परीक्षणकालबाट गुज्रिरहेका कमेडियन भरतमणि

भरतमणि आफ्ना पात्र जतनले चलाउँछन् । उनलाई भन्दा बढी जोखिम उनका पात्रलाई छ । स्टेज चढेपछि यिनीहरूलाई सुनेर कोही हाँसेनन् भने ?

पुस १९, २०८२

समर्पण श्री

Comedian Bharatmani is going through a probationary period.

What you should know

काठमाडौँ — उनी डेरामा बस्थे । घरबेटीका अनेकन् किस्सा सुनाउँथे । आफ्ना दु:ख  सुनाउँदा सुनाउँदै अरुलाई हँसाउँथे । 

उनको किस्सावाचन नेताका घरदेखि सिंहदरबारसम्म उक्लन्थ्यो । पूर्वराजपरिवारका ‘सुस्केरा’लाई हास्यरसमा मिसाएर अरुलाई पिलाउँथे । अनि कोही किन नहाँसोस् ! 

धारिलो व्यंग्य र दरिलो प्रस्तुतिले एक झलकमै उनको चर्चा यत्रतत्र फैलियो । डेरामा बस्ने युवकबाट उत्रिएर उनी कहिले घरबेटी बने, कहिले झुल्किए पूर्वयुवराज पारस अवतारमा । यी चरित्र हाँस्न खोजिरहेका दर्शकका निम्ति भर्चुअल दबाई थिए । 

अलगअलग स्टेजमा बेग्लाबेग्लै अवतारमा आफूलाई जबर्जस्त प्रस्तुत गर्ने कमेडियन भरतमणि पौडेलका जादुयी कला हुन् । उनी स्टेज उक्लिँदा एउटा शरीरमा धेरै जीवन बोकेर आउँछन् ।

भरतमणि आफ्ना पात्र  जतनले चलाउँछन् । उसो त उनलाई भन्दा बढी जोखिम उनका पात्रहरूलाई छ । ‘यदि स्टेज चढेपछि यिनीहरूलाई सुनेर कोही हाँसेनन् भने,’ चुनौतीपूर्ण क्षणको साक्षी बसेका दिन भरतमणि सम्झन्छन्, ‘त्यतिबेला हँसाउने पात्र रुँलाझैं गरी फर्किनुपर्छ ।’ 

‘कमेडी च्याम्पियन सिजन २’मा च्याप्पियन जित्नुका पछाडि भरतमणिका दु:ख त छँदै छन् । त्यसको जिम्मा भोटिङ प्रणालीको खर्चिलो लगानीलाई नै छाडिदिऊँ । यद्यपि भरतमणिका प्रस्तुतिले उनलाई च्याम्पियन करार गरिरहन्थे । तर शोको च्याम्पियनलाई पनि शोबाहिर पुगेपछिका चुनौतीले घेर्न छाडेनन् । 

चार वर्षअघि कमेडी च्याम्पियनको ताज पहिरिएको हर्ष सेलाउन नपाउँदै उनी ताप्लेजुङको एउटा स्कुलको कार्यक्रममा पुगेका थिए । स्टेज चढेर विद्यार्थी हँसाउन तम्सिएका भरतमणिलाई निकैबेर हम्मेहम्मे पर्‍यो । ‘म राजनीतिक जोक गरिरहेको छु तर विद्यार्थीहरू हाँस्दैनन् । उनीहरू नहाँसेर मुख सुकिसक्यो । भित्रभित्रै रातोपिरो बनिसकेँ,’ त्यतिबेलाको पीडा उनी हाँस्दै पोख्छन्, ‘त्यसपछि टपिक चेन्ज गरेर लभ कन्टेन्ट दिन थालेँ । अनि त हाँसोको माहोल कहाँ रोकिनु ।’ अरु बेलामा नसिकेको पाठ उनले विद्यार्थीहरूबाट सिके, एउटै जोकले सबै ठाउँमा काम नगर्ने रहेछ । 

जोकका लागि ठाउँ र उमेरसमूह मात्र होइन, समय पनि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा सिक्न त भरतलाई युरोप टुर नै हान्नुपर्‍यो । आयोजकको कमजोरीका कारण एक ठाउँमा राति साढे २ बजे उनले प्रस्तुति दिनुपर्‍यो । दर्शकहरू सबैलाई मदिराको मादकताले छोएको थियो । उनको जोक यति फिक्का भयो कि  त्यो नमिठो झण उनको मनमा अझैसम्म गाढा गरी बसेको छ ।

Comedian Bharatmani is going through a probationary period.कहिले देश कहिले विदेश यात्रा गरिरहने भरतमणिसँग नयाँ कन्टेन्टको पनि आशा गर्छन् दर्शकहरू । नयाँ दिनु कति सकसपूर्ण छ, उनले राम्रैसँग अनुभूत गरेका छन् । त्यसकारण नै पछिल्लो एपिसोडमा उनले ‘सरप्राइज्ड’ दिए । सधैं दोहोरिरहने अवतारभन्दा भिन्न हुनका लागि यदाकदा देखिरहने पात्र ल्याए । पात्र थियो– विज्ञान । जो लागुऔषध र दुर्व्यसनीमा फसेको छ । जसको बोल्ने, हिँड्ने र बस्ने नितान्त आफ्नै शैली छ । विज्ञान अवतार अहिले भरतका निम्ति परीक्षणकालबाट गुज्रिरहेको छ । ‘यसलाई विस्तारै थप बलियो र रोचक बनाउँदै जानेछु,’ उनको बाचा छ । 

उनले चाबहिलमा रहेको रेडियो तमोरको कार्यालयमा भुइँ पुछ्नेदेखि चेकमा हस्ताक्षर गर्नेसम्मका सबै काम गरे । 

उसो त दुई वर्षदेखि उनले यो पात्र निर्माणको जग बसाएका थिए । ‘आफ्नो गाउँठाउँ तथा काठमाडौंका विभिन्न स्थान पुगेर यस्ता पात्रहरूको गहिरो अवलोकन गरेको थिएँ,’ उनी सुनाउँछन्, ‘मैले उनीहरूको हाउभाउ, बोली र मनोविज्ञान केलाउन लागिरहेँ ।’

भरतमणिले ‘च्याम्पियन’ जितेपछि कमेडीमार्फत दर्जनभन्दा बढी देशको यात्रा गरे । विभिन्न भूगोल पुगेर हँसाइरहेका उनलाई नेपालका दर्शकले खोजी गरे । एउटा कलाकार स्टेजमा मात्र होइन, पर्दामा देखिएन भने मासको आँखाबाट टाढिँदै जान्छ । भरतमणिले यो बोध गरेका छन् । त्यसकारण पछिल्लो समय उनी कमेडी च्याम्पियन विथ नाइट्समा छुट्दैनन् । तर उनको कमेडीमाथि प्रशंसा मात्र होइन, प्रश्नको भारी पनि उत्तिकै छ । कमेडीका नाममा डबल मिनिङ र बडी सेमिङजस्ता कुरा उनका प्रस्तुतिमा दोहोरिरहन्छन् । प्रस्तुतिलाई दर्शकले ‘प्राइभेट’मा हेरेर रिसाउनुभन्दा परिवारमा हेरेर हाँस्दा पो मज्जा ! सायद भरतमणि सोच्दा हुन् कि ! 

उनी ताप्लेजुङमा जन्मिए, हुर्किए । स्कुले जीवनदेखि नै कमेडीको रस उनीभित्र पस्दै गयो । ०७० को आसपासतिर उनी काठमाडौं आएका थिए । रेडियो कान्तिपुरमा आरजे बन्ने सपना बोकेर पुगेका थिए उनी । तर नेपाली र अंग्रेजी टाइपिङ नजानेकै कारण फालिए । ‘त्यो मेरो लागि ठूलो 'इगो' को विषय बन्यो । म फर्किएर ताप्लेजुङ गएँ र तीन महिना टाइपिङ सिकेर फेरि काठमाडौँ छिरेँ,’ उनी सुनाउँछन् । 

