इरानी सिनेमाले नेपाली मेकरलाई सिकाएको ‘मौन भाषा’

सेन्सरसिप र युद्धको कठोर अवस्थाबीच इरानी सिनेमाले विश्वमा सफलता हासिल गर्दै नेपाली फिल्मकर्मी र दर्शकहरूलाई जीवनका सूक्ष्म कथामा आकर्षित गरेको छ ।

चैत्र १०, २०८२

समर्पण श्री

Iranian cinema taught Nepali makers the 'silent language'

What you should know

काठमाडौँ — युद्धग्रस्त इरानको आकाशमा अहिले भयका बादल मडारिरहेका छन् । सन् २०२६ फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरान थप अशान्त बन्यो ।

युद्धको जवाफ युद्धले नै दिइरहेको इरानभित्र नागरिकहरू थप गहिरो संकट र अभाव खेपिरहेका छन् । त्यो अभाव र संकटको बाछिटा नेपालभित्र पनि देखिन थालेको छ ।

उसो त इरान भन्नासाथ दशकौँदेखि मानिसहरूको आँखामा युद्धका चित्रहरू कोरिन थाल्छन् । तर, इरानले विश्वलाई युद्धको आवरणमा मात्र कहाँ देखाएको छ र ? इरानकै जमिनमा उब्जिएका उर्वर फिल्महरूले कुनै बेला विश्वलाई नै चकित बनाएका थिए र अहिले पनि इरानी फिल्महरूको प्रभाव र उपस्थिति संसारमा बलियो छ ।

विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्करको ट्रफी उचालेर इरानले विश्व सिनेमामा आफ्नो उचाइलाई थप पुष्टि गरिसकेको छ । इरानका प्रसिद्ध निर्देशक अस्गर फरहादीको ‘अ सेपरेसन’(२०१२) ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्म विधामा पहिलो पटक स्वर्ण प्रतिमा चुमेर मात्रै रोकिएन, फेरि फरहादीले नै सन् २०१७ मा ‘द सेल्सम्यान’मार्फत पुनः दोस्रो ओस्कर जितेर विश्वलाई तरंगित बनाए ।

ओस्कारको यो सफलताअघि नै सन् १९९७ मा अब्बास किरोस्तामीको ‘टेस्ट अफ चेरी’ विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा 'पाल्म डी ओर' जितेर इरानी सिनेमाको वैचारिक र दार्शनिक उचाइलाई प्रमाणित गरिसकेको थियो । कडा सेन्सरसिप र संकटका बाबजुद पनि इरानी सिनेमाले विश्व यात्रामा जुन गति लियो, त्यो अतुलनीय छ ।

नेपालका लागि पाठशाला

इरानी सिनेमाहरू नेपालका ‘न्यु वेभ’ फिल्ममेकरका लागि यस्तो पाठशाला बने, जसले नेपाली फिल्मको क्लिसे र पुरातन शैलीलाई नै ओझेलमा पारिदिन भूमिका खेले । पछिल्लो समय नेपाली फिल्मलाई विश्व बजारसम्म पुर्‍याउने मीन भाम हुन् वा दीपक रौनियार, मीनको ‘कालो पोथी’ र दीपकको ‘सेतो सूर्य’ जस्ता फिल्महरूले इरानी शैली नै पछ्याएका छन् ।

नेपालमा इरानी सिनेमाका दर्शकहरू फिल्म पारखी र मेकरदेखि फिल्म स्कुलका विद्यार्थीसम्म छन् । फिल्म निर्देशक प्रदीप भट्टराईका लागि त इरानी फिल्म विश्व सिनेमाको सागरमा डुबुल्की मार्ने पहिलो कदम बनिदियो । ‘सुरुमा हुर्कँदै गर्दा हामीलाई अलि मारपिट र गीत भएका फिल्महरू हेर्ने बानी थियो । पछि सिनेमा क्षेत्रमा लागेपछि र यो क्षेत्रका मान्छेहरूसँग भेटघाट हुन थालेपछि अलि अफ-बिट र आर्टिस्टिक सिनेमाहरू हेर्नुपर्छ भन्ने चेतना आयो,’ प्रदीप सम्झन्छन् ।

प्रदीपलाई इरानी सिनेमाको लत आख्यानकार अमर न्यौपानेले लगाइदिएका थिए । त्यो २०६० को दशकको अन्त्यतिरको समय थियो । उनले एक दिन माजिद मजिदीको फिल्म ‘बारान’हेरे । एउटा इरानी किशोर र आफ्नो परिवार पाल्न केटाको भेषमा निर्माण क्षेत्रमा कडा श्रम गरिरहेकी अफगान शरणार्थी किशोरीबीचको निःस्वार्थ र मौन प्रेमको कथाले प्रदीपलाई निकै स्पर्श गर्‍यो ।

युद्धको पृष्ठभूमिमा गरिबी बाँचिरहेका पात्रहरूको कम संवाद अनि जीवनजस्तै बगिरहेको यो फिल्मको छाप उनलाई निकै दिनसम्म परिरह्यो । ‘इरानी सिनेमाको विशेषता के हो भने त्यहाँ त्यस्तो ठूला-ठूला घटनाहरू केही हुँदैनन्, तर साना-साना घटनालाई नै एकदमै मर्मस्पर्शी किसिमले देखाइन्छ । इरानी सिनेमाले गर्दा नै हामीले इरान भन्ने देशलाई चिन्न सकेका हौँ,’ प्रदीप भन्छन् ।

त्यहाँको समाजमा राजनीतिक वा सामाजिक रूपमा निषेध गरिएका कुराहरूलाई इरानी सिनेमाले प्रस्टसँग उठाएको लाग्छ प्रदीपलाई । कुनै पनि देशको सिनेमा हेर्दा त्यहाँको तत्कालीन परिस्थिति र त्यो देश कस्तो छ भन्ने बुझ्न पाइन्छ । प्रदीपको बुझाइमा त्यो कुरा इरानी सिनेमामा प्रस्ट हुन्छ । प्रदीपलाई इरानी फिल्म मेकरहरूको कथा भन्ने तरिका र त्यसमा हुने 'डिटेलिङ' बेजोड र कलात्मक लाग्छ । ‘उनीहरूले एउटा सानो रुमाल बुने जस्तै गरी सिनेमालाई यति मसिनो गरी बुन्छन् कि त्यो साँच्चिकै अद्भुत छ,’ उनी भन्छन् ।

आफ्ना फिल्महरूमा पनि प्रदीप कतै न कतै इरानी शैलीको प्रभाव परेको पाउँछन् । फिल्म ‘महापुरुष’को कथा बुन्दा पनि उनले यो शैली पछ्याएको सुनाए । ‘हाम्रो समाजमा एउटा वृद्ध मान्छेलाई जीवनसाथीको आवश्यकता भए पनि समाजले त्यसलाई एक प्रकारले निषेध नै गरेको छ । कानुनमा नभए पनि सामाजिक रूपमा निषेध गरिएको यस्तै विषयलाई हामीले 'महापुरुष' मा देखाएका हौँ । समाजले बोल्न नदिएका यस्ता कुराहरूलाई सिनेमाको माध्यमबाट भन्नुपर्छ भन्ने सोच इरानी सिनेमाबाटै आएको हो,’ प्रदीप थप्छन् । यद्यपि उनी त्यो स्तरको कला र चेतना आफूमा अझै हुन बाँकी रहेको बताउँछन् । ‘तर जीवनका साना-साना कुराहरूलाई सिनेमामा समेट्नुपर्छ भन्ने उनीहरूको दर्शनसँग मेरो सोच अलिअलि मिल्न जान्छ,’ प्रदीप भन्छन्।

प्रदीपलाई इरानी सिनेमाको स्वादमा बानी लगाउने आख्यानकार अमर न्यौपानेसँग पनि बेग्लै अनुभव छन् । उनले २०६७ सालमा इरानी फिल्मबारे पत्तो पाएका थिए । जब उनले पहिलो पटक माजिद मजिदीको 'चिल्ड्रेन अफ हेभन' हेरे, त्यो हेरिरहँदा अमरलाई कुनै सिनेमा हेरिरहेको जस्तो लागेन, बरु इरानको कुनै गाउँमा दुई जना दाजुबहिनीको वास्तविक कथा हेरिरहेको भान भयो । त्यहाँ कुनै अभिनय छैन, उनीहरू केवल बाँचिरहेका छन् ‍। ‘मलाई इरानी सिनेमा 'बाँचिरहेका मान्छेहरूले बाँचिरहेको खिचेको' जस्तो लाग्छ,’ उनी सुनाउँछन्, ‘सानो विषयवस्तु, सूक्ष्म मनोविज्ञान र जस्तो चरित्र छ त्यस्तै किसिमको पात्र लिएर पनि यति सुन्दर ढंगले सिनेमा बनाउन सकिँदो रहेछ भन्ने कुराले धेरै प्रभावित पार्‍यो ।’

अमरलाई माजिद मजिदीका सिनेमाहरू 'क्यामेराले खिचेको उपन्यास' जस्तो लाग्छ, जहाँ साना विषयमा पनि ठूला कुरा भनिएको हुन्छ ।

उनी आफूभित्र ‘द कलर अफ प्याराडाइज’ले बालेको चेतनाको झिल्कोबारे सम्झन्छन् । फिल्ममा एउटा वास्तविक दृष्टिविहीन बालकको कथा छ । यो कथाबाट उनले थाहा पाए कि दृष्टिविहीनहरूको आँखा उनीहरूको १० वटा औँलामा हुन्छ । अमरलाई फिल्मको मुख्य पात्रका ‍औँलाहरूले हावा, प्रकाश, पानी, आकाश र आगोजस्ता पञ्चतत्वसँग कुरा गरिरहेझैँ लाग्यो।

‘फिल्मको अन्त्यमा जब क्यामेराले क्लोजअपमा त्यो बालकको हल्लिरहेको औँला मात्र देखाउँछ, त्यसले ऊ जीवितै छ भन्ने कुरा दर्शकलाई बुझाउँछ, जुन निकै कलात्मक र गहिरो छ,’ अमर भन्छन्, ‘यस्तो सांकेतिक कला र गहिरा कुराहरू मैले माजिद मजिदी, अब्बास किरोस्तामी र अस्गर फरहादी जस्ता निर्देशकका ५०–६० वटा फिल्म हेरेर महसुस गरेँ ।’

इरानी सिनेमालाई नजिकबाट नियालिरहेका ‍अमरलाई के लाग्छ भने फिल्ममा ठूलो बजेट वा प्रविधि नभए पनि एकदमै गहन तरिकाले कथा भन्न सकिने रहेछ । उनलाई इरानी (फारसी) भाषा एकदमै मिठो र लयबद्ध लाग्छ । ‘गाली गर्दा पनि संगीत जस्तो सुनिने त्यो भाषा मानौँ फूल, पानी, हिउँ र सूर्यको प्रकाशले बनेझैँ कोमल सुनिन्छ,’ अमर वर्णन गर्छन् ।

उनलाई इरानी फिल्मको अर्को सुन्दर लाग्ने पक्षचाहिँ उनीहरूले युद्धलाई ठूला शासकको नजरबाट होइन, बरु युद्ध भोगिरहेका सामान्य मान्छे, महिला वा साना बालबालिकाको आँखाबाट देखाउँछन् । ‘युद्ध गराउन कुनै भूमिका नभएका र प्रकृतिसँग बाँचेका तल्लो तहका पात्रमा परेको युद्धको असरलाई उनीहरूले एकदमै मार्मिक ढंगले प्रस्तुत गर्छन्,’ अमर भन्छन् ।

निर्देशक सुजित बिडारीको फिल्म ‘ऐना झ्यालको पुतली’ २०७९ मा रिलिज भएको थियो । त्यतिबेला यो फिल्मले समीक्षक र दर्शकहरूबाट निकै तारिफ बटुल्यो । धेरैले फिल्मको शक्तिलाई इरानी फिल्मको स्वादसँग तुलना गरे । सुजितले भने माजिद मजिदीको ‘चिल्ड्रेन अफ हेभन' बाट आफू प्रभावित भएको कुरा हाकाहाकी खुलाए ।

उनले फिल्म कलेज पढ्दै गर्दा सन् २०११/१२ तिर पहिलो पटक 'चिल्ड्रेन अफ हेभन' हेरेका थिए, जसले उनलाई हलिउडभन्दा बाहिरको विश्व सिनेमा जगत्‌सँग परिचित गराएको थियो । उनका अनुसार यी फिल्महरू 'लार्जर देन लाइफ' भन्दा पनि मानिसको दैनिक जीवन र नैतिकताका कुराहरूमा केन्द्रित हुन्छन् । ‘यस्ता सिनेमाहरूले मलाई हाम्रै समाज, गाउँ र सीमित स्रोत साधनमा पनि आफ्नो कथा भन्न र सिनेमा बनाउन सकिन्छ भन्ने कुरा महसुस गराएको छ,’ सुजित भन्छन् ।

उनलाई 'चिल्ड्रेन अफ हेभन', 'अफसाइड', 'अ सेपरेसन' र 'द सेल्सम्यान' जस्ता फिल्महरू विशेष मन पर्छन् । फरहादीकै 'अ हिरो' फिल्म हेरेपछि उनलाई सही र गलतको नैतिक अन्योलले निकै झकझकाएको थियो ।

फिल्ममेकर मनोजबाबु पन्तलाई लाग्छ, ‘नेपालमा विदेशी सिनेमाको पहुँच बढेसँगै फिल्मका विद्यार्थी र मेकरहरूले इरानी सिनेमाबाट धेरै कुरा सिकेका छन् ।’ जीवनका साना साना, मिनिमल कुराहरू र अनुभवलाई कतिसम्म वास्तविक र सूक्ष्म मानवीय संवेदनामार्फत प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा इरानी सिनेमाले सिकाएको बताउँछन् उनी ।

सिनेमा भन्नेबित्तिकै एउटा निश्चित 'प्रोटागोनिस्ट', 'एन्टागोनिस्ट' र द्वन्द्व हुनैपर्छ भन्ने परम्परागत अवधारणालाई इरानी सिनेमाले तोडिदिएको ठान्छन् मनोज । ‘जीवन जस्तै खालको जीवनको अनुभूति पनि सिनेमामा हेर्न सकिँदो रहेछ । यसका लागि कुनै विशेष पोलिस नगरी जीवनकै अंशहरूलाई सर्लक्कै निकाल्न सकिने रहेछ भन्ने कुरा इरानी सिनेमाहरूले सिकाए,’ उनी भन्छन् ।

इरानमा एकदमै कडा सेन्सरसिपको बाबजुद पनि कसरी सुन्दर सिनेमा जन्मिए त ? ‘निसास्सिँदो अवस्थाले गर्दा स्वतन्त्रताको आधार सिर्जनाबाट झन् बढी मुखरित हुने सम्भावना हुन्छ । जफर पनाही र अब्बास किरोस्तामी जस्ता मेकरहरूले राज्यको नियन्त्रण र सीमितताभित्रै रहेर पनि सिनेमामा नयाँ आयाम र गहिराइ खोजेका छन्,’ मनोज भन्छन् ।

फिल्ममेकर मात्र हैन, समीक्षकहरूका लागि पनि इरानी सिनेमा कति महत्त्वपूर्ण पाठशाला थियो भन्ने कुरा फिल्म समीक्षक यज्ञश सम्झन्छन् । यज्ञशका अनुसार नेपाली फिल्मकर्मी, लेखक र समीक्षकहरूमा इरानी फिल्मको प्रभाव निकै गहिरो छ । नेपालका फिल्म हलहरूमा इरानी फिल्म खासै रिलिज नभए पनि फिल्म फेस्टिभल र डिभीडीको माध्यमबाट यी फिल्महरू रुचाइएका थिए ।

‘विशेषगरी माजिद मजिदीका 'चिल्ड्रेन अफ हेभन' र 'द कलर अफ प्याराडाइज' जस्ता फिल्महरूले नेपाली दर्शकको संवेदनालाई निकै छोएका थिए । वेस्टर्न वर्ल्ड जस्तो अत्यधिक विकसित समाजको कथा नभएर हाम्रो जस्तै ग्रामीण र अर्ध-सहरी परिवेश, जीवनका अभावहरू र पारिवारिक सम्बन्धका कथाहरू भएकाले यी फिल्महरू हाम्रा लागि निकै सान्दर्भिक र नजिक महसुस भए,’ यज्ञशको विश्लेषण छ ।

हलिउड वा युरोपेली सिनेमामा देखिने 'एकल संघर्ष' भन्दा फरक इरानी सिनेमामा देखिने 'पारिवारिक र सामूहिक संघर्ष' ले हाम्रो पूर्वीय चेत र भावनालाई बढी आकर्षित गरेको ठान्छन् यज्ञश । उनी थप्छन्, ‘सानो विषयलाई सुक्ष्म ढंगले, ठूलो प्रोडक्सन भ्यालु नभए पनि विषयको गहिराइमा पुगेर मानवीय संवेदना प्रस्तुत गर्ने शैली नै इरानी फिल्मको मुख्य विशेषता हो ।’

