अन्त्येष्टिमा सहभागी बन्न मुम्बईबाट आएका मयङ च्याङले प्रशान्तको निधनले नेपाली गायन क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै आफ्ना सिर्जनाका कारण उनी सधैं अमर रहने बताए ।
विराटनगर — गायक तथा अभिनेता प्रशान्त तामाङको वौद्ध धर्मअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीर दार्जिलिङको आलुवारीस्थित बौद्धमार्गीहरूको घाटमा मंगलबार अन्त्येष्टि गरिएको हो । उनलाई बौद्ध धर्मका गुरुले दागबत्ती दिएका हुन् ।
तामाङलाई श्रद्धालु, परिवारजन, मित्र, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू र विभिन्न क्षेत्रका शुभेच्छुक उपस्थित भई भावपूर्ण अन्तिम बिदाइ दिए ।
जीवनभरि लाखौंको मन जित्न सफल तामाङको गत आइतबार दिल्लीमा हृदयघातका कारण भएको निधनले नेपाली संगीत र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै उपस्थितहरू भावुक बनेका थिए । उनको अन्त्येष्टिमा दार्जिलिङसहित मुम्बई, नेपाल, भुटान, सिक्किम र पूर्वोत्तर भारतका विभिन्न क्षेत्रबाट शुभेच्छुकहरू आएका थिए ।
अन्त्येष्टिमा सहभागी बन्न मुम्बईबाट आएका मयङ च्याङले प्रशान्तको निधनले नेपाली गायन क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै आफ्ना सिर्जनाका कारण उनी सधैं अमर रहने बताए ।