चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि पोखरामा आयोजित कन्सर्टमा कलाकार र गायकको प्रस्तुति हेर्न दर्शकको ठूलो उपस्थिति देखिएको थियो ।
काठमाडौँ — नेपाली फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि शनिबार साँझ पोखराको हल्लनचोकमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ सम्पन्न भएको छ ।
कन्सर्टमा करिब ७ हजार दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।
कन्सर्टमा फिल्मका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारीको पनि उपस्थिति थियो ।
उनीहरूले चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शक उत्साहित बनेका थिए ।
कार्यक्रममा पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले फिल्मका गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरे । साथै, उनीहरूले आफ्ना चर्चित सिर्जना ‘सरर’ र ‘बैगुनी’ पनि गाएका थिए ।
चलचित्र ‘कुमारी’को प्रवर्द्धन अभियान अन्तर्गत कन्सर्ट टुर चितवन र झापातर्फ पनि विस्तार गरिने आयोजकले जनाएको छ ।
यसैक्रममा आगामी माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा विशेष कन्सर्ट आयोजना हुने जनाइएको छ ।
फिल्म माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