पछि उनले चाबहिलमा रहेको रेडियो तमोर (ताप्लेजुङको पहिलो सामुदायिक रेडियोको स्टुडियो) मा भुइँ पुछ्नेदेखि चेकमा हस्ताक्षर गर्नेसम्मका सबै काम गरे । ‘म रेडियो टेक्निसियन पनि थिएँ । आवाज सम्पादन गर्ने, विज्ञापन बनाउने र समाचारको 'ल्यान्डिङ' मिलाउने सबै प्राविधिक ज्ञान थियो,’ भरतमणि सुनाउँछन् । उनले त्यही रेडियोमा कमेडियन मनोज गजुरेलको 'धर्ती आकाश' कार्यक्रमको सम्पादन समेत गरेका थिए ।

हिजो क्यामराले पात्र खिच्दै हिँड्ने भरतमणिको सामु आज आफैंलाई खिच्न तेर्सिन्छन् । तर हिजोको त्यो समयभन्दा आजको यो अवस्थालाई थप चुनौतीपूर्ण ठान्छन् उनी ।

६ वर्षअघि कमेडी च्याम्पियन सुरु हुँदै गर्दा भरतमणि रोजीरोटीका समस्यासँग जुधिरहेका थिए । त्यतिबेला उनी क्यामेरा बोकेर युट्युबका लागि भिडियो र अन्तर्वार्ता खिच्दै हिँड्थे । युट्युबमा त्यतिबेला पनि झैझगडा र नेगेटिभ भाइब्स आउने कन्टेन्ट खिच्ने ध्याउन्न प्राय: साथीमा देख्थे उनी । तर भरत सकारात्मक कन्टेन्टको खोजीमा हुन्थे । त्यही समय कमेडी च्याम्पियनको पहिलो सिजन सुरु भयो । उनका साथी सुमन कोइराला, सुमन कार्कीहरूले भाग लिए । तर भरतमणिको आर्थिक स्थिति कमजोर थियो । उनी यसलाई सुधार्न चाहन्थे । मनै गाँठो पारेर भए पनि उनी खुलिरहेको अवसरको ढोकाबाट भित्र पसेनन् ।

उनका साथीहरू टीभीमा आउँथे । भरमणिलाई त्यही देखेर गर्व लाग्थ्यो । दुई वर्षपछिको दोस्रो सिजनमा भने भरतमणिले ‘इन्ट्री’ मारे । पर्दामा उनको प्रवेश सम्झनलायक थियो । त्यसपछि त लगातार हरेक शोमा भरतमणिले बाजी मारे । अन्तत: उनी ‘कमेडी च्याम्पियन सिजन २’ को विजेता बने ।

हिजो क्यामराले पात्र खिच्दै हिँड्ने भरतमणिको सामु आज आफैंलाई खिच्न तेर्सिन्छन् । तर हिजोको त्यो समयभन्दा आजको यो अवस्थालाई थप चुनौतीपूर्ण ठान्छन् उनी । हरेक समय नयाँपनको खोजी गर्नु उनका लागि सहज कुरा होइन । त्यसपछि ओझेल पर्ने डर पनि उत्तिकै । धारिलो हतियारबाट धार हराउँदै गयो भने के होला ? उनी आफ्नो कमेडीबाट त्यो धार भुत्ते हुन नदिने संघर्षमा हुन्छन् । 

‘एउटा स्थापित भइसकेको कलाकारलाई दर्शकले योभन्दा अझै राम्रो के दिन्छ त भनेर सधैं नियालिरहेका हुन्छन्,’ भरतमणि  व्याख्यासहित भन्छन्, ‘एउटै टेबलमा बसेका ५ जनामध्ये ५ जनैलाई एउटै जोकमा हँसाउन सक्नु पो मेरो सफलता हो, नत्र त्यो मेरो कमजोरी हुन्छ ।’

त्यसकारण पनि भरतमणि आफूभित्रको कला अर्जापिरहने प्रयासमा हुन्छन् । 

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully