धीरजले ‘सोई ढोले सोई’, ‘लुकीलुकी आँखा तिमी’ लगायतका चर्चित गीत गाउँदा दर्शक स्रोता झुम्मिएका थिए ।
संखुवासभा — वर्षौँपछि धीरज राईको स्वर संखुवासभाको आकाशमा फेरि गुञ्जियो। ‘तिमी रुँदा’ जस्ता चर्चित गीतमार्फत लाखौँ श्रोताको मन जितेका राई मंगलबार राति खाँदबारी नगरपालिका–४ अन्तर्गतको सेकाहामा आयोजित सांस्कृतिक कार्यक्रममा प्रस्तुत हुँदा माहोल रंगीन बन्यो। उनले गाएको हरेक गीतमा ‘वान्स मोर’ को वर्षा भयो।
सेकाहा चिसो मौसमका कारण कठ्यांग्रिने अवस्थामा थियो। तर धीरजले आफ्नो परिचित पुरानै शैलीमा आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गरेपछि चिसो मौसमलाई पनि पराजित गरे। ‘सोई ढोले सोई’, ‘लुकीलुकी आँखा तिमी’ लगायतका चर्चित गीत गुञ्जँदा दर्शकहरू आफैं गुनगुनाउन थाले। गीतसँगै दर्शकको ताली र उत्साहले कार्यक्रम स्थल थप संगीतमय भए बन्यो।
धीरजका लागि यो कार्यक्रम विशेष बन्यो। किनभने पहिलो पटक उनका शुभचिन्तक र प्रशंसकले उनलाई संखुवासभाको सेकाहामा नजिकबाट देख्ने अवसर पाए। गीत सकिँदा दर्शकको हुटिङ र तालीले उनको लोकप्रियता अझै उस्तै देखिएको थियो।
कार्यक्रममा धीरज मात्र होइन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत उल्लेख्य प्रस्तुति रहे । बविना किरातीले 'माथि माथि हिमाली भेगमा','चरी भए भुरुरु','हैन भने बुहारीलाई', 'आकाशै मा चिल हो कि' जस्ता गीत प्रस्तुत गरिन् ।
सुनिमा गुरुङ, उमङ्ग लामालगायतका कलाकारहरूले आ-आफ्ना गीत प्रस्तुत गरे। महोत्सवमा विविध जाति, भाषा र संस्कृतिको प्रस्तुति पनि थियो।
