प्रशान्तको अन्त्येष्टि मंगलबार, अन्तिम बिदाइमा शुभेच्छुकको भीड

दार्जिलिङको चौरस्तामा पार्थिव शरीर राखिँदा उनलाई अन्तिम सम्मान अर्पण गर्न मुम्बई, नेपाल, भुटान, सिक्किम, पूर्वोत्तर भारत, कोलकाता लगायत विभिन्न क्षेत्रबाट शुभेच्छुक पुगेका थिए ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Prashant's funeral on Tuesday, crowd of well-wishers at final farewell

विराटनगर — गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार उनको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिनेछ ।

४३ वर्षको अल्पायुमा हृदयघातका कारण दिल्लीमा निधन भएपछि  सोमबार बिहान उनको शव वागडोग्रा विमानस्थलबाट शवयात्रामार्फत उनलाई जन्मथलो दार्जिलिङ लगिएको थियो । उनको शव लिन गोर्खाल्याण्ड टेरोटेरियल एड्निष्ट्रेसन (जीटीए) का प्रमुख अनित थापा, युवा नेता अजय एडवर्सलगायतका नेता विमानस्थल पुगेका थिए । 

बाटोभरि हजारौं शुभेच्छुकले सडक छेउमा उभिएर ‘गोर्खालीको छोरो’लाई अन्तिम बिदाइ गरेका थिए । शोक, मौनता र आँसुले भरिएको त्यो यात्रा दार्जिलिङ पहाडका लागि अविस्मरणीय क्षण बनेको शव यात्रामा सहभागी फिल्मकर्मी राजेश घतानीले बताए । 

अन्तिम श्रद्धाञ्जलीका लागि दार्जिलिङको चौरस्तामा पार्थिव शरीर राखिँदा जनसागर उर्लिएको थियो । उनलाई अन्तिम सम्मान अर्पण गर्न मुम्बई, नेपाल, भुटान, सिक्किम, पूर्वोत्तर भारत, कोलकाता लगायत विभिन्न क्षेत्रबाट शुभेच्छुक दार्जिलिङ पुगेका थिए । प्रशान्तको स्वरले बाँधिएका सम्बन्धहरू भूगोल नाघेर एकै ठाउँमा आएजस्तै देखिन्थ्यो । 

दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, इन्डियन आइडल–३ का उनका सहप्रतिस्पर्धी च्याङसहित विभिन्न कलाकार पनि दार्जिलिङ पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाई र गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पनि श्रद्धाञ्जली सभामा उपस्थित भई दिवंगत कलाकारप्रति सम्मान प्रकट गरेका थिए ।

उनको पार्थिव शरीरलाई साँझ तुङसुङस्थित जन्मघर लगिएको छ । प्रशान्त पत्नी गीता थापा र ४ वर्षीया छोरी आरिया समेत दार्जिलिङमै छन् । 

कान्तिपुर

Link copied successfully