निर्देशक जीतू जोसेफद्वारा निर्देशित मलयालम फिल्म ‘दृश्यम ३’ अब अप्रिलको साटो २०२६ मे २१ मा विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ।
काठमाडौँ — दक्षिण भारतीय (मलयालम) सिनेमाका दिग्गज अभिनेता मोहनलालका फिल्मलाई लिएर दर्शकमाझ सधैँ छुट्टै क्रेज देखिने गर्छ ।
लामो समयदेखि प्रशंसकहरू उनको फिल्म 'दृश्यम ३' को पर्खाइमा छन्, जसका अघिल्ला दुई भागले सस्पेन्स थ्रिलर विधालाई नयाँ उचाइ दिएका थिए ।
केही समयअघि 'दृश्यम ३'को प्रदर्शन मिति घोषणा गरिएको भए पनि निर्माण पक्षले अचानक त्यसमा फेरबदल गरेको छ । अब यो फिल्म पूर्वनिर्धारित अप्रिल महिनाको साटो अर्को महिना मात्रै प्रदर्शनमा आउने भएको छ ।
जीतू जोसेफले निर्देशन गरेको यो फिल्म आगामी अप्रिल २ मा रिलिज हुने चर्चा थियो । सोमबार अभिनेता मोहनलालले आफ्नो आधिकारिक एक्स (ट्विट) ह्यान्डलमार्फत प्रदर्शन मिति सरेको जानकारी दिएका हुन् ।
मोहनलालको पोस्ट अनुसार 'दृश्यम ३' अब मे २१, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज हुनेछ । फिल्मको तेस्रो भागमा मर्डर मिस्ट्री र सस्पेन्सको यस्तो पाटो देखाइने दाबी गरिएको छ, जुन अघिल्ला दुई भागमा पनि देख्न पाइएको थिएन । यही कारणले गर्दा पनि फिल्मलाई लिएर ठूलो 'हाइप' सिर्जना भएको छ ।
मलयालम भाषाको 'दृश्यम ३' पछि यसलाई बलिउडमा पनि निर्माण गरिनेछ, जसमा अजय देवगन मुख्य भूमिकामा देखिनेछन् । बलिउड संस्करणको 'दृश्यम ३' भने आगामी अक्टोबर २, २०२६ मा रिलिज हुने तालिका छ ।
'दृश्यम ३' को प्रदर्शन मिति सरेपछि सामाजिक सञ्जालमा विभिन्न तर्क र बहस सुरु भएका छन् ।
धेरै प्रयोगकर्ताहरूले बलिउड सुपरस्टार रणवीर सिंहको पछिल्लो फिल्म 'धुरन्धर : द रिभेन्ज' का कारण मेकरहरूले मिति सारेको दाबी गरेका छन् ।
