रोनाल्डोको ट्रफीसँगै इन्टर मिलानको फेसबुक पेजमा बज्यो ‘आँखा झिमझिम भो’

आईजीपी दानबहादुर कार्कीले रचना गरेको ‘आँखा झिम झिम भो…’ गीतमा वसन्त सापकोटाको संगीत, सदीक्षा कट्टेल र समीर खरेलको स्वर छ

माघ २१, २०८२

कान्तिपुर संवाददाता

'Eyes twinkled' on Inter Milan's Facebook page as Ronaldo's trophy arrives

What you should know

काठमाडौँ — विश्वचर्चित इटालियन फुटबल क्लब ‘इन्टर मिलान’को आधिकारिक फेसबुक पेजमा नेपाली भाषाको क्याप्सनसहित गीत पोस्ट भएपछि सामाजिक सञ्जालमा मिलान समर्थकबीच उत्साह छाएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान २:५९ बजे पोस्ट गरिएको २८ सेकेन्डको उक्त भिडियोले छोटो समयमै चर्चा बटुलेको हो । 

भिडियोको पृष्ठभूमिमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले रचना गरेको ‘आँखा झिमझिम भो…’ बोलको गीत बजिरहेको छ । दृश्यमा ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डोले ट्रफी उचालेको दृश्य देखिन्छ । उक्त भिडियो भने पुरानो फुटेज हो ।

रोनाल्डोले सन् १९९७ देखि २००२ सम्म इटालियन क्लब इन्टर मिलानबाट खेलेका थिए । रोनाल्डोको उत्कृष्ट प्रदर्शनमै ब्राजिलले सन् २००२ मा विश्वकप फुटबलको उपाधि जितेको थियो । ५ पटक ब्राजिलले विश्वकप उपाधि जिते पनि त्यसयता भने जित्न सकेको छैन । फाइनलमा फ्रान्सविरुद्ध रोनाल्डोले २ गोल गरेका थिए । 

इन्टरले राखेको यो गीत ‘गज्जब टीभी’ नामक युट्युब च्यानलबाट सात महिनाअघि अपलोड गरिएको हो । अहिलेसम्म यसले झन्डै १० लाख भ्युज कमाइसकेको छ । गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने सदीक्षा कट्टेल र समीर खरेलको स्वर छ । म्युजिक भिडियोमा अभिनेता सुनील क्षेत्री र कविता नेपाली फिचर्ड छन् ।

यो समाचार तयार पार्दासम्म इन्टर मिलानको उक्त पोस्ट १ लाख ५९ हजारभन्दा बढी पटक हेरिएको छ भने करिब ७ हजार ८ सय लाइक र ७ सयभन्दा बढी कमेन्ट आएका छन् । 

नेपाली गीत विश्वचर्चित क्लबको आधिकारिक पेजमा देखिएपछि सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया र टिप्पणीहरू आइरहेका छन् ।

कान्तिपुर

Link copied successfully