‘रेडियो अन ह्विल्स’ बुटवलमा

शनिबार नेपालगन्जबाट सुरु भएको यो वर्षको कार्यक्रम धनगढी, सुर्खेत हुँदै बुटवल आइपुगेको हो ।

पुस २३, २०८२

घनश्याम गौतम

'Radio on Wheels' in Butwal

बुटवल — रेडियो कान्तिपुरले हरेक वर्ष गर्दै आएको ‘रेडियो अन ह्विल्स’ को सातौं संस्करणको सांगीतिक कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ ।

कमेडियन राजा राजेन्द्र पोखरेल, गायक विश्व नेपाली, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल, डान्स च्याम्पियन सिजन–१ की विजेता रोसिका रावतलगायतले प्रस्तुति दिएका थिए । शनिबार नेपालगन्जबाट सुरु भएको यो वर्षको कार्यक्रम धनगढी, सुर्खेत हुँदै बुटवल आइपुगेको हो ।

बुटवलको ट्राफिकचोकमा दिउँसो ३ बजेबाट सुरू भएको सांगीतिक कार्यक्रममा कलाकारको प्रस्तुति र रेडियो कान्तिपुरका प्रज्वल खड्का र महिमा भट्टराईको संचालनले रौनक थपेको थियो ।कार्यक्रमको बीचबीचमा खेलाइएको क्विजलगायत खेलले दर्शकको मन जित्यो ।

दर्शकलाई प्रायोजकका तर्फबाट विभिन्न उपहार वितरण गरिएको थियो । ‘रेडियो अन ह्विल्स’ देशका विभिन्न १४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा पुग्नेछ । कार्यक्रम बुटवलपछि शुक्रबार पोखरामा हुनेछ । त्यसपछि नारायणघाट, धरान, जनकपुर, बिर्तामोड, इटहरी, विराटनगर, वीरगन्ज, लहान र हेटौंडामा आयोजना हुनेछ ।

यो वर्ष ‘रेडियो अन ह्विल्स’ लाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ भने ग्लोबल आईएमई बैंक, टीभीएस मोटरसाइकल, वाईफाई नेपाल, रिजाल्स स्न्याक्स र राठीकोलले सहयोग गरेका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully