फिल्मले टिकटकबाट भाइरल हुन खोज्ने पात्रको कथा समेटेको छ ।
What you should know
काठमाडौँ — खासमा सामाजिक सञ्जाललाई मानिसले चलाउनुपर्ने हो ! तर, त्यही सामाजिक सञ्जालले मानिसलाई चलाउन थाले के होला ? हलमा प्रदर्शनरत निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाईरल गोर्खे’मा सामाजिक सञ्जालले मानिसलाई कसरी असामाजिक बनाउँदैछ भन्ने विषय उठाइएको छ ।
कोही किन सामाजिक सञ्जालको नियन्त्रणमा छ, यसले नेपाली समाजलाई कत्तिको सामाजिक बनाउला ? भन्ने सशक्त मुद्दा उठाएको यो फिल्मले समाएको विषय नेपाली समाजका लागि वास्तवमै महत्त्वपूर्ण हो । तर, सतही प्रस्तुति, पट्यारलाग्दो संवाद र उही पुरानै शैलीको कथा वाचनले ‘भाईरल गोर्खे’ले समातेको यो मुद्दा फितलो बनेको छ ।
फिल्मको कथा गोपालजंग पाँडे उर्फ गोर्खे(सौगात मल्ल)को हो । पाँडे गाउँका गोर्खे टिकटक चलाएर भाइरल बन्न चाहन्छन् । किन ? कारण जान्न फिल्म नै हेर्नुपर्ने हुन्छ । अब यो पात्रले भाइरल बन्न के-के गर्लान् त ? गोर्खेले भाइरल बन्न गर्न केही विचित्र क्रियाकलापमा नेपाली समाजका ती तमाम पात्रलाई व्यंग्य गर्छ, जो चर्चित हुन जे पनि गर्न तयार हुन्छ । तर, यो फिल्मले भाइरल बन्न पाँडेले चालेका कदमहरु खासै मजबुत ढंगले उभ्याएको छैन ।
जस्तै, आफ्नो उद्देश्य प्राप्तिका लागि प्रमुख पात्रले जति संघर्ष गर्यो, जति उसका यात्रामा बाधा आइपुग्यो तब त त्यो पात्रले चाल्ने हरेक कदमले दर्शकलाई उक्त पात्र र उनको यात्रासँग जोड्छ । तर, यो फिल्ममा भाइरल बन्न गोर्खेले खासै केही गर्नै पर्दैन । प्रमुख पात्रका सबै अल्झन सहजै पार हुन्छन् । टिकटक बनाउन चाहिने मोबाइल किन्न बाख्री आमाको बाख्रा बेचिदिन्छन् । अप्ठ्यारा परिस्थितिमा सघाउन साथीहरु हरदम तयार हुन्छन् । भाइरल हुन गोर्खेले केही गर्दैन भन्ने त होइन । तर, उसले आफ्नो उद्देश्य पूरा गर्न खासै मिहेनत नै गरिएको देखाइँदैन । पटकथा लेखनले यी पक्षमा बलियो अभ्यास गरिदिएको भए, सामाजिक सञ्जालतर्फ ढल्किरहेको नेपाली समाजका लागि 'भाईरल गोर्खे' गतिलो खुराक बन्ने थियो । के थाहा ? फिल्म नै भाइरल हुन सक्थ्यो । त्यसमाथि त्यही साथी, त्यही भट्टी, अनि प्रेमिका ! नेपाली फिल्मका प्रमुख पात्रलाई स्थापना गर्न अन्य निर्देशकले प्रयोग गर्दै आइरहेको यस्तै तत्त्वमै पनि यो फिल्म नौलो देखिन्न । त्यसमाथि थपिएको छ, विदेशको प्रसंग । फिल्मको प्रमुख पात्रलाई टिकटकर बन्ने करिअरतर्फ संघर्ष निर्माण गर्न नसक्दा विदेशको विषय त्यसै जबरजस्त जोडिएको छ । यी मुद्दाहरुले फिल्म झनै लम्बेतान बनाइदिएको छ ।
फिल्मका केही दृश्य त विश्वासिलो पनि लाग्दैन । जस्तै, पाँडे गाउँमा सबैको हात-हातमा मोबाइल छ । तर, गोर्खे अझैसम्म टिकटकबारे अनभिज्ञ छन् । 'पूर्णबहादुरको सारङ्गी'देखि टिकटकमाथिको प्रतिबन्धसम्मको विषय समेट्ने फिल्मले प्रमुख पात्रलाई यति लद्दु देखाउँदा त्यसै किसिमले उनको संसार पर्दाभित्र सिर्जना गरिनु पर्थ्यो ।
यो फिल्मको संवाद पनि प्राकृतिक सुनिँदैन । फिल्मका पात्रहरु दैनन्दिनमा बोल्ने भन्दा ठूल्ठूला संवाद बोल्छन् । ती पात्रको पृष्ठभूमि, वर्तमान अवस्था अथवा निगमले देखाउन खोजेको चरित्र सुहाउँदो संवाद नै फिल्ममा छैन । बोलीचालीको भाषा भन्दा पनि कुनै पटकथामा लेखिएका संवाद उच्चारण गरेझैं सुनिन्छ । गाउँको सेटिङमा बनेको फिल्मका गाउँले चरित्रले भाषणमा प्रयोग हुनेजस्ता संवाद बोले, अथवा अर्ती उपदेश दिने ठूल्ठूला शब्दहरु प्रयोग गरे कस्तो सुनिएला ? संवाद लेखनमा यी पक्षमाथि ध्यान दिइएको भए पनि फिल्मले दर्शकको ध्यान बाँध्ने थियो । अर्को त यो फिल्ममा नेपाल भाषाको प्रयोग पनि झर्कालाग्दो छ । अभिनेत्री सृष्टि श्रेष्ठले जब-जब नेवारी लवजमा संवाद कहन्छिन्, तब ती संवादमा नेवारीभन्दा बेसी पटकथा उच्चारण सुनिन्छ । उक्त लवजलाई चरित्रमा अन्तर्निहित गर्दै बोलिएको भए त्यो चरित्रसँग दर्शक चाँडै जोडिने थिए । सुधार गर्न सकिने यी सम्पूर्ण पक्षबीच केही कालजयी गीतहरुमा भने फिल्म जीवन्त भेटिन्छ ।
‘बतासैले उडाइलग्यो, माया मेरो’को नक्कल पर्दामा हुबहु देखिन्छ । त्यसमाथि सौगातले गरेको शिव श्रेष्ठको नक्कल ! फिल्मभरि सौगातले शिवको भावभांगीलाई पछ्याएका छन् । फिल्मको यो गीतमा पनि उनी शिव श्रेष्ठको ‘डुब्लिकेट’ नै देखिएका छन् । हुन त कसैको नक्कल गर्नु मात्रै अभिनय होइन । तर, यस पक्षमा पनि सौगातले आफूलाई अब्बल ठहराएका छन् । तर, उनीजस्ता कलाकारलाई नक्कल भन्दा यस्तै मौलिक चरित्र निर्माण गराउने फिल्म उपयुक्त हुन्थ्यो, जसले उनका अभिनयका निखार थप्न सहयोग गर्ने थियो । नेवारी लवज बाहेकका अन्य दृश्यमा सृष्टिले पनि ‘मिस गीताञ्जली’को चरित्रलाई सजीव बनाएकी छन् । छोटो भूमिका पाएकी मिस पबीको अभिनय चरित्र सुहाउँदो छ । गोविन्दको चरित्रलाई पनि दर्शकले सम्झिरहन्छन् । यी कलाकारका अभिनय नै फिल्ममा दर्शक बाँध्ने कडी बनेको छ ।
यो फिल्ममा गोर्खेको रुने शैली भने रोचकै छ । उनी रुँदा दर्शक गललल हाँस्छन् । दर्शक हसाउँदै विषयवस्तुको गहिराईमा दर्शकलाई पुर्याउन सक्ने सामर्थ्य यस पटक निर्देशक श्रेष्ठको हातबाट छुटेको छ । खास अर्थमा यस किसिमको बलियो मुद्दा बोकेको फिल्म त दर्शकबीच भाइरलै हुने गरी आउनुपर्ने हो, तर निर्देशकले कथा वाचनलाई सशक्त नबनाउँदा 'भाईरल गोर्खे' दर्शकबीच भाइरल बन्दैन ।
