झोला हराउनु पहिचान संकटको संकेत पनि हो । वैदेशिक रोजगारीको दौडमा आफ्नो भाषा, गाउँ, सम्बन्ध र सपना हराउँदै गएको पुस्ताको प्रतीक पनि ।
What you should know
काठमाडौँ — काठमाडौंको कोलाहल सडक । भिड, धुवाँ, हतार र अनिश्चितताले भरिएको परिवेश । पृष्ठभूमिमा बजिरहेछ गीत ‘सपनाको सहर ।’ यही कोलाहलबीच एक युवा आत्तिँदै भिड चिर्छन् । उनको अनुहारमा डर छ, हतास छ । हात खाली छन् । उनी कराइरहेका छन् – ‘मेरो झोला कसैले देख्नुभयो ?’
यो कुनै वास्तविक घटना होइन । यो हो सेन्ट जेभियर्स कलेज, माइतीघरका आर्ट्स संकायका चौथो वर्षका विद्यार्थीहरुले प्रस्तुत गरिरहेको नाटक ‘झोला हराएको मान्छे’ को सुरुवाती दृश्य ।
झट्ट हेर्दा यो हराएको झोलाको कथा जस्तो लाग्छ । तर, नाटक अगाडि बढ्दै जाँदा दर्शकले बुझ्न थाल्छन्, यहाँ केवल झोला हराएको होइन, गाउँबाट अनेक सपना देख्दै आएको एउटा पुस्ताको भविष्य हराइरहेको हो ।
यो झोला हराउनु पहिचान संकटको संकेत पनि हो । वैदेशिक रोजगारीको दौडमा आफ्नो भाषा, गाउँ, सम्बन्ध र सपना हराउँदै गएको पुस्ताको प्रतीक पनि हो ।
कथाको केन्द्रमा छन् रुद्रप्रसाद पोखरेल, जो आफूलाई रुद्रे भनिएको मन पराउँछन् । पाँचथरबाट झोलामा ८५ हजार र राहदानी बोकेर काठमाडौं आएका थिए । तर राजधानीमा छिरेको पहिलो दिनमै उनको झोला हराउँछ । झोलासँगै हराउँछ पासपोर्ट, कागजात र परदेश जाने सम्भावना । यही घटनाले कथालाई मोड दिन्छ । रुद्रे आफ्नो झोला खोज्दै सहरका विभिन्न पात्रसँग ठोक्किन्छन् र प्रत्येक पात्र आधुनिक नेपाली समाजको भिन्नभिन्न स्वरुप देखाउँछन् ।
एक दृश्यमा रुद्रेले भेट्छन् एक सुसज्जित कलेज विद्यार्थी । जसले जर्मन दार्शनिक इमानुएल कान्तको पुस्तकभित्र पेस्तोल लुकाएको छ । ज्ञानको पुस्तक र हिंसाको हतियार एउटै फ्रेममा देखाइने यो दृश्यले आजको द्वन्द्वग्रस्त विचारले भरिएको पुस्ताको मनोविज्ञान झल्काउँछ ।
‘पहिचान गुमाउनु वस्तु गुमाउनु भन्दा ठूलो हो’, एक ज्योतिषी पात्रले रुद्रेलाई भन्छन्, ‘पहिचान गुमाउनु वस्तु गुमाउनु भन्दा ठूलो हो ।’ यही संवाद नाटकको केन्द्रीय आवाज पनि हो ।
मैथिलीभाषी सडक व्यवसायी पात्रले बजार र पहिचानको सम्बन्धबारे प्रश्न उठाउँछन् । ‘म बेच्ने फलले चिनिन्छु कि आफ्नै नामले ?’, उनी प्रश्न गर्छन् । यो प्रश्नले पुँजीवादी समाजमा व्यक्तिको पहिचान कसरी भूमिकामा सीमित हुन्छ भन्ने देखाउँछ ।
कथाको भावनात्मक केन्द्रमा भने मुना नामक पात्र छन् । विदेश गएको श्रीमानले उतै अर्की भित्र्याएपछि उनले काठमाडौंमा सानो खाजा पसल चलाएर जीवन धानिरहेकी छन् । उनी रुद्रेलाई केवल सान्त्वना दिँदिनन्, उनलाई यथार्थसाग जुध्न सिकाउँछिन् । ‘सहरले कसैलाई बचाउँदैन, आफैं बच्न सिक्नुपर्छ,’ उनी सन्देश दिन्छिन् ।
नाटकको सबैभन्दा सबल पक्ष यसको बहुस्तरीय संरचना हो । गीत, व्यंग्य, यथार्थवाद र प्रतीकवादलाई मिसाएर कथा अघि बढाइएको छ । संवादहरू सरल छन् तर गहिरो बोकेका छन् । केही दृश्यहरू लम्बिँदा चाहिँ कथाको गति केही धिमा हुन्छ । केही संवादहरू छोट्याइएको भए अझ प्रभावशाली बन्नसक्थ्यो ।
नाटकले झोला भेटिन्छ कि भेटिँदैन भन्ने कुराको प्रत्यक्ष उत्तर दिँदैन । तर, हराएको झोलाभन्दा ठूलो प्रश्न अर्को छ, ‘रुद्रेले आफूलाई भेट्छ कि भेट्दैन ?’ कलेजका शिक्षक पर्वत लावतीका अनुसार, पहिलो दिन दुईवटा शो सफल रुपमा मञ्चन भयो । शनिबार पनि दुई शोहरु देखाइनेछ, बिहान ९ः४५ बजे र दिउँसो १२ः४५ बजे । यो शोका टिकटहरु त्यहीँ गएर लिन सकिनेछ ।
