्घाटन कार्यक्रममा भारतीय निर्देशक रमेश सिप्पीलगायत धेरै देशलाई प्रतिनिधि गर्ने अतिथि उपस्थित थिए । उपस्थित दर्शक र अतिथिलाई स्वागत गर्दै अध्यक्ष केपी पाठकले युद्धले निम्त्याएको विषम परिस्थितिबीच कति पाहुना नेपाल आउन नसकेको जनाए । ‘अन्तर्राष्ट्रिय रुपमा जुन समस्याका कारण हवाई उडान सकेको छैन, हाम्रा कति पाहुना यही कारणले पनि महोत्सवमा आउन सक्नु भएन । तर, जसले यो समस्याका बीच पनि यहाँसम्म आइदिनु भयो, यहाँहरुलाई स्वागत छ,’ अध्यक्ष पाठकले भने ।
अबको ५ दिन काठमाडौं ‘कथाहरू’को गाउँ बन्ने समेत उनले घोषणा गरे । ‘अबको ५ दिन काठमाडौं कथाहरूको ग्लोबल भिलेज हुनेछ,’ पाठकले भने ।
यो वर्ष ‘निफ’ले ‘फ्यूचर फरवार्ड’ थिम समाएको छ । जसअन्तर्गत युवा प्रतिभालाई प्रोत्साह गर्न ‘रिल’ प्रतिस्पर्धा पनि आयोजना गरिएको थियो । प्रतिस्पर्धामा आर्यन कुमार, सजिल बस्नेत र अनुग्रह घलेले क्रमश: तेस्रो, दोस्रो र पहिलो बन्दै नगद ५, १० अनि १५ हजार रुपैयाँसहित उपहार प्राप्त गरे ।
