‘वीरगन्ज आइडल’ गायन रियालिटी शो हुँदै

‘वीरगन्ज आइडल’को अडिसन आगामी फागुन २ गते आयोजना गरिनेछ ।

माघ १८, २०८२

शंकर आचार्य

'Birgunj Idol' singing reality show to be held

पर्सा — नेक्स्ट जेनेरेसन ईभेन्ट प्रालिको आयोजनामा वीरगन्जमा गायन रियालिटी शो ‘वीरगन्ज आइडल’ आयोजना हुने भएको छ ।

यसअघि वीरगन्ज स्कुल आइडलका दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभवका आधारमा यसपटक खुला प्रतिस्पर्धाको रूपमा ‘वीरगन्ज आइडल’ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ‘वीरगन्ज आइडल’को अडिसन आगामी फागुन २ गते आयोजना गरिनेछ ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मार्फत वीरगन्ज तथा आसपासका क्षेत्रका लुकेका गायन प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगितका निर्णायक मध्येका एक सद्दाम हुसेनले प्रतियोगितामा १५ वर्षभन्दा माथिका सबै उमेर समूहका प्रतिभाले सहभागिता जनाउन सक्ने बताए ।

कार्यक्रम अडिसन, राउण्ड र फाइनल गरी तीन चरणमा सन्चालन हुनेछ । अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरिनेछ । कार्यक्रमको निर्णायक मण्डलमा हरिरत्न तुलाधर, अशोक प्रधान, सद्दाम हुसेन र प्रभात यादव रहनेछन् ।

कार्यक्रमको प्रस्तोता पत्रकार सूर्य शुभचिन्तक रहनेछन् । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, कभर म्युजिक भिडियोमा गायन गर्ने अवसरसहित अन्य आकर्षक उपहारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकले गायन क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभालाई सहभागिताका लागि आग्रह गरेको अर्का निर्णायक तुलाधरले बताए । कार्यक्रम माई टेलिभिजनबाट प्रसारण गरिने छ । उक्त अवसरमा बिजेताले पाउने ट्रफी पनि सार्वजनिक गरिएको थियो । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully