२० वर्षपछि ‘मालामाल विक्ली’को सिक्वेल बन्दै, फेरिए निर्देशक

२० वर्षपछि चर्चित कमेडी फिल्म ‘मालामाल विक्ली’ को दोस्रो भाग बन्ने निश्चित भएको छ, यसपटक प्रियदर्शनले निर्देशन नगर्ने भएका छन् ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

A sequel to 'Malamal Weekly' is in the works after 20 years, with a new director

काठमाडौँ — बलिउडमा अहिले पुराना हिट फिल्मका सिक्वेल बनाउने लहर चलेको छ । कतिपय सिक्वेलले बक्स अफिसमा राम्रो व्यापार गरिरहेका छन् त कतिपय फ्लप भइरहेका छन् ।

यसैबीच, सन् २००६ को चर्चित कमेडी फिल्म ‘मालामाल विक्ली’ को दोस्रो भाग (सिक्वेल) बन्ने निश्चित भएको छ ।

परेश रावल, ओम पुरी र राजपाल यादव जस्ता कलाकारको अभिनय रहेको यस फिल्मको पहिलो भागलाई दर्शकले निकै रुचाएका थिए । तर, यसपटक सिक्वेलमा एउटा ठूलो परिवर्तन देखिने भएको छ । फिल्मका ओरिजिनल निर्देशक प्रियदर्शनले यसपटक निर्देशनको कमान्ड सम्हाल्ने छैनन् ।

करिब २० वर्षअघि रिलिज भएको ‘मालामाल विक्ली’ ले चिठ्ठाको टिकटलाई लिएर एउटा गाउँमा मच्चिएको खैलाबैलाको रमाइलो कथा पस्किएको थियो ।

बलिउड सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार ‘मालामाल विक्ली २’का लागि ‘बधाई हो’ फेम निर्देशक अमित शर्मासँग कुराकानी भइरहेको छ । अमित शर्मा यस प्रोजेक्टलाई लिएर निकै उत्साहित रहेको बताइएको छ । फिल्ममा परेश रावल, रितेश देशमुख र राजपाल यादव पुरानै भूमिकामा दोहोरिने सम्भावना छ ।

निर्देशक मात्र होइन, फिल्मको निर्माण पक्षमा पनि ठूलो फेरबदल हुने देखिएको छ । पहिलो फिल्मलाई शैलेन्द्र सिंहको 'पर्सेप्ट पिक्चर कम्पनी' र 'सहारा मोशन पिक्चर्स' ले निर्माण गरेका थिए । तर, यसपटक उनीहरू यो प्रोजेक्टमा जोडिएका छैनन् ।

फिल्मको राइट्सका बारेमा बलिउड सञ्चारमाध्यमले सोधेको प्रश्नमा शैलेन्द्र सिंहले भने, ‘परेश रावलले मलाई सम्पर्क गरेर सिक्वेलको राइट्स मागेका थिए । तर, यो फिल्मको राइट्स सहारा र अर्को एक पक्षसँग छ । मसँग यसको स्पष्ट कागजात नभएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

सन् २००६ मा रिलिज भएको ‘मालामाल विक्ली’ कम बजेटमा बनेर ठूलो सफलता हात पार्ने फिल्ममध्ये एक हो ।

मात्र ७ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले विश्वभरबाट ४२.७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

प्रियदर्शनको लेखन र निर्देशन रहेको यो फिल्म आज पनि उत्तिकै लोकप्रिय छ ।

कान्तिपुर

Link copied successfully