कन्सर्ट माघ १ मा हुँदैछ ।
काठमाडौँ — रंगकर्मी एवं कवि अनुप न्यौपानेले फेरि 'कविता कन्सर्ट' गर्दैछन् । माघ १ गते मण्डला थिएटरमा आयोजना हुने 'बजारका कविता' शीर्षकको यो कन्सर्टमा अनुपले आफ्ना कविता दर्शकबीच वाचन गर्नेछन् ।
यसअघि २ वर्षअघिको माघमै अनुपले कविता कन्सर्ट गरेका थिए । कविताबाहेक कार्यक्रममा मेलिना राई, विराज बास्कोटा र समिर भट्टराईले प्रस्तुति दिनेछद्धन् । यो 'म्युजिकल पोयट्री कन्सर्ट'मा अनुपलाई संगीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले साथ दिनेछन् ।
१ घण्टासम्म आयोजना हुने यो कार्यक्रमको टिकट बुकिङ खुला भइसकेको छ । कवि न्यौपाने कवितासम्बन्धी रियालिटी सो पोयट आइडलको सेमिफाइनलमा पुगेका थिए । न्यौपानले 'वैतर्णी क्याफे', 'सिरुमारानी', 'एन्टिगोनी', 'सलेदो', 'मितज्यु', 'शकुन्तलाको औंठी', 'चराहरुको सम्मेलन', 'झिम्के मामा', 'अन्धवेग', 'मन्जिरा'लगायतका नाटकमा अभिनय गरेका छन् ।
'कथा एक' र 'सिरुमारानी'लाई भने उनले निर्देशन गरेका हुन् ।
