फिल्म पहाडको ‘टिजर’मा शिव श्रेष्ठदेखि अरुण क्षेत्रीसम्म

अरुण क्षेत्री लामो समय गुमनामजस्तै रहेपछि नयाँ फिल्म ‘पहाड’मा मुख्य भूमिकामार्फत पर्दामा फर्कन लागेका छन्, जसले पहाडका सामाजिक र आर्थिक यथार्थ चित्रण गर्छ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्देशक तुलसी घिमिरे लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनको निर्देशनमा बनेको फिल्म ‘पहाड’को टिजर आइतबार रिलिजि भएको छ ।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले पनि कमब्याक गरेका छन् । फिल्म ‘महापुरुष’बाट चर्चामा आए पनि त्यसपछि अरुणका केही फिल्म खासै चलेनन् । उनी गुमनामझैं भए ।

‘पहाड’मा भने अरुण मुख्य भूमिकामा रहेको सार्वजनिक टिजरमा देख्न सकिन्छ । यो फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ,’ घिमिरेले भने । 

फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् । प्रमोद तीन दशकपछि पुन: नेपाली फिल्म खिच्न नेपाल आएका हुन् । 

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको ‘पहाड’मा तुलसीले निकै अघि चर्चित फिल्महरूमा सहकार्य गरेका अभिनेता शिव श्रेष्ठ पनि छन् । त्यसैगरी विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको  पनि अभिनय छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् । फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक छन् । 

कान्तिपुर

Link copied successfully