हरेक माघ १८ गते सिटौलाको स्मृतिमा ‘स्व दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको छ ।
What you should know
काठमाडौँ — चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ ।
सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको हो । सङ्घका अध्यक्ष समीर बलामीले हरेक वर्ष माघ १८ गते सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा सङ्घको वार्षिक उत्सवका अवसरमा ‘स्व दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको जानकारी दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गरे । उनले सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र चलचित्रकर्मीबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गरे ।
त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै सिटौलाको योगदानको चर्चा गरे उनले सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा १० हजार सहयोग प्रदान गरे ।
स्थापित अक्षय कोषमा विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ । यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट रु तीन लाखभन्दा बढी सहयोग सङ्कलन भइसकेको सङ्घले जनाएको छ । यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग सङ्कलन गरिएको जानकारी दिइएको छ ।
