बाल कलाकार अस्मिता हमालको अभिनय रहेको ‘हेपिनेस’ले सन् २०२६ अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवमा विश्वका उत्कृष्ट सर्ट फिल्मसँग प्रतिस्पर्धा गर्दैछ ।
What you should know
काठमाडौँ — नेपाली लघु चलचित्र ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा पुगेको छ ।
सन् २०२६को ‘अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’मा विश्वभरका सर्ट फिल्मसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ अन्तिम चरणमा छनोट भएको हो । फिल्म फेस्टिभल जङ्क्शनले सार्वजनिक गरेको विवरणअनुसार, विश्वका सात देशका अनुभवी चलचित्रकर्मी सम्मिलित जुरीले ‘हेपिनेस’लाई फाइनल सूचीमा समावेश गरेका हुन् ।
जुरी सदस्यमा फ्रान्सका निर्देशक पाट्रिस गिलेन, बुर्किना फासोका लेखक तथा निर्देशक सान क्लेमेन्ट कौलीबाली, लेबनानकी निर्मात्री क्रिस्टिना इब्राहिम, मेक्सिकोका अभिनेता–निर्माता इभान क्यारुम, ब्राजिलका निर्देशक रुइटर कर्भेलो डुआर्ते, अल्जेरियाली समीक्षक हौरिया हम्मादौचे र मोरोक्कोका निर्माता मोहम्मद गुमाने रहेका छन् ।
फिल्मका निर्देशक शैलेश हमालका अनुसार महोत्सवको अन्तिम नतिजा फेब्रुअरी १९ मा सार्वजनिक हुनेछ । यो फिल्म कर्णालीको मुगुमा निर्माण गरिएको हो ।
‘कर्णालीको माटोको कथा विश्वस्तरीय जुरीको नजरमा पर्नु र फाइनलसम्म पुग्नु हाम्रा लागि ऐतिहासिक क्षण हो,’ उनले भने ।
बाल मनोविज्ञानमा आधारित ‘हेपिनेस’ले खुसी भविष्यको ठूलो उपलब्धिमा मात्र होइन, आफ्नै सिर्जना र साना अनुभवमा पनि भेटिन्छ भन्ने सन्देश प्रस्तुत गरेको छ । फिल्ममा बाल कलाकार अस्मिता हमालले मुख्य भूमिका निर्वाह गरेकी छन् ।
फिल्मको छायाङ्कन तथा रङ संयोजन उब्जन यूकेले गरेका हुन् भने सम्पादन सुमन कुमार शाहीले गरेका छन् । कलाकार छनोट राजेन्द्र शाही र ध्वनि संयोजन डबल विश्वकर्माले गरेका छन् ।
