‘रांझणा’ र ‘तेरे इश्क में’जस्ता सफल फिल्मपछि, अब धनुष र आनन्द एल रायले पहिलोपटक ऐतिहासिक एक्शन–रोमान्समा हात हाल्ने तयारी गरिरहेका छन्।
What you should know
काठमाडौँ — बलिउडमा साधारण प्रेमकथालाई फरक रङ र गहिराइ दिने निर्देशकका रूपमा आनन्द एल रायको नाम अग्रपङ्क्तिमा पर्छ ।
‘रांझणा’, ‘तनु वेड्स मनु’ जस्ता फिल्ममार्फत उनले दर्शकको मन जितिसकेका छन् । उनका कथाका पात्रहरू भावनात्मक रूपमा यति प्रभावशाली हुन्छन् कि दर्शकलाई भित्रसम्म छोइरहन्छन् ।
आनन्द एल राय र दक्षिण भारतीय ‘सुपरस्टार’ धनुषको सहकार्य सधैं चर्चा र सफलतासँग जोडिएको छ। ‘रांझणा’ र ‘अतरंगी रे’पछि हालै रिलिज भएको ‘तेरे इश्क में’ उनीहरूको तेस्रो सहकार्य हो ।
यस फिल्ममा धनुषसँगै कृति सेननले पनि सशक्त अभिनय गरेकी छन् । रिलिजसँगै फिल्मले राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
अब बलिउड वृत्तमा नयाँ चर्चा सुरु भएको छ । खबरअनुसार ‘तेरे इश्क में’को सफलतापछि आनन्द एल राय र धनुष चौथोपटक एकसाथ काम गर्ने तयारीमा छन् ।
यो नयाँ प्रोजेक्ट ठूलो स्केलको पिरियड एक्सन–रोमान्स फिल्म हुनसक्ने बताइन्छ ।
यो फिल्म आनन्द र धनुष दुवैका लागि नयाँ दिशा हुनेछ । यसअघि उनीहरूले प्रायः रोमान्टिक ड्रामा विधामा काम गरेका थिए भने अब ऐतिहासिक पृष्ठभूमिमा आधारित एक्शन र प्रेमको कथामा दर्शकसामु प्रस्तुत हुनेछन् ।
‘तेरे इश्क में’को कथा शंकर र मुक्ति नामक पात्र वरिपरि घुम्छ, जहाँ बनारसको पृष्ठभूमिमा उनीहरूको प्रेमकथा अघि बढ्छ । यस फिल्मलाई धेरैले ‘रांझणा’को ‘स्पिरिचुअल सिक्वेल’का रूपमा पनि हेरेका छन् । २०२५ मा रिलिज भएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
