रोकिएको छैन सेलिब्रिटीहरूको नाममा ‘स्क्याम’, सम्बन्धित निकाय मौन

रीमा विश्वकर्मा, अनमोल केसी, दयाहाङ राई लगायतका कलाकारको नाम/तस्बिर दुरुपयोग गरी फेक अकाउन्टबाट पैसा माग्ने घटना बढेपछि प्रहरी, दुरसञ्चार कम्पनी र चलचित्र विकास बोर्डले सचेत रहन आग्रह गरेका छन् ।

पुस १४, २०८२

समर्पण श्री

'Scams' in the name of celebrities have not stopped, relevant bodies remain silent

काठमाडौँ — सेलिब्रिटी तथा चर्चित व्यक्तिहरूको नाम र तस्बिर दुरुपयोग गरी अनलाइनमा ठगी गर्ने क्रम अझै रोकिएको छैन ।

इकान्तिपुरमा गत शुक्रबार ‘सेलिब्रिटी र जनप्रतिनिधिको नाममा 'स्क्याम' : आफन्त ठगिँदै, पैसा फिर्ता पाउनै कठिन’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

शनिबार मात्रै पनि अभिनेत्री रीमा विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम र पहिचान प्रयोग गरी पैसा मागिरहेको जानकारी गराइन् । ‘कृपया यस्तो सन्देश, फोन वा अनुरोधलाई विश्वास नगर्नुहोला । यस्ता गतिविधि देखिएमा कृपया रिपोर्ट गर्नुहोला र अरूलाई पनि सचेत गराइदिनुहोला,’ रीमाले लेखेकी छन् ।

९७०८०६२३२२ नम्बरबाट रीमाको पहिचान बनाएर पैसा मागिएको छ । उक्त अकाउन्टबाट रीमाको चिनजानको व्यक्तिसँग ३० हजार मागिएको छ । उता चिनजानको व्यक्तिले यो ठगीधन्दाबारे भेउ पाउँछन् । भन्छन्, ‘ओके, हुन्छ नि । मेरो अकाउन्टमा ९० हजार छ । तर लक भाको छ । १० हजार जति डिपोजिट गरेपछि एक्टिभ हुन्छ । १० हजार जति डिपोजिट गरिदिनुस् म ४० हजार रिफन्ड गरिदिन्छु ।’ त्यसपछि फेक अकान्टबाट धम्की आउँछ, ‘इलेक्सन सकम । जितेँ भने सबभन्दा पहिला तिमीलाई के गर्छु ।’

अभिनेता अनमोल केसीले पनि आफ्नो तस्बिर र नाम दुरुपयोग गरेर ठगी गरिरहेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउन बाध्य भए ।

अनमोलको नाम र नम्बर दुरुपयोग गर्दै उक्त अकाउन्टबाट २५ हजार मागिएको छ । ‘म तिमीलाई २५ हजार सेन्ड गरिदिन्छु । तिमीले मेरो ममलाई दिन सक्छौ र एकदम इमर्जेन्सी छ,’ अनमोलको नाम दुरुपयोग गरिएको अकाउन्टबाट आउँछ । तर अनमोलको साथीले विश्वास गर्दैनन् ।

अनमोलले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम र तस्बिर दुरुपयोग गरी ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

अभिनेता दयाहाङले पनि शनिबार फेसबुकमार्फत आफ्नो नाम लिएर अनलाइन ठगी गर्ने काम भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘सबै साथीहरु इष्टमित्र सावधान रहनुहोला, मेरो नाम गरेर पैसा मागिरहेको रहेछ त्यो सत्य होइन स्क्याम हो है,’ उनले लेखेका छन् । 

यसरी अनलाइन ठगी गर्नेले अहिले ३० देखि ५० हजारसम्म माग गरेका छन् । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका आफन्तको त यसरी ३० हजार ठगी नै भएको थियो ।

अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, मिथिला शर्मा, अभिनेता आकाश श्रेष्ठ, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल, इन्फ्लुएन्सर ओसिन सिटौला, कन्टेन्ट क्रिएटर मिस्टर फुडी, लेमी तामाङ, एकता तन्डुकार, अभिनेत्री मिथिला शर्मा लगायतको पनि नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप र भाइबर अकाउन्टमार्फत अनलाइन ठगी गर्ने प्रयास गरिएको थियो ।

चलचित्र विकास बोर्डले शनिबार सूचना जारी गर्दै यस्ता घटनाबाट जोगिन आग्रह गरेको छ । ‘पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरुसँग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन्,’ बोर्डले उल्लेख गरेको छ, ‘कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ ।’

साइबर ब्युरोमा उजुरी गर्दा पनि कुनै पहल नभएको कलाकारहरूको गुनासो छ । पूर्व मिस नेपाल सदीक्षाले साइबर ब्युरोमा उजुरी गर्दा जवाफ अनपेक्षित आएको बताइन् । ‘हुनेवाला केही छैन । तपाईंले आफैं भाइबरको हेल्प डेस्कमा कल गर्नुस् न,’ ब्युरोबाट आएको जवाफ उद्धृत गर्दै उनी भन्छिन् ।

एनसेल र ईसेवालाई जानकारी गराउँदा पनि कुनै पहल नभएको पीडितहरूले गुनासो पोखेका छन् ।

एनसेल भन्छ– औपचारिक उजुरी दर्ता हुनुपर्छ

एनसेलले पनि त्यसरी ठगी गर्नेहरूलाई कानुनअनुसार आवश्यक कारबाही हुने तर प्रकिया पूरा भएर पीडित आउनुपर्ने बताएको छ ।

कान्तिपुरले सोधेको प्रश्नमा एनसेलले आधिकारिक इमेलमार्फत भनेको छ, ‘यस्ता उजुरी आउँदा त्यसलाई प्रमाणसहित प्रस्तुत गर्नुपर्ने भएकाले उचित प्रक्रियाअनुसार पीडितले प्रहरीमा औपचारिक उजुरी दर्ता गर्नुपर्छ ।’

एनसेलले कानुन कार्यान्वयन निकायहरूसँग नजिकबाट सहकार्य गर्दै आएको र अनधिकृत प्रयोगमा संलग्न नम्बरहरूलाई आवश्यक परेमा ब्लक गर्ने काम गरेको बताएको छ । ‘धेरैजसो ठगीसम्बन्धी घटना दुरसञ्चार कम्पनीको प्रत्यक्ष नियन्त्रणबाहिर पर्छन् । सबै नियामक आवश्यकताहरू र आन्तरिक प्रक्रिया पालना गरे पनि, सबैभन्दा प्रभावकारी सुरक्षा भनेको प्रयोगकर्ताको सचेतना र जिम्मेवार प्रयोग नै हो,’ एनसेलले इमेलमार्फत उल्लेख गरेको छ ।

साइबर ब्युरो भन्छ– सचेतना अपनाऔं

साइबर ब्युरो भने यसमा सचेतना जगाउनु नै उत्तम विकल्प भएको बताउँछ । नेपाल प्रहरीको साइबर ब्युरो प्रवक्ता एसपी दीपक अवस्थीका अनुसार चालु आर्थिक वर्षमा मात्र ब्युरोमा करिब ४ हजार ठगीका केस आएका छन् ।

उनी यसमा कलाकारदेखि सर्वसाधारण सचेत हुनुपर्ने बताउँछन् । अवस्थीका अनुसार १० प्रतिशत अपराधी मात्रै समातिने सम्भावना हुन्छ । बाँकी ९० प्रतिशत समातिन कठिन छ ।

उनी स्रोत अभाव औंल्याउँदै भन्छन्, ‘हाम्रो बैंकसँग फुल टेक्निकल इन्टिग्रेसन छैन । नेपाल युरोप वा अमेरिका पनि होइन । हाम्रो इन्फ्रास्ट्रक्चर, अन्तर्राष्ट्रिय डेटा एक्सचेन्ज कमजोर छ । त्यो कुरा आम जनताले पनि बुझ्नुपर्छ । खालि प्रहरीलाई दोष दिएर मात्र हुँदैन ।’

त्यसकारण उनी हामी आफैं सचेत हुनुको विकल्प नभएको बताउँछन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully