एआर रहमानको संगीत र विजय सेतुपतिको अभिनय रहेको यो फिल्म महात्मा गान्धी स्मृतिदिवसमा प्रदर्शनमा आउने तय भएको छ ।
काठमाडौँ — निर्देशक किशोर पाण्डुरंग बेलेकर फिल्म ‘गान्धी टक्स’को टिजर सार्वजनिक भएको छ ।
महात्मा गान्धीको स्मृतिदिवस पारेर आगामी ३० जनवरी ०२६मा फिल्म प्रदर्शनमा आउने तय भएको छ । फिल्मलाई किशोरले नै लेखेका हुन् ।
फिल्ममा एआर रहमानको संगीत छ । यो फिल्म सन् २०२३ मा गोवामा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा प्रदर्शन हुने पहिलो मूक फिल्मसमेत बनेको थियो । क्लासिक माध्यमलाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गरिएको यस फिल्मले मूक सिनेमाप्रति नयाँ पुस्ताको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
‘गान्धी टक्स’ एक ‘साइलेन्ट ब्ल्याक कमेडी’ हो । कथाको केन्द्रमा महादेव नामका युवा छन् । जो बेरोजगार छन् । उनी जसरी पनि जागिर पाउने आशामा छन् । यही क्रममा उनको भेट एक व्यापारी (अरविन्द स्वामी) र चोर (सिद्धार्थ जाधव)सँग हुन्छ ।
फिल्ममा संवादभन्दा बढी संगीत, हाउभाउ र दृश्यात्मक अभिव्यक्ति मार्फत् कथा अघि बढ्छ ।
टिजरमा विजय सेतुपति हातमा हँसिया बोकेको गम्भीर अवतारमा देखिन्छन् । अदिति राव हैदरी भने पहेँलो पोशाकमा बाल्कोनीमा मौन उभिएकी देखिन्छिन् ।
फिल्ममा विजयको अभिनयलाई लिएर पनि दर्शकहरूको प्रतीक्षा बढिरहको छ ।
