आगामी शुक्रबारदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘कुमारी’ दिनेश राउतका लागि धेरै कुराले अर्थपूर्ण छ । फिल्ममा २० को उमेर टेकिरहेका अभिषेक खड्का र त्यही उमेर समूहकी आकृति राजभण्डारीलाई उनी पहिलो पटक ठूलो पर्दामा उभ्याउँदैछन् ।
काठमाडौँ — ‘फिल्म मल्टिस्टारले मात्र चल्दैन रहेछ,’ निर्देशक दिनेश राउतलाई फिल्म ‘महाभोज’ले कठोर पाठ सिकायो । सिल्भर स्क्रिनमा दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछानेको चम्किलो उपस्थितिले पनि दर्शकहरूलाई तान्न सकेन । फिल्मको बक्स अफिसको व्यापारले उनको मन धमिलो पारिदियो ।
‘पुजार सार्की’देखि मल्टिस्टारमा रमाएका दिनेशको दोस्रो फिल्मबाट त यो मान्यतामा पूर्णविरामै लाग्यो । त्यसपछि उनले अनुहार मात्र हैन फिल्ममा पुस्ता नै बदलिदिए । त्यसकारण आगामी शुक्रबारदेखि रिलिजको तयारीमा रहेको ‘कुमारी’ दिनेशको लागि धेरै कुराले अर्थपूर्ण छ । फिल्ममा २० को उमेर टेकिरहेका अभिषेक खड्का र त्यही उमेर समूहकी आकृति राजभण्डारीलाई उनी पहिलो पटक ठूलो पर्दामा उभ्याउँदैछन् । ‘नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि नयाँ अनुहारको खडेरी देखिन्छ । प्रदीप खड्का र अनमोल केसी स्थापित भएको पनि १० वर्ष भइसक्यो,’ दिनेश भन्छन्, ‘एउटै अनुहारको वरिपरी घुमिरहेको फिल्म वृत्तमा नयाँ अनुहार ल्याउन मन थियो ।’
दिनेशका लाग त्यही अनुभूतिको उपज हुन् कुमारीमा देखिने नयाँ अनुहारका अभिषेक र आकृति । दिनेशको प्रस्टोक्तिले अर्को प्रश्न पनि जन्माइरहेको थियो– उसो भए अनुहार कथाले मात्र मागेको थिएन ? ‘मागेको कथाले नै हो,’ दिनेश थप्छन् । उसो त नेपाली फिल्ममा ४० माथिका चल्तीका अनुहारलाई पनि फिल्ममा २० वरिपरिका पात्रमा रुपान्तरण गरिन्छ । वर्षौंअघि कलेजको दैलो छाडेको कलाकार पनि फिल्ममा स्कुल ड्रेस लगाएर कक्षाकोठाको अभिनय गरिरहेका हुन्छन् । त्यो कति अविश्वसनीय र भद्दा देखिन्छ भन्ने कुरा दर्शकले सहजै अनुमान लगाउन सक्छन् । ‘मलाई त त्यसो गर्नु थिएन । कथामा विश्वास जगाउनु थियो । यस्तो अनुहार चाहिएको थियो जुन दर्शकका लागि नयाँ होस् र पात्रका लागि दुरुस्तै मिलोस्,’ दिनेश भन्छन् ।
अडिसनकै क्रममा भेट भएका थिए अभिषेक र आकृति । उनीहरू छानिए । तर काम गर्न स्थापित कलाकारझैं सहज कतिको थियो ? ‘स्थापित कलाकारसँग काम गर्दा निर्देशकलाई जिम्मेवारी बाँडिएको जस्तो लाग्छ, तर नयाँसँग काम गर्दा सबै भारी निर्देशककै काँधमा हुन्छ । कलाकारहरू पूर्ण निर्देशकमै निर्भर हुने भएकाले उनीहरूको काम निकाल्नु ठूलो चुनौती थियो,’ दिनेश इमान्दरिताका साथ भन्छन् । तर नयाँ कलाकारसँग काम गर्नुको बेग्लै आनन्द पनि दिनेशसँग छ । ‘जेन–जी पुस्ताको सोच्ने, बुझ्ने र प्रतिक्रिया दिने शैली हाम्रो पुस्ताको भन्दा निकै फरक छ । हाम्रो पालामा जुन कुरालाई हामी ठूलो मान्थ्यौँ, आजको पुस्ताका लागि त्यो निकै सामान्य लाग्ने रहेछ,’ दिनेश भन्छन् ।
उनीहरू दिनेशको पुस्ताभन्दा फरक तरिकाले भावना व्यक्त गर्दा रहेछन् । ‘वर्कसपका क्रममा कुनै भावनात्मक दृश्यलाई अभिषेकले भने सामान्य रूपमा लिए । त्यो देखेर म दंग परेँ,’ दिनेश भन्छन् ।
प्रेमका रुमानी कथामा हराइरहेका दिनेशले ‘प्रसाद’ ‘प्रकाश’ हुँदै सामाजिक विषयमा आफूलाई अभिव्यक्त गरिरहेका थिए । तर ‘कुमारी’बाट उनले आफ्नो फिल्ममा प्रेमकै लय पकडे । ‘तर यसपालिको प्रेमकथा पहिलेको जस्तो अविश्वसनीय छैन,’ दिनेश आत्मसमीक्षासहित भन्छन् । ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्महरूलाई फर्केर हेर्दा उनलाई कतै न कतै लाग्छ, ‘यी यथार्थ जीवनजस्ता छन् त ?’ फिल्म भनेको मानिसको जीवनको प्रतिबिम्ब हुनुपर्छ र यो स्वभाविक हुनुपर्छ भन्ने लाग्छ दिनेशलाई अहिले । र आजको आँखीझ्यालबाट चियाउँदै उनी ती फिल्म अझै राम्रा बन्न सक्ने कुरामा सहमत छन् । ‘त्यतिखेर मलाई अलि साहित्यिक र नाटकीय संवादहरू नै राम्रो लाग्थ्यो, तर अहिले सुन्दा हाँसो उठ्छ,’ उनी थप्छन् ।
‘प्रसाद’देखि दिनेशलाई जीवनसँग नजिक कथाहरूले ताने । त्यसरी तानेर नै उनीले जुम्लाका प्रकाशजस्ता पात्रहरूको अँध्यारा कथा भने ।
यद्यपि ‘प्रसाद’ र ‘प्रकाश’मा दर्शकहरूको स्याबासी मात्र हैन, समीक्षकहरूको कठोर आलोचना पनि उनले सामना गर्नुपर्यो । ‘प्रसाद’मा बलात्कारपश्चात् जन्मिएको बच्चालाई प्रसादको रूपमा पात्रहरूले ग्रहण गरिएको कुरालाई विज्ञ एवं समीक्षकहरुबाट त्रुटिपूर्ण मानिएको थियो । ‘प्रकाश’मा कोटा सिस्टममाथि प्रहार गरिएको भन्ने आलोचनात्मक प्रश्नले उनी घेरिएका थिए । उनको फिल्म ‘पुजार सार्की’ले व्यावसायिक सफलता हासिल गर्यो । तर यो फिल्म पनि प्रशंसासँगै आलोचनाबाट मुक्त हुन सकेन । फिल्ममा शास्त्रमार्फत् जात व्यवस्थाविरुद्धको भूमिकालाई लिएर धेरै असहमति आलोचना पनि आए । प्रशंसा मात्र हैन, आलोचनाले पनि एउटा फिल्ममेकरको ‘ग्रोथ’का लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छन् दिनेश । ‘मैले आलोचनाहरूलाई कहिल्यै इन्कार गरिनँ । स्वागत र स्वीकार गरिरहेँ,’ दिनेश भन्छन् ।
अघिल्ला फिल्महरूमा पनि उनका आत्मसीक्षा छन् । जस्तो कि दिनेश आफू कता कता सिर्जनात्मक रूपमा बजारबाट निर्देशित भइरहेको हो कि भन्ने भान गरिरहेका थिए । त्यसरी एउटा निर्देशक कसरी इमानदार हुन सक्ला र ? उनलाई लागेको थियो । ‘यदि म सिर्जना गर्ने मान्छे हुँ तर बजारले मात्र गाइड गरिरहेको छ भने कतै न कतै आफैंलाई ठगिरहेको छु भन्ने लाग्यो,’ दिनेश आफैंमाथि निर्मम भएर भन्छन् ।
अन्ततोगत्वा त्यही महसुसले उनलाई बजारको भन्दा कथाको मागअनुसार काम गर्ने निर्णयमा पुर्यायो । ‘कुमारी त्यही निर्णयपछिको कदम हो,’ दिनेश भन्छन् । झट्ट नामले त यो फिल्म नेवार समुदायमा प्रचलित प्रसिद्ध प्रथासँग नजिक हो कि झैं लाग्छ । तर दिनेशको दाबी छ, ‘यो फिल्म नेवारी संस्कृतिको 'कुमारी प्रथा' सँग कुनै सम्बन्ध राख्दैन ।’
उनका अनुसार यो फिल्मको मूल विषयवस्तु सहरी समाजमा व्याप्त 'हिपोक्रेसी' वा पाखण्डपन हो । हाम्रो समाजमा मानिसहरू बाहिरबाट एउटा देखिन्छन् तर भित्र अर्कै हुन्छन् । ‘विशेषगरी सहरी समाजका मानिसहरू आफूलाई निकै आधुनिक र परिवर्तनकारी देखाउन खोज्छन्, तर जब त्यही कुरा आफ्नो व्यक्तिगत जीवनमा लागू हुन्छ, उनीहरू रुढीवादी सोचमा फर्किन्छन्,’ दिनेश आकलन गर्छन् ।
आदर्शका कुरा गर्ने मान्छेले व्यावहारिक जीवनमा कस्तो व्यवहार गर्छ त ? यही प्रश्नको जवाफ नै फिल्मको कथा भएको बताउँछन् दिनेश । अब त्यो जवाफ कति अर्थपूर्ण छ, कति काव्यात्मक र कलात्मक छ ? कति जीवनसँग नजिक छ ? त्यो भने फिल्म रिलिजअघिसम्म प्रतीक्षारत रहनेछ ।
