चार दिनमै भारतमा ४०४.५४ करोड र विदेशमा ९६.५० करोड कमाउँदै ‘धुरन्धर २’ ले ५०१ करोड भारुको कुल संकलन गरेको छ ।
काठमाडौँ — आदित्य धरको निर्देशनमा बनेको 'धुरन्धर : द रिभेन्ज' ले भारतीय बक्स अफिसमा ऐतिहासिक सफलता पाएको छ ।
फिल्मले रिलिजको चार दिनमै भारतमा ग्रस ४०४.५४ करोड र वैदेशिक बजारमा ९६.५० करोड भारु कमाउँदै कुल ५०१.०४ करोडको आँकडा पार गरेको छ ।
ट्रेड ट्रेकिङ वेबसाइट सकनिल्कका अनुसार यो फिल्म प्रदर्शनको पहिलो शनिबार भारतमा मात्रै करिब ११३ करोड भारु संकलन गरेको थियो । ‘धुरन्धर २’ एकैदिन १०० करोडभन्दा बढी कमाउने पहिलो हिन्दी फिल्म बनेको छ ।
यसअघि सन् २०२५ डिसेम्बर ५ मा रिलिज भएको यसको पहिलो भाग 'धुरन्धर' को तुलनामा सिक्वेलले झन्डै दोब्बर गतिमा व्यापार गरिरहेको छ । पहिलो भागले पहिलो साता जम्मा १२३.६ करोड भारु कमाएको थियो ।
जुन आँकडालाई 'धुरन्धर २' ले शनिबार एकै दिनको कमाइले चुनौती दिएको छ ।