यज्ञश सुरुमा मजिदीका फिल्मबाट प्रभावित थिए । पछि अब्बास किरोस्तामी, जफर पनाही, अस्गर फरहादी र मख्मलबाफ परिवारका फिल्महरूले समग्र सौन्दर्यशास्त्र र यज्ञशको चेतनामा नयाँ आयाम थपेका थिए । इरानका पहिलाका फिल्महरूमा बालबालिकाहरू र संवेदनाका कुरा बढी हुन्थे । अहिलेका फिल्महरूमा राजनीतिक टिप्पणी र समाजका नयाँ आयामहरू पनि देखिन थालेको विश्लेषण गर्छन् यज्ञश । ‘इरानमा फिल्म बनाउन प्रतिबन्धित भए तापनि त्यहाँका फिल्म मेकरहरूले ओस्कर र कान्स जस्ता ठूला मञ्चहरूमा सर्वोच्च पुरस्कार जित्दै विश्वभर आफ्नो प्रभाव कायम राखेका छन्,’ यज्ञश भन्छन् ।

हिलोमा फुलेको कमल

इरानी फिल्ममेकरहरू कहिल्यै सजिलो बाटो हिँड्न पाएनन् । उनीहरू हिलोमा फुलेका कमल जस्तै लाग्छन् । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा फिल्म निर्माणमा कडा धार्मिक र राजनीतिक सेन्सरसिप लागू गरियो । महिलाको प्रस्तुतिलाई निकै साँघुरो बनाइयो । फिल्ममा महिलाले घरभित्रै रहँदा वा सुत्दा पनि अनिवार्य रूपमा 'हिजाब' लगाउनुपर्ने र पर्दामा श्रीमान्-श्रीमती वा आमा-छोराको भूमिकामा रहेका कलाकारले समेत एकअर्कालाई छुन वा अंकमाल गर्न नपाउने भयो ।

देशको गरिबी, प्रशासन वा धार्मिक व्यवस्थाको सिधै आलोचना गर्न बन्देज गरियो । अभिव्यक्ति स्वतन्त्रतामा यसरी अंकुश लगाइयो कि तिनै कुराहरू भन्न फिल्ममेकरले प्रतीकको सहारा लिनुपर्‍यो । तिनै प्रतीकलाई फिल्ममेकरले निकै बलियोसँग भने ।

अझै पनि इरानी फिल्ममेकरहरूले सिर्जनात्मक स्वतन्त्रताको मूल्य चुकाइरहन बाध्य छन् । जफर पनाहीलाई सरकारले फिल्म बनाउन र देश बाहिर जान २० वर्षको प्रतिबन्ध लगाएको थियो । उनले लुकीछिपी 'ट्याक्सी' जस्ता फिल्म खिचेर पेनड्राइभमा लुकाउँदै कान्स र बर्लिन पुर्‍याए । उनी पटक-पटक जेल परे र लामो समय नजरबन्दमा रहे । त्यस्तै, ओस्कर विजेता फिल्म 'द सेल्सम्यान' की अभिनेत्री तारानेह अलिदोस्तीले सामाजिक आन्दोलनको समर्थन गर्दा जेल जीवन बिताउनुपर्‍यो ।

निर्देशक मोहम्मद रसुलोफले 'देयर इज नो इभिल' बनाएकै कारण युरोपमा शरण लिन बाध्य हुनुपर्‍यो । तैपनि इरानी फिल्ममेकरको गति रोकिएको छैन । पछिल्लो पटक २०२५ को कान्स फिल्म फेस्टिभलमा जफर पनाहीको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ले 'पाल्म डी'ओर' जितेर इरानी सिनेमाको सामर्थ्यलाई थप प्रमाणित गरिदियो ।

इरान अशान्त देखिए पनि त्यहाँका सिनेमाहरू शान्त नदीझैँ बगिरहेका छन् । पहाडका पत्थरहरूसँग ठोक्किँदै बग्दा नदीको मीठो संगीत सुनिएझैँ इरानका सिनेमाहरूले पनि कथामा तिनै युद्ध, संकट र अभावलाई प्राणका रूपमा भरिरहेका छन् । मानवीय कथालाई विश्वसामू जोडिरहेका छन् । र तिनै शैलीलाई नेपाली फिल्म जगत्‌ले पनि सिको गरिरहेको छ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully