निर्देशक निगम श्रेष्ठको नयाँ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सौगात मल्लको अभिनयको शिव श्रेष्ठले खुलेर प्रशंसा गरे, शिवले आफैं पनि अभिनय गरेको खुलासा गरे ।
काठमाडौँ — अभिनेता सौगात मल्ल अभिनित फिल्म 'भाईरल गोर्खे' दर्शकबीच अहिले चर्चामा छ । अभिनेता मल्लले फिल्ममा अभिनेता शिव श्रेष्ठलाई नक्कल गरेकै कारण पनि यो फिल्म दर्शकबीच चर्चाको विषय बनेको हो ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले हालै फिल्मको ट्रेलर नै सार्वजनिक गर्यो । ट्रेलरमा पनि सौगातलाई त्यस्तो चरित्रका रुपमा देखाइएको छ, जो अभिनेता श्रेष्ठको ठूलै प्रशंसक हुन्छन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता सौगातलाई हौसला दिन शिव श्रेष्ठ पनि पुगेका थिए । ४२ वर्षको फिल्म करिअरमा यसरी आफ्नो अभिनयलाई सौगात मल्लले दुरुस्तै टिपेर अभिनय गरिदिएकोसमेत श्रेष्ठले सुनाए । 'सौगात भाइले जुन अभिनय गर्नुभयो, आजसम्म मेरो एक्टिङ यसरी कसैले गरेको थिएन । मलाई बडा विश्वास छ, यो फिल्मलाई दर्शकले रुचाइदिनु हुनेछ,'श्रेष्ठले भने । श्रेष्ठले ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मभित्र आफ्नो पनि अभियन रहेको खुलासा गरिदिए ।
सामाजिक सञ्जालमा भाइरल बन्न उद्दत एक साधारण पात्रको कथा फिल्ममा समेटिएको छ । निगम श्रेष्ठ निर्देशित यो फिल्ममा सौगात र अभिनेत्री सृष्टिको मुख्य अभिनय छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्मित फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ ।
निर्देशक श्रेष्ठले यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । अमर महर्जनले खिचेको यो फिल्ममा श्री श्रेष्ठको द्वन्द निर्देशक, बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्माको सम्पादन छ ।
