अस्करमा फिल्म 'सिनर्स'बाट 'उत्कृष्ट अभिनेता'को अवार्ड जितिसकेपछि अभिनेता माइकल बी जोर्डनले चिज बर्गर खाइदिए, त्यो पनि अवार्ड छेउमा राखेरै ।
काठमाडौँ — यदि तपाईंले अस्कर अवार्ड जित्नुभयो भने पहिला के गर्नुहुन्छ ? अथवा के खानुहुन्थ्यो ?
'सिनर्स'बाट 'बेस्ट एक्टर'का लागि अस्कर जितिसकेपछि अभिनेता माइकल बी जोर्डनले चिज बर्गर खाइदिए, त्यो पनि अवार्ड छेउमा राखेरै ।
एकेडेमीको कार्यक्रम सकिनेबित्तिकै जोर्डनले 'इन-एन-आउट बर्गर' पुगेर बर्गर खाएको भिडियो अहिले सामाजिक सञ्जालभर चर्चित छ । कारण, जसरी सामान्य तरिकाले जोर्डन 'इन-एन-आउट बर्गर'भित्र प्रवेश गर्छन्, जसरी उनले बर्गर अर्डर गर्छन् अनि अवार्डको प्रतिमा छेउमै राखेर प्रफुल्लित हुँदै खान्छन्-त्यतिबेला उनलाई घेरेका फ्यानले खिचेका भिडियोहरु सामाजिक सञ्जालभरि फैलिएको छ ।
कालो सुटसहितको पहिरणमा 'इन-एन-आउट बर्गर' पुगेका जोर्डनले रेस्टुराँका कर्मचारीसँग फोटो पनि खिचे । फोटो खिचेको भिडियो पनि चर्चामै छ । हुन त अस्कर जितेसँगै बर्गर खान रेस्टुराँ कुद्ने उनी पहिलो कलाकार भने होइनन् । यसअघि कलाकार हिलारी स्वांक पनि अस्कर जित्नेबित्तिकै बर्गर खान पुगेकी थिइन्, त्यो पनि अवार्ड कार्यक्रममा पहिरेको पहिरनमा । जुलिया रोबर्ट्स अनि जेमी लीले पनि 'इन-एन-आउट बर्गर' नै पुगेका थिए, अस्कर जित्नेबित्तिकै ।
