'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' आयोजना हुँदै, ६ प्रोजेक्टले पाउनेछन् अन्तर्राष्ट्रिय मेन्टरसिप र  अवार्ड

फिक्सन सर्ट फिल्मका लागि डिजाइन गरिएको ल्याबमा सहभागी निर्देशक र निर्माताले अन्तर्राष्ट्रिय मेन्टरबाट प्रत्यक्ष प्रशिक्षण र आकर्षक अवार्ड पाउनेछन् ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

'Short Film Development Lab' being organized, 6 projects will receive international mentorship and awards

काठमाडौँ — नेपाली सर्ट फिल्मलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' आयोजना हुने भएको छ ।

'चलचित्र ल्याब' र काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सहकार्यमा आगामी जेठ ७ देखि ११ गतेसम्म ५ दिने सघन कार्यशाला सञ्चालन हुन लागेको चलचित्र ल्याबका संस्थापक प्रविण कुमार रावतले बताए ।  

स्क्रिप्टको तहमा रहेका १० देखि २५ मिनेटसम्मका 'फिक्सन' सर्ट फिल्मका लागि यो ल्याब एउटा अवसरको रुपमा रहेको उनको भनाइ छ । ल्याबमा सहभागी हुन चाहने मेकरहरूका लागि चैत्र ३० सम्म आवेदन दिने म्याद तोकिएको छ ।

ल्याबका लागि देशभरबाट अधिकतम ६ वटा उत्कृष्ट प्रोजेक्ट मात्र छनोट गरिनेछ । छानिएका प्रोजेक्टका निर्देशक र निर्माताले नेपाली तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ मेन्टरहरूबाट प्रत्यक्ष प्रशिक्षण पाउनेछन् । मेन्टरहरूले स्क्रिप्टलाई थप परिष्कृत बनाउन, निर्देशकीय दृष्टिकोण प्रस्ट पार्न र अन्तर्राष्ट्रिय बजारका लागि 'पिच तथा पिच डेक' तयार गर्न सघाउनेछन् ।

५ दिनको सिकाइपछि सहभागीहरूले किम्फ महोत्सवका दौरान फिल्म उद्योगका प्रतिष्ठित व्यक्तिहरू, लगानीकर्ता  र वितरकहरूका सामुन्ने आफ्नो प्रोजेक्ट 'पिच' गर्ने मौका पाउनेछन् । यसपटकको ल्याबमा सहभागी हुने उत्कृष्ट प्रोजेक्टहरूका लागि आकर्षक अवार्डको व्यवस्था गरिएको छ । उत्कृष्ट प्रोजेक्टलाई नगद राशि प्रदान गरिने जनाइको छ, थप अवार्डमा फिल्मका लागि क्यामेरा, लाइट लगायतका सुटिङ सामग्री  र सम्पादन, रङ संयोजन जस्ता पोस्ट-प्रोडक्सन सेवाहरू नि:शुल्क उपलब्ध गराइनेछ ।

फिल्म बनेपछि त्यसलाई अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा पठाउन वितरण रणनीतिमा समेत सहयोग गरिनेछ। यो ल्याबमा सहभागी हुन केही प्राविधिक मापदण्डहरू पालना गर्नुपर्ने स्टोरी ल्याबका संस्थापक सुशान्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिने प्रोजेक्ट अनिवार्य रूपमा 'नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय' मा दर्ता भएको हुनुपर्छ । ‘यसो गर्दा मेकरको सिर्जना सुरक्षित हुने र व्यावसायिक मेकिङको जग बलियो हुनेछ,’ उनले भने । 

ल्याबका अर्का संस्थापक प्रविण कुमार रावतका अनुसार, नेपाली युवा फिल्मकर्मीमा कथा भन्ने अद्भुत क्षमता भए पनि त्यसलाई व्यावसायिक ढाँचामा ढाल्न यो ल्याबले पुलको काम गर्नेछ । ‘हाम्रो लक्ष्य भनेकै नेपाली सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय मेन्टरहरूको सहयोगमा विश्वस्तरीय बनाउनु हो,’ उनले भने । 

किम्फकी निर्देशक रम्यता लिम्बुले चलचित्र ल्याबसँगको सहकार्यले नयाँ पुस्तालाई अघि बढ्न प्रेरित गर्ने बताइन् । 'हामी स्वतन्त्र युवा नेपाली चलचित्रकर्मी र फिल्म उद्योगका निर्माताहरूबीच एउटा मजबुत पुल बनाउन चाहन्छौँ । चलचित्र ल्याबसँगको यो साझेदारीले विशेषगरी 'न्यारेटिभ सिनेमा' को नयाँ पुस्तालाई अघि बढ्न एउटा उत्प्रेरकको भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ,' उनले भनिन् ।

ल्याबमा एक निर्देशक र एक निर्माता अनिवार्य रूपमा सहभागी हुनुपर्ने प्रावधान छ । छनोटमा परेका प्रोजेक्टको नतिजा वैशाख १६ (अप्रिल २८) मा सार्वजनिक गरिने बताइएको छ ।

सहभागी हुन चाहनेले अनलाइन फारममार्फत आफ्ना अघिल्ला काम, पटकथा र अन्य आवश्यक कागजात बुझाउनुपर्नेछ ।

कान्तिपुर

Link copied successfully