अर्केस्ट्रासहित एकल साँझमा गुञ्जँदै छन् दीपक खरेल

उनले १७ गीत प्रस्तुत गर्नेछन्, जहाँ नर्वेका ४ जना कलाकारसहित ५२ वाद्यवादक तथा १६ जना युवा तथा बालबालिकाको कोरस रहनेछ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Deepak Kharel is resonating in a solo evening with an orchestra.

What you should know

काठमाडौँ — नेपाली सुगम संगीतका सर्जक दीपक खरेलको पहिलो बृहत् अर्केस्ट्रासहितको एकल साँझ 'इकोज अफ इटरनिटी' चैत्र २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।

कार्यक्रममा खरेलले आफ्ना कालजयी ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘यो कर्मभूमीको आँगनमा’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरूँ कि मिठो भूल’ र ‘बिहानीको सिरेटोमा’सहित १७ गीत प्रस्तुत गर्नेछन् ।

यस विशेष सांगीतिक साँझमा नर्वेका ४ जना कलाकारसहित ५२ वाद्यवादक तथा १६ जना युवा तथा बालबालिकाको कोरस प्रस्तुति रहने आयोजक संस्था सुधाकर भ्वाइलिन स्कुलले जनाएको छ । कार्यक्रममा ११ वर्षदेखि ७० वर्ष उमेर समूहका संगीतकर्मीको सहभागिता रहने र यसले संगीतको तीन पुस्ताबीचको सांगीतिक सेतु निर्माण गर्ने आयोजकको भनाइ छ ।

'नेपाली सुगम संगीत रुचाउनेहरूका लागि यो कार्यक्रमबाट अविस्मरणीय अनुभव दिनका लागि तयारी गरिरहेको छु । यस खालको अर्केस्ट्रासहितको कार्यक्रमले श्रोताहरूलाई एउटा फरक अनुभव दिनेछ,' गायक खरेलले भने ।

Deepak Kharel is resonating in a solo evening with an orchestra.कार्यक्रमका परिकल्पनाकार सुधाकर वस्तीका अनुसार 'इकोज अफ इटरनिटी' खरेलका कालजयी गीतहरूको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो । 'नेपाली संगीतप्रेमीका लागि एक ऐतिहासिक सांगीतिक अनुभव दिनका लागि बृहत् आर्केस्ट्रासहित कार्यक्रम आयोजन गर्न लागिएको हो,' उनले भने ।

कार्यक्रमका लागि सहयोगी संस्थाकाका रुपमा  काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र अन्नपूर्ण स्कुल अफ अर्केस्ट्रा रहेका छन् । कार्यक्रमको टिकट खल्ती एपमा उपलब्ध हुने आयोजकले जानकारी गराएको छ ।

गायक खरेल नेपाली सुगम संगीतका एक विशिष्ट र कालजयी स्वर हुन् । २०१३ साउन १३ गते काभ्रेमा जन्मिएका खरेलले बाल्यकालदेखि नै संगीतप्रति गहिरो लगाव राख्दै आफ्नो सांगीतिक यात्रा अघि बढाएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर शिक्षा हासिल गरी राष्ट्रसेवामा संलग्न रहँदै २०३४ सालमा ‘मैले रचेको गीत’ बाट औपचारिक गायन यात्रा सुरु गरेका थिए ।

आफ्ना गीतमार्फत उनले राष्ट्रभक्ति, प्रेम, वियोग र मानवीय संवेदनालाई सरल तर गहिरो ढंगले प्रस्तुत गरेका छन् । उनले चार सयभन्दा बढी गीत तथा १४ एल्बममार्फत नेपाली संगीतलाई समृद्ध बनाएका छन् । उनी गोर्खा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार लगायतका सम्मानबाट विभूषित छन् ।

कान्तिपुर

Link copied successfully