सलमानले ६०औं जन्मदिन फार्महाउसमा मनाए

सलमान खानले पनवेलस्थित फार्महाउसमा कडा सुरक्षा व्यवस्थाबीच पापाराजी, फ्यान र परिवारसँग केक काट्दै आफ्नो जन्मदिन मनाए।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Salman celebrates 60th birthday at farmhouse

काठमाडौँ — बलिउड अभिनेता सलमान खानले शनिबार ६०औं जन्मदिन मनाएका छन् । उनले नजिकका आफन्त तथा साथीहरूसँग जन्मदिन मनाएका हुन् । 

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा सलमानले पनवेलस्थित आफ्नो फार्महाउस बाहिर मध्यरातमा पापाराजीसँग केक काट्दै गरेको देखिन्छ ।

उनले पापाराजीसँग तस्बिर पनि खिचाए । सलमानको जन्मदिनका अवसरमा कडा सुरक्षा व्यवस्था थियो । सलमानले आफ्ना प्रशंसकहरूले ल्याएको केकसमेत काटेका थिए ।

सेलिब्रेशनमा फिल्म उद्योगका थुप्रै चर्चित व्यक्तित्वहरूको सहभागिता देखियो । गायक मीका सिंह सलमानको फार्महाउसमा स्कुटी चढेर पुगेका थिए ।

उत्सवमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी परिवारसहित सहभागी थिए । अभिनेता सञ्जय दत्त पनि फार्महाउस पुगे । सलमानकी नजिककी साथी युलिया वन्तूर पनि विभिन्न भिडियोमा देखिइन् ।

अभिनेत्री संगीता बिजलानी पनि कार्यक्रममा उपस्थित भइन् । उनी ग्ल्यामरस लुकमा देखिएकी थिइन् । अभिनेत्री जेनेलिया डिसुजा आफ्ना छोराछोरीसहित देखिइन् ।

परिवारतर्फबाट सलमानका बा सलीम खान, भतिजा अरहान र निर्वाण सँगै पुगेका थिए । अरबाज खान र सोहेल खान पनि जन्मदिन उत्सवमा सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully