नाटक ‘बहादुरपुरको दन्त्यकथा’ : जीर्ण भवनमा समृद्धिको रंग

मण्डला थिएटरमा सरस्वती चौधरीको निर्देशनमा मञ्चनरत नाटक ‘बहादुरपुरको दन्त्यकथा’ले ऋणमा डुबेका राजा भूपतिको जीवन, समाजको पाखण्ड र नेतृत्वमाथि व्यंग्य गर्छ ।

पुस १३, २०८२

रीना मोक्तान

Play 'The Legend of Bahadurpur': The Color of Prosperity in a Dilapidated Building

What you should know

काठमाडौँ — बहादुरपुरको राजा भूपति, नामको मात्र राजा ! न पिउने चुरोट साथमा छ, न खाने रासन । पुस्तैनी सम्पत्तिको नाममा बाँकी छ एउटा जीर्ण महल । चराले गुँड लगाउने सिलिङ, बेलाबेला त्यहीँ सिलिङबाट चोइटिएर खसिरहन्छन्- इँटा, धुलोका कण ।

भित्ताको भ्वाङ, मान्छे नै छिर्न मिल्ने ! यो भवनले मात्रै होइन, दिनहुँ ढोकामा धाइरहने साहुले पनि राजा भूपतिको आर्थिक अवस्था छर्लंगै पारिदिन्छ । राजाजस्तो व्यक्ति ऋणमा यसरी डुबेका छन् कि साहुबाट पन्छिन राजमहलभित्र मुसोको चालमा हिँड्छन् । अनि, शंखेकिराले खबटाभित्र शरीर लुकाएझैँ त्यही महलभित्र आफूलाई लुकाइरहन्छन् । यही दरिद्रताबीच एक दिन सहरको धनाढ्य व्यवसायीले परिवारसहित भूपतिको घर आउने खबर पठाउँछन् । परेन फसाद ? 

अब देखावटी नै सही, शाही ठाँट देखाउनै परो ! शाही स्वाद र सत्कार पस्कनै पर्‍यो । राजमहल किन्न आइपुग्ने व्यवसायीलाई भग्नावशेष देखाई भगाउनु पनि त भएन ! अनि सुरु हुन्छ शाही अहम् र देखावटी जीवनबीचको रस्साकस्सी !

कलाकार सरस्वती चौधरीको निर्देशनमा मण्डला थिएटरमा मञ्चनरत नाटक 'बहादुरपुरको दन्त्यकथा' राजाको यही दुविधाबाट सुरु हुन्छ । के, महल बेचेर काठमाडौंमा क्लिनिक खोल्ने भूपतिको सपना पूरा होला ? महल धाइरहने साहुहरूको ऋण चुक्ता गरिदिन भूपतिले के कस्ता कदम चाल्छन् त ? शाही शान देखाउन भूपतिले कुन हदसम्म अभिनय गर्लान् त ? ४ सय वर्षको इतिहास बोकेको भवनले व्यवसायीलाई आकर्षित गर्ला ? नाटकमा यी सब प्रश्नको उत्तर भेटिन्छ । डार्क कमेडी विधाको यो नाटक निकै रोचक छ । थुप्रै पात्रलाई कथाको केन्द्रमा जोड्ने प्रयास गर्दा नाटक अलि लम्बिएको छ । तर, कलाकारको अभिनय, हाँसोरस र विचित्रको घटनाहरुले दर्शक नाटकमा बाँधिरहन्छन् । दर्शक हँसाउँदै नाटकले वर्तमान नेपाली समाज र पाखण्डी नेतृत्वमाथि व्यंग्य गरेको छ ।

भारतीय नाटककार बादल सरकारले लेखेको बंगाली भाषाको नाटक 'बल्लभपुरेर रुपकोथा'को भावानुवाद गरिएको यो नाटकको सबैभन्दा बलियो पक्ष नै यसले देखाउने पाखण्डी समाज हो । पाहुना आउँदा खुवाउने शाही परिकार महलमा छैन, मागेरै काम चलाउँछन् भूपति । भत्किइएको, बिग्रिएको सोफा र कुर्सी छोप्न पनि मागेरै कपडा ल्याइन्छ  । त्यति मात्रै होइन, महलमा भारदार तैनाथ देखाउन त्यही तीन साहु प्रयोगमा आउँछन् । उनीहरू पनि राजाबाट पाउनुपर्ने लाखौं ऋण फिर्ता पाउने आसमा भारदार बन्ने अभिनयका लागि तयार हुन्छन् । अब जो, जे होइन त्यही बन्न खोजे कस्तो देखिएला ? जस्तै रासन पसलका साहु ढोके बनेर ढोकामा उभिए कस्तो देखिएला ? तन्ना पसलका साहुले हातमा बन्दुक बोकेर 'लेफ्ट राइट' गर्दै हिँड्नु परे कस्तो देखिएला ? यी कलाकारले नाटकभित्र 'नाटक' गरेको अभिनय रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । कलाकार आदित्य मिश्रको चरित्र ठाडै भुइँमा लडेको दृश्य त गजब्बकै छ ।

नाटकमा मनोरञ्जनका तत्त्व मात्रै भेटिन्न । भूतको कहर, प्रेतको डर भेटिन्छ । नाट्यकार सरकारले जसरी यथार्थवादलाई अति यथार्थवादमा घोल्दै कथा भनेका छन्, त्यसलाई भावानुवादमा विजय विस्फोटले दुरुस्तै उतारेका छन् । त्यसैले यो नाटकमा प्रस्तुत विचित्रको संसारले नेपाली समाजको कुरूप अनुहार, प्रवृत्तिलाई देखाइदिन्छ । अरूको देखासिखी गर्ने स्वभाव सँगसँगै अहंकारी, स्वार्थी अनि सत्ता मोहले लिप्त नेतृत्वलाई यो व्यंग्य गर्छ । त्यस अर्थमा यो नाटक समय सापेक्ष छ ।

शक्तिको सर्वोच्च शिखर चढ्न स्वार्थी कदम चाल्न तँछाडमछाड गर्ने नेतृत्वको प्रतिबिम्ब हुन् भूपति । देशको अर्थतन्त्र, अहंकारी नेतृत्वलाई उनको चरित्रमार्फत व्यंग्य गरिएको छ । देश ऋणमा डुबेको डुब्यै छ, तर भूपतिहरू बाहिरबाट त्यही भत्किएको देशमा समृद्धिको रंग पोतेको अभिनय गर्छन् । रंग पोत्न साथ दिने साहुहरूमार्फत आगामी निर्वाचनमा भोट दिन तयार मतदातालाई पनि नाटकले प्रश्न गरिरहेझैँ लाग्छ  - के देशलाई संकटको भड्खालोमा पुर्‍याउने पाखण्डी नेतृत्वलाई फेरि पनि विश्वास गरिरहने ?

यस्तो सशक्त विचारसहितको नाटकलाई मञ्चमा उतार्नु, निर्देशनमा सरस्वतीको गजब्बको कमब्याक नै हो । त्यसमाथि नाटकमा उभ्याएका कलाकारको समूहले पनि 'बहादुरपुरको दन्त्यकथा'लाई वजनदार बनाइदिएको छ । भूपति बनेका प्रवीण खतिवडा होउन् या व्यवसायी बनेका कमलमणि नेपाल, पत्नी बनेकी सरिता गिरी, छोरी बनेकी सरस्वती, उनीहरूले उक्त चरित्रलाई मञ्चमा अभिनयमार्फत सजिव बनाइदिएका छन् । घनश्याम जोशी, रामभजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य, नाटकको कथा झैँ चरित्रमा बलियो देखिन्छन् ।

तर, सबै चरित्रलाई उतिकै स्थान दिन खोज्दा नाटक लम्बेतान बनेको छ । निर्देशक चौधरीले मुख्य कथाका लागि अति आवश्यकबाहेकका दृश्य, पात्र र घट्नालाई छिमलिदिएको भए नाटकले दिने अनुभव सुरुदेखि अन्तिमसम्म बेजोड बन्ने थियो । नाटकमा प्रयोग प्रकाश, संगीत, सेट अनि प्रप्सले केही क्षण यो समस्यालाई गौण बनाइदिए पनि नाटकको सन्देश प्रवाहमा लम्बेतान कथाले अवरोध सिर्जना गरेको छ । 

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully