‘माला’ र ‘रुद्रप्रिया’पछि ९ वर्षको अन्तरालमा सुदीप भुपाल सिंहले निर्देशन गरेको नयाँ पारिवारिक फिल्ममा चर्चित कलाकारहरूको अभिनय देख्न पाइनेछ।
काठमाडौँ — फागुन १ देखि प्रदर्शनमा आउने फिल्म 'श्री बुकुरो : द होम कलिङ'को ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेश समेटिएको यो फिल्मको ट्रेलरमा पारिवारिक स्नेह, मिलन र नोकझोंक देखाइएको छ ।
पारिवारिक कथामा तयार यो फिल्मलाई सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनैले लेखेका हुन् । यसअघि ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका गरेका सिंह ९ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।
मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको फिल्मलाई बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनले सम्पादन गरेका हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले खिचेको यो फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा भएको हो ।
