‘खरायो र कछुवा’को यात्रामा एक थिएटर

दोस्रो पपेट्री नाटक ‘खरायो र कछुवा’ को सहअस्तित्वको कथा भन्न अनिल सुब्बा काठमाडौंमा मात्र सीमित भएनन् । पूर्वका १५ स्कुलमा समेत यो नाटक देखाए  ।

माघ ३, २०८२

समर्पण श्री

A theater on the journey of 'The Hare and the Tortoise'

What you should know

काठमाडौँ — तपाईंले कछुवा र खरायोको कथा पढ्नुभएको छ ? वा पक्कै सुन्नुभएकै छ । हरेक पुस्ताको बाल्यकालीन स्मृतिमा चल्मलाइहने यो कथा पर्दामा कस्तो देखिएला ?

केहीवर्षअघि काठमाडौंका सडकमा हिँडिरहेका बेला रंगकर्मी अनिल सुब्बाको कल्पनामा मधुरा दृश्यहरू चलिरहेका थिए । कल्पनाका तिनै दृश्यहरूले कतिबेला कथाको फेरो समाए । 

उनिँदै–उनिँदै कतिबेला सुन्दर आकार लिए । सेतो पर्दाभित्रको छायामा नाटक ‘खरायो र कछुवा’ हेर्दै गर्दा जिज्ञासाहरू थपिन थाले । करिब ३ वर्षअघि चियागफमा उनले सुनाएका थिए, ‘हामीले पाठ्यक्रममा पढ्दै आएको यो कथामाथि नाटक गर्न मन छ ।’

A theater on the journey of 'The Hare and the Tortoise'सामान्य कथामार्फत् गम्भीर मुद्दाहरूलाई कुशलतापूवर्क नाटकमा भन्न माहिर अनिलले यसमा रचनात्मक चलाखी गरे । कथा जस्तो पढ्यौँ, जस्तो सुन्यौँ, त्यसलाई हुबहु भनेनन् । मध्य बानेश्वरमा रहेको एक थिएटरमा मञ्चन भइरहेको यो नाटक हेरिरहँदा लाग्छ, ‘एक्लै कोही पनि पूर्ण छैन ।’ नाटक ‘बुद्ध र भिखारी’ पछि ‘खरायो र कछुवा’ अनिलको दोस्रो पपेट्री नाटक हो । ‘चोरको स्वर’, ‘मेखीदण्ड ‘मुक्कुमलुङ’बाट आदिवासी सौन्दर्य र पहिचानको कथालाई बलियो गरी नाटकमा भनेका अनिलले यसपालि चयन गरेको विषय र शैली आफैंमा रोचक थियो । उसो त काठमाडौंका थिएटरमा पपेट्री नाटक सायदै भेटिन्छन् ।

A theater on the journey of 'The Hare and the Tortoise'

यो कथाको दौडमा न खरायोले जित्छ, न कछुवाले । जित्न सिकाइने हाम्रो परम्परागत शिक्षा प्रणालीलाई नाटकले कलात्मक व्यंग्य हानेको छ । नाटकले जित्न हैन, रियलाइजेसन सिकाउँछ । रुपान्तरण सिकाउँछ । सद्भाव सिकाउँछ । सबैभन्दा ठूलो कुरा त सहअस्तित्वको अर्थ बुझाउँछ । 

यही कथा भन्न अनिल यसपालि काठमाडौंमा मात्र सीमित भएनन् । नाटकको टोली लिएर पूर्वका स्कुलहरूमा हिँडे । पूर्वका १५ वटा स्कुलमा ३४ वटा नाटक गरे । ‘पपेट्री नाटकको फाइदा के छ भने यो कम खर्चिलो हुन्छ र सानो कोठामा पनि प्रदर्शन गर्न सकिन्छ, जसले गर्दा हामीलाई यात्रा गर्न पनि कठिन भएन,’ अनिल भन्छन् । 

