गीतका गहिराइ र अर्थ खोज्दै सुरज

सुरज सुवेदी गीतलाई पर्गेल्छन् । उनी संगीतका सुर खोतल्छन्, स्वर नियाल्छन् । गीतमा भएका कमजोरी, त्यसमा प्रयोग बिम्ब र संगीतको सौन्दर्य बखान गर्दै भिडियो बनाउँछन्- अनि ‘सबटेक्स्ट विथ सुरज’मा पोस्ट्याउँछन् ।

चैत्र ४, २०८२

रीना मोक्तान

What you should know

काठमाडौँ — के तपाईंलाई थाहा छ ? नेपाली संगीतबाट के गायब भएको छ ? 'साहित्य ।'

संगीतलाई साहित्यका रूपमा नहेरिएकै कारण नेपाली गीतबाट ‘साहित्य’ छुट्दै गएको हो भन्ने लाग्छ, कवि, लेखक एवं समीक्षक सुरज सुवेदीलाई ।

‘गीतको साहित्यको पाटो कम चर्चा हुन्छ नेपालमा । नारायण गोपालले धेरैपल्ट गीत साहित्य हो भनेर भन्नु भएको छ । प्रतिष्ठित साहित्यिक पुरस्कार जगदम्बा-श्री पहिलो पटक उहाँले नै पाउनु भएको थियो,’ सुरज सुनाउँछन्, ‘गीत भनेको साहित्य हो भन्ने ठूलो जोड थियो उहाँको ।’

छोटो भिडियोमा गीतको छरितो समीक्षा गर्ने सुरज गीतलाई साहित्यका रूपमै हेर्छन् । ‘विशेष त गाउँ-गाउँबाट उठजस्ता गीत आफैँमा साहित्य हुन् । इतिहासको ठूलो कालखण्डलाई दर्शाउने गीत हामीकहाँ छन्,’ सुरज थप्छन् । 

सुरज गीतको समीक्षा मात्रै गर्दैनन्, गीतलाई पर्गेल्छन् । वैज्ञानिकले माइक्रोस्कोपमार्फत मिहिन कुरा नियालेझैँ, उनी संगीतका सुर खोतल्छन्, स्वर नियाल्छन् । गीतमा भएका कमजोरी, त्यसमा प्रयोग बिम्ब र संगीतको सौन्दर्य बखान गर्दै भिडियो बनाउँछन्-अनि ‘सबटेक्स्ट विथ सुरज’मा पोस्ट्याउँछन् । उनले बनाएका तिनै भिडियोलाई लाखौँ दर्शकले मन पराइदिएका छन् । अहिले तिनै तीखो र तीक्ष्ण भिडियो सुरजको पहिचान बनेको छ । तर, उनी यही पहिचानभित्र मात्रै अटाउँदैनन् । उनी कवि हुन्, समीक्षक हुन् । सेतोपाटीदेखि शिलापत्रसम्म फिल्म, संगीतदेखि थिएटरका समीक्षा लेखे । समीक्षा लेख्दा-लेख्दै नाटकै लेखे । नारायण वाग्लेको किताब 'पल्पसा क्याफे'माथि आधारित त्यही शीर्षकको नाटकलाई लेखे, उक्त नाटकमाथि पुस्तक नै निकाले । ‘बिट्विन द लाइन्स’ भन्ने पोडकास्ट हुँदै सुरजको यात्रा अहिले छोटा भिडियोमा गरिने वर्णन र व्याख्यासम्म आइपुगेको छ । 

गीतहरूमाथि यस किसिमको भिडियो बनाउने ‘आइडिया’ भने दुई कारणले जन्मिएको हो । पहिलो– सुरज ३ वर्षदेखि लोकप्रिय ब्यान्ड १९७४ एडीको बायोग्राफी लेखिरहेका छन् । पुस्तक लेख्ने क्रममा संगीतलाई गहिराइबाट खोजे । अरेन्जमेन्टको पाटो, म्युजिकका लेयर्स, बेस साउन्डको महत्त्व, गितारदेखि ड्रम्सका अरेन्जमेन्टमा घोत्लिए ! 'यो मन त मेरो नेपाली हो', 'गुराँसै फुल्यो', 'परेलीमा'लगायतका चर्चित गीत पछाडिका कथा सुने । त्यतिबेला सुरजलाई लाग्यो –‘ओह्हो म्युजिकको कथा त फ्यासिनेटिङ हुँदो रहेछ ।’ तर, भिडियो बनाउने आड दियो दोस्रो कारणले– त्यो हो, भारतका केही त्यस्ता च्यानल जहाँ गीतका गहिरा र गुप्त विषयमाथि चर्चा हुन्थ्यो ।

सुरजले 'सिंगल ह्यान्डेडली' हेर्थे । 'गो विथ समीर'देखि 'इन अदर वर्ड्स' भन्ने च्यानल हेर्थे । 'सिनेमा बियोन्ड इन्टरटेनमेन्ट' त मन पर्ने च्यानल । सुरजकै शब्दमा भन्नुपर्दा, 'एक्सप्लेन' गरेको विषयले उनलाई तान्छ । विगतमा त्यसलाई अभ्यास नगरेका पनि होइनन् । नाटक समीक्षा गर्दा उनी त्यसभित्र लुकेका विषयलाई पत्र-पत्र केलाउँथे । फिल्मका दृश्यमा पनि देखाइएको भन्दा नदेखाइएका पाटोको चर्चा गर्न मन पराउँथे । भारतका यी च्यानल चहार्दा सुरजलाई सधैँ लाग्थ्यो- हाम्रोमा पनि कसैले यस्तै गरिदिए हुन्थ्यो ! भारतीय संगीत त्यति गहिरो छ- हाम्रै गीत पनि त गहिरा छन् । तर, किन कसैले भिडियो बनाइरहेको छैन ? यही प्रश्नहरूको जवाफ हो- ‘सबटेक्स्ट विथ सुरज’ । 

'अहिलेका धेरै गीत मलाई धेरै नै सतही लाग्थ्यो । मलाई सधैँ हाम्रो गीतको साहित्य नै कमजोर हुँदै गएको जस्तो हुन्थ्यो । तर, यति मात्रै त होइन नि, हाम्रो त गहिरो परम्परा छ संगीतको-कविहरुले खतरा गीत लेखेका छन् भन्ने हुन्थ्यो । अनि, हाम्रो नेपालको गीतको बारेमा पनि भिडियो बनाउनुपर्छ कि क्या हो भन्ने भइरहेको थियो,' सुरज सुरुवाती दिनमा फर्के । त्यतिबेला उनले 'एसियन राइट्स'का सह-संस्थापक पूजा यादवलाई पनि यो आइडिया सुनाए । पूजाले पनि साथ दिइन् । 

'एसियन राइट्स'मा अरूलाई लेख्न सिकाउने सुरज फिल्म ‘ऊनको स्वीटर’मा समावेश 'देउरालीमा बतास चल्यो' भन्ने गीतबाट भिडियो बनाउन चाहन्थे । फिल्मतिर अलि बढी ढल्किएकाले होला, सुरुमा फिल्मकै संगीत समाए । विपिन कार्कीको चरित्र र उक्त गीत जोडेर विश्लेषण गर्ने सोचे । विराटनगरका साथी सरोज कार्कीलाई सुनाइदिए । क्याफेमा भेटिरहने रिन्छेन तामाङ सामु पोखिए । 'म त लेख्दै छु नि यार । अब ४-५ वटा स्क्रिप्ट तयार गर्ने अनि सुटिङ गर्नुपर्छ है,’ रिन्छेनलाई भनेका थिए । तर, ठ्याक्कै भिडियो सुरु गर्ने मेलो मिलिसकेको थिएन, दिमागमा भने खाका तयार । 

Suraj searching for the depth and meaning of the song

एक दिन साथी सरोजसँग मण्डला थिएटर पुग्दा सुरजले देखे- दयाहाङहरु 'माइतीघर'फिल्मको त्यही शीर्षकमाथि बनेको गीतको भिडियो हेर्दै रहेछन् । त्यहाँ 'झर्छ जहाँ इन्द्र धनुष स्वर्ग माया मारी' भन्ने गीतको भिडियोमा 'धनु' ताकिरहेको दृश्य देख्नेबित्तिकै सुरजलाई क्लिक भयो–‘अरे इन्द्र धनुष भनेको त धनु होइन, यो त इन्द्रेणी हो ।' त्यसपछि उनले त्यही गीतमाथि पहिलो भिडियो बनाउने सोचे । बेलुकीसम्म स्क्रिप्ट तयार पारे । सरोजलाई देखाए । 'कहिले खिच्ने हो एक दिन प्लान गर्नुपर्छ,' भोलिपल्टै सुरजले यति के भनेका थिए । 'कहाँ प्लान गर्ने हो ? अहिल्यै खिच्नुपर्छ,’ सरोजको मुखबाट तुरुन्तै फुत्कियो । त्यही दिन सरोजले भिडियो खिचिदिए । ‘नेक्स्टडोर पाटन’मा सँगै बसेर भिडियो सम्पादन गरे । भिडियो पनि तयार ! सुरजलाई कतिबेला अप्लोड गर्ने भइहाल्यो । यसअघि सुरु गरेको पोडकास्ट 'बिट्विन द लाइन्स'को नामबाट इन्स्टाग्राममा अकाउन्ट खोल्न खोजे, मिलेन । 'बिट्विन द लाइन्स'का वरपर अरू केही शब्दहरू थप्दै कोसिस गरे, भएन । अब नाम के राख्ने त ? भिडियो हाल्न उनी हतारिएको देखेर पूजाले सुझाइन्- सबटेक्स्ट राख्दा कसो होला ? ‘सबटेकस्ट’मा ‘विथ सुरज’ थपेर इन्स्टाग्राम अकाउन्ट खोले । अनि इन्स्टाग्रामदेखि सामाजिक सञ्जालका अन्य प्लाटफर्ममा भिडियो राखे । 'सबटेक्स्टले पनि 'बिटविन द लाइन्स' कै अर्थ दिन्थ्यो । अनि मैले आफैं लोगो बनाएँ, सबटेक्स्ट विथ सुरजमा पहेँलो हाइलाइटरको कलर प्रयोग गरेँ । टिकटकदेखि जताततै हालेँ,' सुरज सम्झन्छन्, 'त्यसैले अहिले पनि त्यो लोगोमा हाइलाइटरको रंग देख्नुहुन्छ । त्यो रफ्ली मैले नै बनाएको हो ।' 

भिडियो सार्वजनिक गरेको भोलिपल्ट, टिकटकमा 'मिलियन' भ्युज कटिसकेको थियो । त्यो देखेर उनी आत्तिए । 'फिल्म आइरहेको छ, अलि बढी क्रिटिकल पो भएँ कि ? फिल्मको व्यापारलाई असर नगरोस् भन्ने भयो,' सुरज सुनाउँछन् । पहिलो भिडियोले सुरजलाई दुई कुरामा जिम्मेवार बनायो । पहिलो- भिडियो बनाउनुको उद्देश्य कसैलाई असर पार्नु होइन । ‘मैले कस्तो कुरा गर्न चाहेको होइन भन्ने कुरामा प्रस्ट भएँ,’ सुरजले थपे । भ्युजको अंकले सुरजलाई ‘स्पाइडरम्यान’ फिल्मको संवाद सम्झाइदियो- 'ठूलो शक्तिले ठूलो जिम्मेवारी माग्छ ।' 'यतिका मान्छेले हेर्दो रहेछ भनेर त्यो पावर अनुभव गरेँ । सँगै डर पनि लाग्यो । मानिसले यस्तो विषयलाई वास्ता गर्दो रहेछ । त्यही भिडियोको तल एउटाले के हुन्छ र यस्तो गर्दा ? भनेर कमेन्ट गरेको थियो । त्यसमा अर्को जवाफ दिन आइरहेको थियो । त्यसले मलाई मैले गर्न चाहेको कुरा नेपालमा पनि मन पराउँदो रहेछ भन्ने भयो,’ सुरजले भने, 'त्यो केयर गरेको देख्दा जिम्मेवार अनुभव पनि भयो ।' पहिलो भिडियोले सिर्जना गरेको दर्शकको यस किसिमको समुदायले सुरजलाई नयाँ भिडियोहरू बनाउन ऊर्जा थपियो । 

 

 

 

View this post on Instagram

 

 

 

A post shared by sub•text with Suraj (@subtextwithsuraj)

पहिलो भिडियो बनाएर राखेको केही समयमै देशमा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध गर्‍यो । दोस्रो भिडियो त भीपीएनबाट जसोतसो राखे । तर, यी भिडियोहरूलाई निरन्तरता दिन्छु भन्ने त्यतिबेलासम्म सोचिसकेका थिएनन् । ‘भिडियोचाहिँ बनाउँछु भन्ने थियो । त्यसमाथि म भिडियो पर्सन नै हुँ, भिडियो मन पर्छ,’ सुरजले भने । 

जेन-जी आन्दोलनपछि उनले ‘बलिदान’ फिल्मको चर्चा गर्दै यो फिल्ममा समावेश संवाद र शक्ति अहिलेको समयसँग किन अझै सान्दर्भिक छ भन्ने चर्चा गरिदिए । जेन-जी आन्दोलनमा मारिएका मानिस देखेपछि उनलाई भूपी शेरचनका ‘शहिदहरुको सम्झनामा’ भन्ने कवितामाथि व्याख्यात्मक भिडियो बनाउन मन लाग्यो । त्यसपछि बल्ल आयो- 'देउरालीमा बतास चल्यो'को पालो । त्यसअघिको तीन भिडियो सरोजले नै बनाइदिएका थिए । आन्दोलनपछि सरोज व्यस्त भए । 

