‘बहुरिया’ले मधेसका महिलाको पीडा, साहस र पितृसत्तावादी समाजसँगको लडाइँ उजागर गर्छ ।
What you should know
काठमाडौँ — बन्द कोठा । कोठाका चारैतिर झुन्ड्याइएका छन् डोरीहरु । झट्ट हेर्दा यही डोरीले कोठालाई कारागारजस्तो बनाइदिएको छ । जताततै डोरी मात्रै । त्यही डोरीमै दुलहा र दुलहीको कठपुतली बाँधिएको छ ।
दुलही कठपुतलीले रातो सारी पहिरिएकी छन् भने सेतो धोतीमा देखिन्छन्, दुलहा । राम र सिताको जेलिएको सम्बन्ध, उनीहरुका मनस्थिति र वर्तमान अवस्था बुझाउन मञ्चमा प्रयोग यी प्रप्स प्रयाप्त छन् । त्यसमाथि कोठाको दुई कुनाका मिथिला चित्रले सिधै हामीलाई मधेसको एउटा यस्तो घर पुर्याइदिन्छ, जहाँ रामचरणलाई बन्दी बनाइएको छ ।
एउटा खटिया अनि सानो दराज । छेउमा सिलाइ गर्ने मेसिन । कोठामा खासै अरु सामान छैनन् । छन् त बन्दी बनाइएको रामलाई दु:ख दिन आइरहने एक हुल झिंगा । ती झिंगाका भुनुनुनु आवाज अनि पृष्ठभूमीमा सुनिने केही पुरुषको हप्काहप्कीमै रामलाई बन्दी बनाइएको विषय स्थापित गराइन्छ । बाँधिएको त्यही हात, छटपटी र झिंगाले सताइरहेको रामचरणको दृश्यसँगै नाटक 'बहुरिया'को कथा अगाडि बढ्छ । मण्डला थिएटरमा मञ्चनरत यो नाटक जति अगाडि बढ्दै जाँदा तब खुल्दै जान्छ, बन्दी बनाइएको असली पात्र ! आखिर रामचरणलाई आफ्नै पत्नी सिता र उनको परिवारले किन बाँधेर त्यसरी छटपटिन छाडिदिए त ?
यो नाटकले भन्छ, अब सिताहरुले पर्खने काम मात्रै गर्दैन, आफ्नो लागि बोल्न जानेको छ । हक र अधिकार खोज्न जानेको छ । मैथली र नेपाली भाषामा तयार यो नाटकको कथा नौलो होइन । मधेसका जिल्लाहरुमा घट्दै आएको एक घट्नामाथि नै नाटक बनेको छ । तर, सुरज यादव निर्देशित नाटकले यो कथालाई प्रस्तुत गर्न समाएको प्रस्तुतिकरणको शैली र यसले प्रवाह गर्ने सन्देशले 'बहुरिया' बुलन्द छ । एक शसक्त महिला मुद्दा बोकेको यो नाटकले महिला पात्र सिताको भोगाई, समाजबाट सहेको तिरस्कार र उनले यी सबै पक्षसँग लड्न समाएको साहसको कथा सुनाउँछ । सरिता गिरीको रचनात्मक निर्देशन रहेको यो नाटकले पितृसतात्मक समाज र त्यसले महिलाका जीवनमा पारेको असर देखाउँछ ।
खासमा सितासँग जबरजस्ती बिहे गर्न राजी भएका हुन्छन्, राम । बुवाको इच्छाविपरित जान नसक्दा उनले सितासँग बिहे त गर्छन् तर, बिहेलाई स्वीकार्दैनन् । सितालाई एक्लै छाडेर शहर भाग्छन् । पितृसतात्मक समाजले पुरुषलाई बिहेबाट भाग्ने बाटो दिएको छ । तर, रातो सारी, रातै चुरी अनि रातै सिन्दुरमा सजिएकी सिताहरुलाई त्यसपछि समाजले कस्तो लाञ्छना सुनाउँछ ? समाजबाट सिताले कस्तो व्यवहार पाउँछिन् त ? आफ्नै परिवारले सितालाई कस्तो व्यवहार गर्ला ? कस्तो वचन सुनाउँला ? पति आउने पर्खाईमा बसेकी सिताको प्रतिक्षा ४ वर्ष लम्बिन्छ भने त्यतिञ्जेल उनको मानसिक स्वास्थ्य कस्तो अवस्थामा पुगिसक्ला ? 'बहुरिया'ले महिलाले समाजबाट भोग्ने यस्तै तिरस्कार, अपहेलनासँग जुध्दै कसरी आफ्नो अस्तित्व र उन्मुक्त जीवन बाँचिरहेका छन् भन्ने अठोट, हिम्मतको कथा प्रस्तुत गर्छ ।
यो नाटकले भन्छ, अब सिताहरुले पर्खने काम मात्रै गर्दैन, आफ्नो लागि बोल्न जानेको छ । हक र अधिकार खोज्न जानेको छ । जेलिएको सम्बन्ध, पितुसतात्मक समाजविरुद्ध उभिन सिकेको छ । आफ्ना पीडाहरुमा हास्न सिकेको छ । त्यो भन्दा बेसी विषाक्त सम्बन्ध, प्रेम र भावनालाई त्यागेर उन्मुक्त हुन जानेको छ । जे होस्, यो नाटकले त्यस्ती सितालाई मञ्चमा उभ्याउँछ जो आफ्नो चिरहरणको बदला लिन सक्दछिन् । प्रश्न गर्न सक्दछिन् । त्यसैले त उनी रामलाई भन्छिन्,'अँहा के इच्छा, इच्छा । हमर इच्छा भिक्क्षा ?' यो नाटकमा एउटा यस्तो दृश्य छ, जहाँ प्रमुख पात्र सिता पितृसत्ताभन्दा माथि उभिएकी हुन्छिन् । आफूलाई बाँध्ने ती तमाम सम्बन्ध, पर्खाई र प्रेमलाई त्यागिदिएपछि उनी स्वतन्त्र हुन्छिन् । अनि निस्फिक्री, स्वतन्त्र हावामा उडिरहन्छिन् । यो नै नाटकको शक्तिशाली दृश्य हो । 
'बहुरिया'ले पितृसत्तालाई पक्रिरहने ती पुरुषहरुलाई पनि प्रश्न गर्छ, जो यसको विरुद्ध उभिन जान्दैन । पढेलेखेको राम बुवाको इच्छाको विरुद्धमा बोल्न सक्दैन । दाइजो लिन अनकनाउँदैन । उल्टै विभिन्न बहाना देखाएर समाजका प्रश्नहरुबाट भाग्न खोज्छ । अनि त्यही महिला पात्रमाथि आफ्नो शक्ति प्रदर्शन गर्छ, अनेक बहानामा फकाउन खोज्छ । नाटकको राम चरित्रले हाम्रै समाजमा रहेका विषाक्त पुरुषत्त्वलाई व्यंग्य गर्छ जो यो समाज, यहाँका गलत चलनका विरुद्धमा खडा हुन सक्दैन ।
यो नाटकमा राम र सिताको कथालाई भन्न संगीतको सुमधुर प्रयोग छ । यो पक्ष नै नाटकको अर्को बलियो पक्ष हो । जसै, सिताले आफ्नो बिहेको क्षण सम्झिन्छिन्, तब पृष्ठभूमीमा बिहेको दिन गाइने मैथली संगीत घन्किन्छ -'दुल्हन धिरेधिरे चलियो, ससुर गलियाँ' । यो समाजले महिलाकै लागि कस्ता नियम र कानुन बनाइएका हुन्छन् ? नाटकमा प्रयोग गीतहरुले पनि नेपाली समाजलाई खबरदारी गरिरहन्छ ।
प्रशंसा सिवाकोटीले नाटकमा सिता चरित्रको उतारचढाव, मानसिक परिस्थिति र भावभंगीलाई सजिव बनाइदिएकी छन् । एउटा दृश्यमा सिताले त्यो सत्यलाई स्वीकार्छिन् जसमा उनी विश्वास नै गर्न चाहदिनन् । त्यतिबेला उनले आँखामा गाँजल, अनि सिउँदोमा सिन्दुर लगाउँछिन् । त्यसपछि स्वतन्त्र हाँसो हाँस्छिन् । यो दृश्यमा प्रशंसाले सिता चरित्रको अर्धचेतन मनलाई समेत मञ्चमा प्रस्तुत गर्छिन् । यो दृश्यमा प्रशंसाले प्रशंसालायक अभिनय गरेकी छन् । राम बनेका निर्देशक सुरजले पनि यो चरित्रभित्रको छटपटी, अहंम र पाखण्डी स्वभावलाई अभिनयमार्फत प्रस्तुत गरेका छन् । एउटा दृश्यमा राम साडीको सप्कोभित्रबाट सितालाई हेर्दै हुन्छन्, यो दृश्यमा राम चरित्रमा आएको परिवर्तन सुरजको आँखा र शरिरमै प्रस्तुत हुन्छ ।
नेपाली फिल्म होस् या रंगमञ्च, साहित्य होस् या संगीत, मधेस छुटेकै विषय हो । तर सुरज यादवजस्ता सचेत निर्देशकले ल्याउने यस किसिमको बलियो कथाले नै रंगमञ्चमा विविधता थपिने हो । यस्तो संवेदनशिल विषयमाथि गरिएको यस्तो प्रस्तुति नै रंगप्रेमी दर्शकका लागि नयाँ स्वाद हो । 'बहुरिया' नेपाली रंगमञ्चकै लागि पनि नयाँ पुस्ता सुरजहरुले दिएको उपहार हो ।