नाटक हेरिरहँदा विद्यार्थीहरूले प्रश्न गरे, ‘हामीले पढेको कथाभन्दा अर्कै कसरी ?’  विद्यार्थीहरूले पुरानै कथाको अपेक्षा गरेका थिए, जहाँ कछुवाले जित्छ भन्ने उनीहरूलाई लाग्थ्यो । तर नाटकको पृथक प्रस्तुतिले उनीहरूलाई उत्साहित मात्र बनाएन, पपेटहरू कसरी चलाइन्छ र आवाज कसरी निकालिन्छ भन्ने जस्ता प्राविधिक कुरा पनि रोचक लागे ।

A theater on the journey of 'The Hare and the Tortoise'

व्यावहारिक शिक्षा कम सिकाइने हाम्रा पाठ्यक्रमहरूलाई समीक्षात्मक ढंगले हेरेका अनिलले विद्यार्थीहरूलाई पनि ‘सह–अस्तित्व’कै विषयबारे बुझाए । उनी थप्छन्, ‘हामीले देखाएको नाटकले गर्दा कम्तीमा एक जनाले मात्र पनि म बाँच्न पाउनुपर्छ भने अरू पनि बाँच्न पाउनुपर्छ भन्ने कुरा महसुस गर्‍यो भने त्यो नै सफलता हो ।’

कछुवा र खरायोको यात्रा एक्लै त कहाँ पुग्ला ? मिलेर गरे त गन्तव्यमै पुग्छ । यही भावनालाई अनिलले आफूहरूको रंगमञ्च यात्रामा आत्मसात् गरिरहेका छन् । 

एक वर्षअघि मध्य बानेश्वरमा एक थिएटर सुरु गरे । यसबीचमा ‘खमारी’, ‘डल्लेखोला’, ‘मुक्कुमलुङ’, ‘दाह्रासिंह’ हुँदै ‘खरायो र कछुवा’सम्म आइपुग्दा नवीन अनुभूति थपिएका छन् टिममा । ‘यो एक वर्षमा नाटक र यात्रालाई लिड गर्ने नयाँ साथीभाइ पनि तयार भइसके,’ अनिल भन्छन् ।  उनी आफूसँगै आफ्ना सहयात्रीहरू पनि आत्मनिर्भर हुनुपर्ने कुरामा विश्वास राख्छन् ।

अनिलका नाटक ‘बुद्ध र भिखारी’ होस् वा ‘कछुवा र खरायो’ वा अन्य कथाहरू । उनी नाटकहरूमा प्रकृतिलाई नजिकबाट जोड्छन् । ‘खरायो र कछुवा’ यही चिन्तनकै उपज हो । जंगली जनावरहरू हराउँदै गएको र जंगल मासिएको संवेदनालाई नाटकमा उतार्न अनिललाई धेरै वटा ड्राफ्टहरू खर्चिनुपरेको थियो । ‘तर जब नाटक बन्यो । यसले हामीलाई उत्साहित बनायो । कतिपयले त नाटक हेरेपछि पपेट्रीको रिसर्च गर्नसमेत मन गर्नुभयो,’ उनी सुनाउँछन् ।  

प्रकृतिकै एउटा अंश रहेको मानिसले प्रकृतिलाई नै नजरअन्दाज गरिरहेको अनुभूत हुँदोरहेछ उनलाई । त्यसकारण पनि उनी आफ्नो नाटकमा पर्यावरण जोड्छन् । 

हिजो सफा आकाशमा उडिरहने चराहरू अहिले ओझेल छन् । साना बँदेलजस्ता कतिपय जनावरहरू त इतिहास बनिसके । यसमा पहिलो जिम्मेवार त मान्छे हो । ‘त्यसकारण मान्छेलाई कथा भनेर पनि जिम्मेवार बनाउन सकिन्छ कि लाग्छ,’ अनिल भन्छन्, ‘र यसका लागि एउटा कथाले पुग्दैन । थुप्रै कथा भनिनुपर्छ ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully