महोत्सवको १० औं संस्करणमा नेपालका सय कलाकार, दक्षिण कोरिया, भारतदेखि स्वीजर ल्यान्डबाट सहभागी गायक/गायिकाका १३ लाइभ प्रस्तुति थिए ।
काठमाडौँ — संगीत महोत्सव 'इकोज इन द भ्याली– फेस्टिभल अफ म्युजिक २०२६' सम्पन्न भएको छ
महोत्सवको १० औं संस्करणमा नेपालका सय कलाकार, दक्षिण कोरिया, भारतदेखि स्वीजर ल्यान्डबाट सहभागी गायक/गायिकाका १३ लाइभ प्रस्तुति थिए ।
जनवरी २३ र २४ मा ललितपुरको खोकनामा आयोजना भएको यस महोत्सवमा १५ फरक-फरक अनुभव पनि प्रस्तुत गर्ने कार्यक्रम राखिएको थियो । महोत्सवमा करिब ८ हजार दर्शक सहभागी रहेको 'इकोज इन्द द भ्याली- फेस्टिभल अफ म्यूजिक'का प्रड्युसर भूषण शिल्पकारले जनाए ।
महोत्सवले १० औं वर्षसम्म आइपुग्दा नेपाली मात्रै नभई अन्य देशलाई पनि संगीतमार्फत नेपालसँग जोड्न सफल भएको शिल्पकारले सुनाए । ‘यो पटक स्विटजरल्यान्ड र साउथ कोरियाबाट पनि कलाकार आउनु भएको छ । यी दुई देशसँग जोडिएको यो नयाँ उपलब्धि हो । अब हाम्रा कलाकार पनि यी दुईमा प्रस्तुति दिन जान पाउनुहुनेछ,’ उनले भने ।
भूषणको समूहसँग यो पटकदेखि महोत्सव स्थानीय स्तरमा भिज्न थालेको अनुभव छ । यो पटक उनलाई पनौतिदेखि ‘इकोज इन्द द भ्याली’ आयोजना गरिदिने अनुरोध आए । बन्दीपुरबाट पनि यो कार्यक्रम गरिदिनुपर्ने आग्रह आयो । स्थानीय संस्कृति र स्थानीयसँगको सहकार्यका कारण पनि यस किसिमको अनुरोधहरु आउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘एकचोटी कार्यक्रम गर्दा ५ देखि ८ लाखको व्यापार हुन्छ । स्ट्रिट फेस्टिभलमा थुप्रै मानिस पनि आउने भए, त्यसैले पनि हामीलाई कतिले यो कार्यक्रम गरिदिन आग्रहसहितको फोन आउँछ ।'
खोकनाले पनि यसै गरी निम्तो गरेपछि यो पटक ‘इकोज इन्द द भ्याली’ त्यहाँ पुगेको हो । खासमा यो महोत्सव एकै ठाउँमा मात्रै केन्द्रित हुँदैन । सहरका चोकहरुमै कार्यक्रम गर्दै सहर नै परिक्रमा गर्ने उदेश्य महोत्सवले बोकेको छ । जस्तै, यो पटक ‘इकोज इन्द भ्याली’ खोकना मात्रै पुगेन, त्यहाँका सहर चिनाउने कार्यक्रमका रुपमा यसले ‘हेरिटेज वाक’ गरायो । जहाँ खोकनाका सभ्यता, संस्कृतिमाथि उपस्थितले जानकारीहरु बटुले ।
खासमा यो महोत्सवको जन्म सन् २०१७ मा भएको हो । त्यतिबेला सांगेतिक समूह ‘कान्ता ड्याब ड्याब’ले ‘स्ट्रिट फेस्टिभल’सहित सांगितिक प्रस्तुति गर्ने चाहना राख्यो । एउटा यस्तो महोत्सव जहाँ संगीत सुन्न पैसा तिरिरहनु नपरोस् । चोकैमा हुनेहरुले पनि संगीतको मज्जा लिन पाओस् । त्यतिबेला भूषण फोटो सर्कलका सह-संस्थापक थिए । ब्यान्डले भूषणलाई यो आइडिया सुनायो । उनीहरुले मिलेर असनबाट यो महोत्सव सुरु गरे । संगीतसँगै विभिन्न गतिविधिसहितको कार्यक्रममा उपस्थित हुन चाहनेलाई नि:शुल्क प्रवेश गरिएको थियो । त्यसपछि कार्यक्रम गर्न उनीहरु बनेपा पुगे । त्यसपछि तेस्रो संस्करण काठमाडौंमै भयो । कोभिडबीच भर्चुअल महोत्सव आयोजना गरे । त्यसपछि कीर्तिपुर, बुङ्गमति हुँदै यो कार्यक्रम खोकना आइपुग्यो । सन् २०२३ बाट भने महोत्सव २ दिनका लागि लम्बिएको हो । त्यतिबेला टेकु र असनमा दुई दिन गरिएको यो कार्यक्रम त्यसयता २ दिने महोत्सवका रुपमा सञ्चालनमा आएको छ ।
‘यसपालि राम्रो भयो महोत्सव । हाम्रो लागि यो महोत्सवमा मान्छे आउँदैन भन्ने नै हुँदैन । महोत्सवको डिजाइन नै यसरी समुदायस्तरको छ कि यसमा उहाँहरुको उपस्थिति भएकै हुन्छ,’ भूषणले भने, 'हामी हरेक वर्ष नयाँ सहर छिर्छौं । सुरुमा नपत्याइदिए पनि मानिसहरु आउन थाल्नु भएपछि स्थानीयले हामीलाई विश्वास गरिदिनुहुन्छ ।' यो वर्ष महिलाहरु केन्द्रित गर्दै संगीतमाथि कार्यशाला पनि आयोजना गरेको छ । यो वर्ष महोत्सवमा प्रस्तुति दिन गायक आर्को मुखर्जी पनि उपस्थित थिए ।