एक दिन बहिनी सुरक्षा खनालले आफ्ना भाइ सम्पादनमा रुचि राख्ने भन्दै सुरजसँग सुरक्षण (खनाल)लाई जोडिदिइन् । सुरक्षण आएपछि भिडियोको ग्राफिक्स बदलियो । प्राविधिक पाटो तिखो बन्यो । ‘भाइ पनि भिडियोमा धेरै उत्सुकता राख्ने, हाम्रो ट्युनिङ मिल्यो । भाइले त कति गीत सुनेकै पनि नहुने, तर पनि भिडियो सम्पादन समय लगाएर गर्ने,’ सुरज सुनाउँछन् । ‘देउरालीमा बतास चल्यो’को भिडियोमा सुरजले फिल्मका मुख्य पात्र धरणीधर (विपिन कार्की) र गीतको मुख्य भावलाई समाहित गर्दै चर्चा गरेका छन् । आखिर यो गीतमा किन विपिनको चरित्रले ‘देउरालीमा बतास चल्यो’ गाउँछन् त ? सुरजले सुन्दर शैलीमा चरित्र र गीतको जोडेका छन् । यो भिडियोलाई पनि लाखौं पटक दर्शकले मन पराइदिए । त्यसपछि ‘गहिरो-गहिरो सागरजस्तो’मा सागर र पहाडको मिलनको कथा सुनाए । ‘टिकटकमा त हरेक तीन भिडियोमा एउटाले मिलियन भ्युज कटाएकै हुन्छ । भिडियोलाई एकदम मन पराइदिनु भएर मान्छेले नै मलाई पुस गरिदिनु भएको छ खासमा,’ सुरजले भने । तिहारमा बनाएको ‘निधारमा लर्काएर’ पनि उसैगरी रुचाइयो । 

Suraj searching for the depth and meaning of the song

कुनै संगीतको मिठासबारे चर्चा गरिरहँदा, समस्या देखाइदिँदा सुरजबाट चाहिँ भूल नभएकै भन्ने होइन । उनले पनि केही त्यस्ता मिहिन लाग्ने समस्या भिडियोमा गरेका छन्- जसले उनलाई झनै सजग र सचेत बनाएको छ । त्यो सिकाइ हो- 'मुसुमुसु हाँसिदेऊ न ।' यो गीतमाथि बनाइएको भिडियोमा सुरजले ‘कर्के नजरहरूले’ भन्ने शब्द केलाएका छन् । त्यसमा कर्केको ठाउँमा ‘परकी’ नजरले न्याय दिइने भन्दै सुरजले भनेका छन्- ‘यो गीतमा ‘परकी’ अर्थात् अपरिचित आँखाको कुरा हुँदै छ ।’ गीतकारले अपरिचितका ती नशालु आँखाले मोहित पारेको भावलाई उक्त शब्दमार्फत व्यक्त गरेको भन्दै यो भिडियोमा गायक सञ्जय श्रेष्ठ र दिवंगत नोर्देन तेन्जिङ भुटियाका गायन र शब्द उच्चारण तौलिए । तर, त्यहाँ उनले दाबी गरेको ‘परकी’ भन्ने शब्दमै गायक सञ्जयले फरक प्रतिक्रिया दिए । सञ्जय आफूले परकी नभई 'पारखी' गाएको कुरा सुरजलाई सुनाइदिए । तर, सुरजले सुरुमा ‘कर्के’को ठाउँमा ‘परकी’ नै सुने । हिन्दी शब्दकोशमा त्यसको अर्थ खोजे- अपरिचित नजर । पुरानो गीत सुने । परकी र पारखी छुट्याउन सकेनन् । गीतकारलाई सोधौँ- उनी यो संसारमै छैनन् । 'पछि सञ्जय श्रेष्ठलाई सोधेँ, सुरुमै सोधिएको भए धेरै अलमल हुन्न थियो भन्ने भयो,' उनी सुनाउँछन्, 'अहिले पनि म परकी र पारखीबारे खोजिरहेकै छु ।' अरूका गल्ती सुनाइदिने सुरज, आफूले गरेका गल्ती पनि स्वीकार्छन् । 'कुनै समस्या भइहाले, यसमा यस्तो समस्या भएको छ भनेर आफैँले लेख्छु पनि । कति त छक्क पर्छन् । अहिले मान्छेहरू गल्ती मान्दै मान्दैनन् नि ? मिस्टेक देखाइदिनेले पनि आफ्नो मिस्टेक स्वीकार्न हुन्छ- मन पर्‍यो भन्नुहुन्छ  कतिले,’ उनी भन्छन्, 'हाम्रो समाजमा गल्ती नस्वीकार्ने ठूलो तप्का भएका कारण पनि उहाँहरूले यो कुरालाई यसरी हेरिदिनु भएको होला । मलाईचाहिँ गल्ती स्वीकार्नुपर्छ भन्ने लाग्छ ।'

‘म कहीँ कतै हराएँ भने’ पनि यस्तै भयो । यो गीतमा प्रयोग ‘हजारौँ’ भन्ने शब्दमा ‘घचारो’ हुनु पर्ने भन्दै सुरजले २ मिनेट २० सेकेन्डको भिडियो बनाए । ‘म कहीँ कतै हराएँ भने’ पछि आउने लाइनमा घचारो शब्दले मात्रै गीतको भव्यता जोगाइदिने हुँदा यो शब्द यहाँ किन आवश्यक छ ? यसको महत्त्व र महिमा के हो ? भन्ने वर्णनलाई लेखकको दृष्टिकोण र लेखनसँग जोड्दै समीक्षा गरे । समस्या यहाँ यो शब्दको होइन । म्युजिक नेपालले यो गीतका लेखक भक्तराज आचार्य भनेर उल्लेख गरेको छ । सुरजले पनि त्यही स्रोतलाई विश्वास गर्दै गायक आचार्यले नै गीत लेखेको भनिदिए । तर, गीतका वास्तविक लेखक रहेछन्, सरोज कार्थक । अरू कसैले यसमाथि सच्याइदिँदै कमेन्ट गरेपछि सुरजले गल्ती सच्याउँदै भिडियोको तल यसबारे विस्तृत खुलाएका छन् । यसरी हरेक भिडियो सुरजका लागि सिकाइका सिँढी बने । जुन सिँढीहरूले उनलाई हरेक पाइलामा भिडियो बनाउनुअघि अनुसन्धानमा बढी समय खर्चन, तथ्यमा जोड दिन लगायो । 'मैले भिडियो बनाएपछि मानिसहरू युट्युबमा गएर यो होइन, यसको ठाउँमा यो हुनुपर्छ भनेर कमेन्ट गर्न पुगेको देख्छु, एक किसिमको समुदाय निर्माण भएको अनुभव भएको छ,’ मुसुक्क मुस्कुराउँदै सुनाए । 

संगीत र संगत 

अहिले उनी चलेका गीतमाथि मात्रै भिडियो बनाउँदैनन् । नसुनेका गीतलाई पनि प्राथमिकतामा राख्छन् । ‘होसियार’, ‘तिमीले मिस कल गर्दा’ लगायतका गीत त्यसैको जोडबल हो । ‘मलाईचाहिँ कुनै गीतमा भएको साहित्यलाई नजिकबाट हेर्न मन छ । भर्खर एउटा गीतमा लाली लगाउने भन्ने गाउने ठाउँमा लाली लजाउने हो । गीतमा भएको निश्चित आयामलाई हामीले नयाँ पुस्तामा पुर्‍याउन सकेनौँ भने भाषामा भएको त्यही मर्म पनि मर्छ भन्ने लाग्छ,’ उनी सुनाउँछन् । त्यसैले सुरज आफ्ना भिडियोहरूमा शब्द र भाषा धेरै केलाउँछन् । शब्दकोश पल्टाउँदै शब्द र गीतको मर्मलाई संयोजन गरिदिन्छन् । शब्दकोशको अर्थ भिडियोमै देखाइदिन्छन् । 

समय र परिस्थितिको माग अनुसार ‘होसियार’देखि ‘मलाई भोट देऊ’जस्ता समय सान्दर्भिक लाग्ने गीतमाथि भिडियो बनाए । हङकङ पोखरा गीतमा भएको ‘हिउँ त होइन फाप्रेको डंगुर’ भन्ने पंक्तिमा ‘फाप्रे’को अर्थ खुलाइदिए । वर्षौँदेखि यो गीतलाई हृदयमै बोकी हिँडिरहेकाहरुले सुरजको भिडियो हेरेपछि भने- '३० वर्षदेखि सुन्दै आएको यो गीतको अर्थ मैले बल्ल थाहा पाएँ- धन्यवाद ! चाइना कम्पनीमा, त चाइना कम्पनी भनेको के हो ? गीतकार र गीत लेख्दाका पृष्ठभूमि जोडिदिए । यो भिडियो हेरेकाहरू छर्लङ्ग हुन्छन्- सरुभक्तले चाइना कम्पनी र माया जोडेर कसरी यो गीत लेखे ! सरुभक्तले यसमा कसरी स्थानीयता जोड्दै भुइँवर्गको प्रेम व्यक्त गरे । 

Suraj searching for the depth and meaning of the song

भिडियोमा यसरी काम गर्न सुरजलाई भने उनका विगतका अभ्यासहरूले सहज बनाइदिएको हो । ‘कुनै समय म कन्टेन्ट राइटिङ गर्थेँ, अहिले आफ्नो कन्टेन्ट लेख्छु, रिसर्चमा त्यसको प्रयोग भइरहेको छ । हुक कसरी लेख्ने ? कन्टेन्ट राइटिङबाटै आयो,’ उनी सुनाउँछन्, 'नाटक लेखेँ । त्यसैले पनि यी अभ्यासले मलाई सहकार्य गर्न सिकायो- सम्पादक भाइसँगको सहकार्य । अन्तर्वार्ताको अनुभवले सोझै गीतकार, गायकलाई फोनमार्फत सम्पर्क गर्न सहज भइदियो ।' 

सुरज अहिले एकै पटक थुप्रै गीतको ड्राफ्ट लेखिरहेका हुन्छन् । ती गीतहरूमा खोजिरहेकै हुन्छन्, गुनगुनाउँदै हिँड्छन् । गीतकार जिउँदो छन् भने कुरा गर्न छाड्दैनन् । नभए ४/५ जना स्रोतसँग गफिन्छन् । एउटा गीतमा ४/५ ड्राफ्ट त लेखेकै हुन्छन्, लेखकको बानीले होला पहिलो लेखनमै चित्त बुझाउँदैनन् । ३० भन्दा बढी भिडियो बनाएपछि, सुरजले भिडियोबाट कमाइ हुँदो रहेछ भन्ने जानेका छन् । तर, सुरज प्रस्ट छन् आफूले कमाउनकै लागि भिडियो बनाउँदै छैनन् भन्नेमा । ‘मेरो मेजर गोल आम्दानी होइन । आम्दानीचाहिँ एउटा सपोर्टिभ हुँदो रहेछ । कुनै भिडियो राम्रो गयो भने फेसबुकको अर्निङ ठिकै छ, तर ह्युज छैन । म यसलाई २-३ वर्ष पछिको लागि हेर्दै छु- यो प्लाटफर्म कहाँ पुग्छ भनेर,’ सुरज भन्छन्, 'अर्निङ मात्रै हेरेको भए भ्युज जाने गीत मात्र छान्थेँ । त्यसलाई महत्त्वमा राखियो भने त भ्युज जानेतिरै कुदिहाल्छु ।' 

तर, धेरै हेरिएकोभन्दा कम भ्युज प्राप्त भिडियोबाट सुरजले धेरै प्रतिक्रिया पाइरहेका हुन्छन् । ‘कम भ्युजको भिडियोबाट धेरै पो प्रतिक्रिया पाउँछु । तपाईँले यो गीतको अर्थ बुझाइदिनुभयो भयो धन्यवाद भन्छन्,’ सुरजले भने, 'गीतलाई बर्मादेखि विभिन्न ठाउँबाट हेर्दा खुसी लाग्छ ।' संयोग प्रतिक्रियाहरूमाथि यसरी गफिँदै गर्दा सुरजका भिडियो हेर्ने एक दर्शकले हाम्रो कुराकानी चलिरहेका बेला नजिकै आएर उनीलाई भने- 'तपाईँको कुराकानीमा डिस्टर्ब भयो होला ! तर, ब्रदर मलाई तपाईँको भिडियो एकदम मन पर्छ- किप डुइङ इट !'

