विश्वभरका ८ सय फिल्ममध्ये १७० छनोट गरिएका यस महोत्सवमा चार नेपाली फिल्मसहित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दाहरूमा बहस गरिनेछ ।
काठमाडौँ — काठमाडौंमा अहिले 'क्वेयर फिल्म फेस्टिभल' सुरु भएको छ । डकस्कुलको चलचित्र शैक्षिक कार्यक्रम अन्तर्गतको महोत्सवको दोस्रो संस्करण थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा फिल्म देखाउँदै सुरु भएको हो ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दाहरूमा बनेका विश्वभरिका फिल्म प्रदर्शन गर्ने र उनीहरुका मुद्दामाथि बहस गर्ने उदेश्यले यो महोत्सव सुरु भएको हो । १० दिनसम्म चल्ने यो महोत्सवमा फेस्टिभलमा १७० भन्दा बढी फिल्म प्रदर्शन हुने बताइएको छ । विश्वभरबाट प्राप्त ८ सय फिल्ममध्येमा १ सय ७० फिल्म छनोट गरिएको महोत्सवका सह-निर्देशक क्षितिज अधिराजले जनाए । उनका अनुसार महोत्सवमा चार नेपाली फिल्म पनि प्रदर्शनमा राखिएको छ ।
यी फिल्ममा 'क्वेयर' समुदायका मानिसको जीवन अनुभव, सामाजिक अवस्था र राजनीतिक यथार्थ उजागर गरिएको छ । माघ १० सम्म सञ्चालन हुने यस महोत्सवमा छानिएका फिल्महरु ऐरावत पिक्चर हाउसको 'माइक्रोसिनेमा अडिटोरियम'मा प्रदर्शतरत हुनेछ । आर्टहाउसका फिल्म प्रदर्शन गर्ने हलका रुपमा यही वर्षबाट डकस्कुलले यसको स्थापना थापाथलीमा गरेको हो ।
स्वतन्त्र रुपले बनेका साना बजेटका फिल्म, जो मूलधारको फिल्म प्रदर्शन हुने हलमा प्रदर्शनमा आउँदैनन्, ती फिल्मलाई प्रदर्शन गर्ने स्थानका रुपमा यो अडिटोरियम खोलेको क्षितिजले जनाए । 'यो ४० सिटर अडिटोरियमले स्वतन्त्र निर्देशक र उदाउँदा युवा चलचित्रकर्मी र स्रोताबीचको दूरीलाई घटाउने जमर्को गर्छ,'उनले भने ।
