देशका विभिन्न स्थानबाट कलाकार मतदानमा सरिक भएका छन् ।
काठमाडौँ — देशभर भइरहेको निर्वाचनमा कलाकारले पनि उत्साहित हुँदै मतदान गरेका छन् । अभिनेता विजय बरालले सर्लाही क्षेत्र नं १ बाट मतदान गरेका छन् । मतदान स्थलबाट तस्विर सार्वजनिक गर्दै अभिनेता बरालले भोलिको परिवर्तन भन्दै आफूले मतदान गरेको जानकारी गराएका छन् ।
'आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरें,'उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।' हास्यकलाकार हरिवंश आचार्यले पनि सामाजिक सञ्जाल फेसबुकमा यो निर्वाचनले देशले खोजेको असर र सक्षम नेतृत्त्व पाउने आशा व्यक्त गरेका छन् ।
'मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरें । आशा गर्छु यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ । साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुराईदिनु भएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद,'हरिवंशले लेखेका छन् ।
अभिनेत्री सुरक्षा पन्तले पनि बुटवलबाट मतदान गरेको तस्बिर राख्दै सबैको मत समय सार्थक रहोस् भन्ने कामना प्रकट गरेकी छन् । सुरक्षा लेख्छिन्,'सम्पूर्ण नेपालको शान्ति, सुरक्षा र कसैले पनि आँखा लगाउन नसक्ने बेजोड एकताको धरातलमा रही भावी पुस्ताले बारम्बार मागिरहेको अदम्य प्रगतिको कामना गर्दै बहुमूल्य मत पठाइयो । हामी सबैको मत समय-सार्थक रहोस् ।'
अभिनेत्री रिचा शर्माले पनि चुनाव सम्भव गराएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा कार्कीसितको आफ्नो तस्बिर सार्वजनिक गर्दै रिचाले कार्कीको समूहले नै चुनाव संभव गराएको भन्दै धन्यवाद दिएकी हुन् ।
'घाइते देशलाई मलम चाहिएको थियो। यदि कोही मलम बनेर उभिरहनुभएको थियो भने, उहाँ हाम्रो आदरणीय प्रधानमन्त्री सुशीला कार्कीज्यू नै हो । चुनाव हुन सम्भव छ र ? धेरैलाई विश्वास थिएन। प्रश्नहरू थिए, शंका थिए, आरोप थिए । कसैले विदेशी प्रभावको आरोप लगाए, कसैले बाहिरी शक्तिको योजना भने । तर नेतृत्व भनेको कुरा शब्दले होइन, कामले प्रमाणित हुन्छ,'रिचाले फेसबुकमा लेखेकी छन्,'आलोचना, तर्क–वितर्क र अविश्वासको बीचबाट अगाडि बढेर जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो। योग्यता बहसले होइन, परिणामले प्रमाणित गरिन्छ ।' रिचा थप लेख्छिन्,'त्यसैले देशको जिम्मेवारी बोकेर परिणाम दिन सक्ने सबै नेतृत्वप्रति सम्मान । हार्दिक धन्यवाद प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतको समूहलाई ।'
अभिनेत्री रेखा थापाले काठमाडौं क्षेत्र नं ४ बाट आफूले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै मिलेर देश बनाउन सबै दललाई आह्वान गरेकी छन् । 'मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई ! मैले क्षेत्र नम्बर ४ काठमाडौंबाट मतदान गरे ! तपाईँहरू कहाँबाट दिँदै हुनुहुन्छ ?' रेखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