प्रत्यक्ष मात्रै होइन विभिन्न माध्यमबाट आएका प्रतिक्रिया सुरजलाई सम्झना छ । ‘च्याङ्बा होइ च्याङ्बा’माथि भिडियो बनाइसके पछिको प्रतिक्रिया अझै बिर्सेका छैनन् । भिडियो हेरिसकेपछि गोपाल योञ्जनकी नातिनीले सुरजलाई हजुरबुवाको गीतमाथि भिडियो बनाइदिएको भन्दै धन्यवाद दिइन् । यो गीतमाथि भिडियो बनाएकोमा सुरजको मन ढुक्कले फूलेको छ । ‘चाङ्बा होइ चाङ्बा'मा जुन नुवान्स योञ्जनले छोड्नुभएको छ, त्यो मिठो छ । रिमिक्स भर्सनमा त त्यो आएकै छैन,’ सुरजले भने । यो गीतको गहिराइ नापेर सुरजले गीतमार्फत तामाङ समुदायका दुई महिला र पुरुष कसरी संगीतमार्फत एकअर्कालाई फकाउँदै छन्, प्रेम प्रकट गर्दै छन् भन्ने संक्षिप्त विवेचना गरेका छन् । गीतका शब्दहरूमार्फत तामाङ समुदायका महिलाहरू निर्णय लिने क्षमताको कुन बिन्दुमा उभिएका हुन्छन् भन्ने पनि विश्लेषण गरेका छन् । जस्तै, यो यो गीतमा पुरुष गाउँछ;

पुरुष –डम्फुले आज क्या भन्छ ?

महिला –धूम तक धूम, धूम 

पुरुष - डम्फुले आज क्या भन्छ ?

महिला- धूम तक धूम, धूम 

दोस्रो प्रयाससम्म पनि महिला यहाँ पुरुषसँग जान मानिरहेकी हुँदिनन्, त्यसैले डम्फुको पुरुषले प्रश्न गरेपिच्छे डम्फुको ताल मात्रै गाइदिन्छिन् । केटो फकाइरहन्छ- डम्फुले आज क्या भन्छ । अन्तमा बल्ल केटीले भन्छे–जाम उता जाम, जाम । रिमिक्स भर्सनमा दोहोरीको यो भाव नै हराएको भन्दै सुरजले बनाएको भिडियो बनाए । ‘यसमा तामाङ समुदायको महिलाले नै लिड लिएको देखाइन्छ । त्यही कुरा रिमिक्समा हराएको छ,’ सुरजले भने, 'गोपालयको गीत संग्रहमा पनि मिस्टेक थियो । तर, मैले लेखक ज्ञानु राणालाई सोधेँ, उहाँले पनि मेरो कुरामा हो मा हो मिलाउनु भयो । त्यो देख्दा मलाई गोपाल योञ्जन खुसी हुनु भो होला भन्ने लाग्यो ।' 

'देउरालीमा बतास चल्यो'को समयमा गीतकार रमेश धितालको फोटो खोज्न सुरजलाई निकै सास्ती भयो । भिडियो सार्वजनिक गरेपछि बल्ल उनका नजिकका आफन्तले सुरजलाई म्यासेजमा फोटो पठाइदिए । चिन्दै नचिनेका मानिससँग यसरी जोडिए, भिडियोमार्फत उनी । ‘असारे महिनामा’ भन्ने गीतलाई धेरैले प्रशान्त तामाङले गाएको भन्छन् । तर, यो छुजाङ डुक्पाले गाएको भन्दै भिडियो बनाउँदै जाँदा सुरजले लेखक तुलसी गजमेरको तस्बिर पनि निकै खोजे । फेसबुकमा लेखे । अन्तिममा, पुष्पन प्रधानको सहयोगमार्फत फोटो भेटे । 'त्यसरी स्रष्टालाई ट्रेस गर्दा पनि मज्जा आउँछ । गीत संगीतको गहिराइ मन पराउनेहरूलाई सबटेक्स्टले जोड्दै आएको अनुभव हुन्छ,' उनी भन्छन् । 

सुरजले गीतमा यसरी घोत्लिन थालेको अहिले मात्रै होइन । यसअघि पनि उनी कुनै गीतहरूमाथि साथीहरूसँग यसरी नै गफिन्थे । भिडियोहरू चल्न थालेपछि सुरजका साथी अनिल बानियाले प्रतिक्रिया दिँदै भने- 'मलाई त तिम्रो यो भिडियो नौलो लागिरहेको छैन । तिमीले अरू बेला पनि यस्तो गरिरहेको हुन्थ्यो, अहिले पो भिडियोमा गर्न थाल्यौ ।' उनले भनेझैँ सुरज गीतको काव्यिक पाटोमाथि कवि नवराज पराजुली, पत्रकार वसन्त बस्नेतहरूसँग गफिरहेकै हुन्थे  । ‘गहिरिएर हेर्ने बानी पुरानै हो,’ सुरजले भने, ‘मलाई त गीतहरू जिउँदो चिज हो जस्तो लाग्छ । जति फरक तरिकाले हेर्‍यो त्यति फरक तरिकाले बोल्छ । त्यसैले एकैपल्ट गीतले फरक-फरक मानिसहरूसँग बोल्छ । गीतको राजनीतिक दृष्टिकोणबाट हेरियो भने त्यसले राजनीति बोल्छ । तर, म काव्यिक चेत हेर्छु ।’ 

Suraj searching for the depth and meaning of the song

सुरज सरल शैलीमा बोल्छन्, क्यामेराअघि होइन दर्शकको आँखै हेरेर बोलेझैँ भिडियोमा बोलिरहेका हुन्छन् । उनको यो नरम बोलीको व्याख्या गर्ने शैली दर्शकले मन पराएका छन् । त्यसमाथि भिडियोको सम्पादन यसरी गरिएको हुन्छ कि सुरु गरेपछि छोडिहाल्न मन नलाग्ने । भिडियोलाई पहुँचयोग्य बनाउन सब-टाइटल पनि राख्छन् । सुरु गरेदेखि हरेक हप्ता नयाँ भिडियो बनाउँदै आएका छन् । 

भोजपुरका ३४ वर्षे सुरज तुरुन्तै पुराना गीतबाट नयाँमा गरिएको गल्ती पत्ता लाइहाल्छन् । रेडियो सुन्दै हुर्केको पृष्ठभूमिले त्यहाँ सघायो । त्यसमाथि अंग्रेजी साहित्यमा गरिएको स्नातकोत्तरले गहिरिएर हेर्न लगायो । ‘अहिले त एआईले गीत गाउन थाल्यो । हामीले बिगारेर राखेको गीतका लिरिक्सलाई यसले गाइदिन्छ । गुगलमा हाम्रा गीतको लिरिक्स डामाडोल छ । शब्द बिग्रिएपछि गीतकार त्यहीँ मरिसक्यो,’ सुरजले भने, 'एक त हाम्रो नेपाली भाषा कमजोर हुँदै गएको छ । शब्द बिग्रिएको गीत एआईले गाएर मास प्रोडक्सन गर्दा गीतकार त्यहीँ पनि मरिसक्यो । गीतकारको मल्टिपल डेथ भइरहेको बेलामा कुनै प्रयासले त जीवित राखौँ भन्ने प्रयास हो मेरो । यो मैले मात्रै गरेर हुँदैन सबैले मिलेर गर्नुपर्छ ।'

Suraj searching for the depth and meaning of the song

सुरजलाई अहिले संगीतबाट संगत हराएको छ भन्ने लाग्छ । कुनै समय भूपी शेरचन, नारायण गोपाल र गोपाल योञ्जन मिलेर गीत बनाउँथे । उनीहरू एकअर्काको संगतमा हुन्थे । गायकलाई पनि शब्दको गहिराइ थाहा हुन्थ्यो । गीतकारसँग मिलेर शब्दको परक गर्थे । संगीतकार पनि त्यहीँ हुन्थे । अहिलेका शब्दमा त्यो वजन नहुनुको कमी यसमै देख्छन्, सुरज । 'अहिले त धूलो पिठो शब्द आइपुग्छ । लेखकले कसैलाई देखाउँदै नदेखाई त्यो गीत दर्शकमा आइपुग्छ । अर्को त हाम्रो शैक्षिक प्रणाली हो । नेपाली बोल्नु त अपराधजस्तै बनाइदियो बोर्डिङ स्कुलहरूमा,' उनले भने, 'म अहिले जति म्युजिसियन भेट्छु, उनीहरू नेपालीभन्दा पनि अंग्रेजीमा संवाद गरिरहेका हुन्छन् । अहिले त संगीत बनाउने काम एक्लो काम भयो । पहिला यो काम समूहमा हुन्थ्यो । पहिला कविहरू गीत लेख्थे । रत्नशमशेर थापा, ईश्वरवल्लभ । कविहरू लेखनमा थिए, साहित्यको गहिराइ संगीतमा थियो । अहिले त साहित्य तलैबाट कमजोर छ ।'  

नयाँमा त्यो काव्यिक चेत हुँदै नभएको होइन । त्यसैले सुरज नयाँमा भएको त्यही खुबी खोतल्दै भिडियो बनाउने योजनामा पनि छन् । 'जस्तै आर्टमाण्डु समूह, उज्जवल सागरका गीत । श्रवण मुकारुङका गीत,' उदाहरण दिँदै भने, 'अहिलेको समयमा पनि एउटा कविको हातमा गीत पुग्दा 'तिमी तारेभीर'देखि 'राई माइला' बनिरहेकै छ त । अबचाहिँ हामीले कति लामो समयसम्म जाने गीत बनाउने भन्ने कुरा हामीमै निर्भर हुन्छ ।'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully