निर्माता दिनेश खड्का र निर्देशक जनक खड्काको टोलीले गाउँपालिकामा फिल्म प्रदर्शन गरेर स्थानीय दर्शकसँग प्रत्यक्ष संवाद गरेका छन् ।
काठमाडौँ — चलचित्र विकास बोर्डले तनहुँ जिल्लामा पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम सुरु गरेको छ। फिल्म हल नपुगेका स्थानमा घुम्ती फिल्म प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल गर्नुका साथै विद्यार्थीसँग फिल्म संवाद गर्ने उदेश्यले बोर्डले यो कार्यक्रम गरेको हो ।
बोर्डले फिल्म ‘कोसेढुंगा’, ‘रंगी’ तथा लघु फिल्म ‘खुशी’लाई म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका केही वडाहरुमा प्रदर्शन गरेको छ ।
‘कोसेढुंगा’ का निर्माता तथा कलाकार दिनेश खड्का, चलचित्र लेखक तथा निर्देशक जनक खड्का, फिल्म व्यवस्थापक सुवासराज काफ्ले, सम्पादक नहकुल खड्कासहित बोर्डका अधिकृत हरिसिंह रैखोला लगायतको टोली कार्यक्रमका लागि बन्दिपुर पुगेका छन् । यो कार्यक्रम माघ २ देखि सुरु भएको हो ।
