९८ औं अस्कर अवार्डमा ‘उत्कृष्ट फिल्म’सहित ६ विधामा अवार्ड जितेको ‘वान ब्याटल आफ्टर एनोदर’ले विद्रोह, साहस र संघर्षको कथा देखाउँछ । अन्याय, अत्याचार, असमानता र विभेदको विरुद्धमा आवाज उठाउने लडाकुहरूलाई फिल्मले भन्छ- विश्वबाट यी कुरा समाप्त नभएसम्म लडिरहने नै हो ।
What you should know
काठमाडौँ — फिल्म 'वान ब्याटल आफ्टर एनोदर'को अन्तिम दृश्य निकै शक्तिशाली छ । १६ वर्षीया किशोरी विल्ला(चेज इन्फिनिटी) हतकडीसहित हाइवेमा तुफान गाडी कुदाइरहेकी हुन्छिन् । उनलाई पछ्याउँदै हुन्छन्, खुंखार हन्टर-अवन्ती । जसलाई मिलिटरी अफिसर स्टिभन लक्जअ (सिन पेन)ले विल्लालाई मार्न खटाएको हुन्छ । गाडी गुड्दाको आवाज र तेज हावाले पनि अवन्ती कुन रफ्तारमा छन् भन्ने थाहा हुन्छ ।
यी दुईको गाडीलाई बब(लियोनार्दो डिक्याप्रियो)को गाडीले पनि उसैगरी पछ्याइरहेको हुन्छ । 'कार रेस'का प्रतिस्पर्धीझैँ लाग्ने यी तीन एक अर्कालाई यसरी किन लखेट्दै छन् ? त्यो जान्न पहिला यी पात्रहरू यहाँसम्म कसरी आइपुगे भन्ने जान्नुपर्ने हुन्छ ।
यो दृश्यलाई जसरी खिचिएको छ, जुन किसिमको पार्श्व ध्वनि पृष्ठभूमिमा सुनिन्छ, त्यसले पनि यसलाई सशक्त बनाइदिएको हो । त्यसमाथि फिल्मको कथा यहाँ आइपुग्दासम्म जसरी धड्किरहेको हुन्छ, त्यही धड्कनलाई पृष्ठभूमिमा बज्ने ध्वनिले सुनाइदिँदा 'वान ब्याटल आफ्टर एनोदर'को यो दृश्यले सर्वस्व ध्यान तान्छ । एकै क्षण हल शान्त बन्छ, दर्शक मन थामेर पात्रहरू सँग-सँगै यात्रा गर्न तत्पर बन्छन् । यी तीन पात्रको पृष्ठभूमि रोचक छ ।
खासमा, निर्देशक पल थोमस एन्डरसनले यी तीनबीच अजिबको सम्बन्ध स्थापना गर्दै यहाँसम्म ल्याइपुर्याइदिएका छन् । विल्ला र बब, बाउ-छोरी हुन् । त्यसैले उनी आफ्नो छोरी बचाउन हन्टर अवन्ती पच्छ्याउँदै छन् । अवन्ती विल्लालाई किन मार्न खोज्दैछन् त ? खासमा विल्लाका 'बायोलजिकल' बुवा स्टिभनले उनलाई मार्न अवन्ती खटाएका हुन् । उग्र वामपन्थी क्रान्तिकारी समूह र आन्दोलनमा सक्रिय हुँदादेखि नै बब र पर्फेडिया (टियाना टेलर) प्रेमी-प्रेमिका हुन्छन् । तर, आन्दोलनकै क्रममा पर्फेडिया र सैनिक अधिकृत स्टिभन नजिकिन्छन्, विल्लाको जन्म त्यसरी हुन्छ ।
एक दिन स्टिभन सामू पर्फेडियाले आफ्नो विद्रोही कमरेडहरूको नाम ओकलिदिन्छन् । खोजी-खोजी सबै कमरेडलाई मार्ने क्रममा दूधे बालक विल्ला लिएर बब नयाँ सहर भाग्छन् । कर्म दिने बाबुसँगै नयाँ पहिचानमा विल्ला हुर्कँदै गरेको १६ वर्षपछि स्टिभनले उनीहरूको खोजी सुरु गर्छ ।
विल्ला, बब र अवन्तीबीचको सडकको रस्साकस्सीको दृश्यमा बुवा र छोरीको प्रेम मात्रै छैन । अथवा यो बुवाले छोरीलाई बचाउन गरिएको संघर्ष मात्रै होइन । यसमा आप्रवासीको मुद्दा प्रतिबिम्बित छ । खासमा विल्लाकी बायोलोजिकल बुवा स्टिभनलाई आफ्नो छोरी मान्न तयार छैन । तर, १६ वर्षदेखि विल्लाको स्याहार-सुसारमा समय खर्चेका बुवा बब, विल्लालाई साखै छोरी मान्छन् । छोरीकै लागि उनले आन्दोलनदेखि क्रान्तिकारी समूह र नियमहरु बिर्से । प्रेमिकाबाट टाढिए ।
यहाँ, बब ती आप्रवासीहरूको प्रतीक हुन्, जो आफ्नो कर्मसहित बाँच्न चाहन्छन् । तर, स्टिभन सत्ता र शक्तिको प्रतिबिम्ब हन् जो आप्रवासीलाई स्वीकार गर्न सक्दै-सक्दैन । आप्रवासीलाई विरोध गर्ने, लखेट्ने काम गरेकै कारण उनी कर्णेल बने । त्यसैले यो फिल्मले दुई बाबु र एक छोरीको सम्बन्धमार्फत शक्तिशाली राष्ट्रले समस्याका रूपमा हेरेको आप्रवासी मुद्दा उठाउँछ । अनि, फिल्ममार्फत सह-अस्तित्वको आवाज उठाउँछ ।
खासमा बब र पर्फेडियालगायतको क्रान्तिकारीले फिल्मभरि आप्रवासी जोगाउने विभिन्न संघर्ष गर्छन्, आन्दोलन छेड्छन् । तर, सत्ताले सधैँ उनीहरूलाई लखेट्न खोजिरहेको हुन्छ । बब र विल्लाको सम्बन्धमार्फत 'वान ब्याटल आफ्टर एनोदर'ले सह-अस्तित्त्वको लडाइँ देखाउँछ । खासमा बब र विल्ला आफ्नै संसारमा रमाउन खोजिरहेका हुन्छन् । तर, उनीहरूको अस्तित्वलाई स्वीकार्न नसक्दा, स्टिभनहरुले उनीहरूको संसार ध्वस्त बनाइदिन्छन् । यो फिल्म अमेरिकाको आप्रवासन गतिविधिमाथिको व्यंग्य पनि हो ।
शीर्षकझैँ 'वान ब्याटल आफ्टर एनोदर'ले 'ब्याटल' अर्थात् लडाइँको कथा सुनाउँछ । विद्रोह गर्ने विद्रोहीहरूको साहस र संघर्षको कथा पनि हो-'वान ब्याटल आफ्टर एनोदर' । अन्याय, अत्याचार, असमानता र विभेदको विरुद्धमा आवाज उठाउने लडाकुहरूलाई फिल्मले भन्छ- विश्वबाट यी कुरा समाप्त नभएसम्म लडिरहने नै हो । त्यसैले फिल्मको अन्तिमतिर पुगेपछि पर्फेडियाको विद्रोही स्वभावलाई धारण गर्दै विल्लाले आफ्नो लडाइँ सुरु गर्छिन् । सत्ता र शक्तिले सिर्जना गरेको विसंगति, नश्लवादी विचारले उनलाई लड्न लगाउँछ । ९ महिनाको गर्भ बोकेरै बन्दुकसहित विद्रोहमा होमिने पर्फेडियाकै विरासतलाई विल्लाले सम्हाल्छिन् ।
सतहमा बुवा र छोरी कथा भए पनि यो फिल्मले सामान्य शैलीमा भन्छ, यो पृथ्वी सबैको हो- त्यसैले यहाँ समान तरिकाले बाँच्ने अधिकार सबैलाई छ । रंग, भाषा, धर्मका आधारमा कसैलाई विभेद गर्नु भएन, विभेद भइहाले- विद्रोह गर्नुपर्छ । अथवा त्यही विभेद र वितृष्णाले त्यहाँ विद्रोही जन्माउँछ ।
एक्सन/क्राइम विधाको यो फिल्मले बुवा र छोरीबीचको सुन्दर सम्बन्धलाई पनि प्रस्तुत गर्छ । छोरीप्रति उनले देखाउने प्रेम होस् या जिम्मेवारी, यी दुईको सम्बन्धलाई फिल्ममा सुन्दर ढंगले देखाएको छ । सन्तानका लागि कुनै अभिभावक कुन हदसम्म पुग्न सक्छन् ? उनीहरूको सुरक्षा र हुर्काइ एक अभिभावकका लागि कत्ति महत्त्वको विषय हो ? लियोनार्दोको चरित्र बबमार्फत यसलाई प्रस्तुत गरिएको छ ।
यो फिल्म राजनीतिक मुद्दा र भावनात्मक सम्बन्धको तालमेलले मात्रै सुन्दर बनेको होइन । फिल्ममा प्रस्तुत सशक्त महिला चरित्रहरूले 'वान ब्याटल आफ्टर एनोदर'लाई झनै बलियो बनाइदिएको हो । यो फिल्ममा कहिल्यै नथाक्ने यस्तो क्रान्तिकारी महिला देखाइएको छ, जसको भूमिकामा टियाना देखिएकी छन् । पुक्क फुलेको गर्भ बोकेरै विभेदी, नश्लीय समूह, अत्याचारी अनि दमनकारीहरूमाथि पर्फेडिया निर्धक्क बन्दुक चलाउँछिन् । भर्खर जन्मिएको बच्चा छाडेरै उनी विद्रोह गर्न निस्कन्छिन् ।
'नन'को पहिरनभित्र लुकेको विद्रोही महिला होस् या भर्खरै संसार बुझ्दै गरेको किशोरी 'विल्ला' फिल्ममा थुप्रै त्यस्ता महिला चरित्र छन्, जसलाई निर्देशकले शक्तिशाली देखाउन कुनै कसर बाँकी राखेका छैनन् । अस्करमा 'उत्कृष्ट फिल्म'को अवार्ड उचालेको यो फिल्मले क्रान्तिमा होमिएकी महिला मात्रै होइन, वर्तमान समाज, सामाजिक विभेद, अत्याचार र अन्यायको विरुद्धमा आ-आफ्नो स्थानबाट विद्रोह गरिरहेका ती विद्रोही महिलाहरूलाई पनि प्रतिनिधित्व गर्छ ।
