अनिल बुढा मगर निर्देशित ‘मितज्यू’ फिल्म जेठ १५ गते रिलिज हुँदैछ ।
काठमाडौँ — गाडीको ठिक अगाडिको भागमा थचक्क बसेकी छन्, तेरिया मगर । उनलाई बीच्चमा पार्दै छेउ-छेउ उभिएका दयाहाङ राई र सौगात मल्ल भने पञ्जा लडाईमा व्यस्त देखिन्छन् ।
फिल्म ‘मितज्यू’को फस्टलुक तस्विरमा यी तीन कलाकारलाई यसरी चित्रित गरिएको छ ।दया र सौगात के-का लागि यसरी शक्ति प्रदर्शन गर्ने होडबाजीमा लागे ? फिल्म हेरेपछि नै थाहा हुनेछ । यो फिल्म भने जेठ १५ देखि प्रदर्शनमा आउनेछ ।
'घरज्वाइँ' निर्देशक अनिल बुढा मगरले निर्देशन गरेको यो फिल्ममा दयाहाङ, सौगात र तेरियासँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगरलगायतको अभिनय छ । यही फिल्ममार्फत तेरिया अभिनयमा डेब्यू गर्न लागेकी हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा लोकश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन, प्रभात विष्टको द्वन्द्व र नवीन श्रेष्ठले ध्वनी समावेश छ ।
